१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास

‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्शा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। धनुषा जिल्लाको सबैला नगरपालिकामा जन्मेका झा निम्नवर्गीय परिवारका हुन्। सुरुदेखि नै सरकारी स्कुलमा पढ्दै आएका उनले विज्ञान विषय लिएर कक्षा ११ र १२ काठमाडौंको त्रिपुरेश्वस्थित विश्वनिकेतन माविमा अध्ययन गरे।  

दुई सय पूर्णांकको एमबिबिएस प्रवेश परीक्षामा झाले एक सय ८६ अंक प्राप्त गरेका छन्। यसबाट सरकारी विद्यालयका विद्यार्थी पनि कमजोर नभएको प्रमाण मिलेको उनका दाजु अम्वेशले बताए।  विश्वनिकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रबार आशिकलाई अबिर र खादा ओढाएर सम्मान गरे। सम्मान कार्यक्रममा सहभागी अम्वेशले आशिक सानैदेखि विलक्षण प्रतिभाको रहेको बताए। ‘भाइ सानैदेखि कोर्सका भन्दा विज्ञानका किताब बढी पढ्थ्यो,’ अम्बेशले नागरिकसँग भने, ‘आशिक सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेझैं थियो।’ सम्मानपछि आशिकले दृढ विश्वास र संकल्प लिएकै कारण लक्ष्यमा सफलता हासिल गरेको बताए ।

‘हामी निम्नवर्गीय भए पनि घरमा बुवा, आमा र दाइले पढाइको वातावरण बनाइदिनुभएको थियो,’ आशिकले भने, ‘मलाई आफ्नो क्षमतामाथि दृढ विश्वास थियो । आफूमा दृढ विश्वास छ भने संसार जित्न सकिन्छ । मैले मेहनत गरेर लक्ष्यमा केन्द्रित भएर अध्ययन गरें। विश्वनिकेतनका शिक्षकहरूको साथ र सहयोगले मलाई एमबिबिएसमा नाम निकाल्न सहयोग गयो।’ आफू डाक्टर बनेपछि स्वास्थ्य सेवातर्फ थप अनुसन्धान गरी नयाँ आयाम ल्याउने काम गर्ने लक्ष्य रहेको उनले सुनाए। ‘विश्वले स्वास्थ्य सेवातर्फ ठूलो फड्को मारिसकेको छ,’ उनले योजना सुनाए, ‘मैले पनि आफ्नो देशका लागि नयाँ अन्वेषण गरी फरक तर स्वास्थ्य सेवा सबैको पहुँचमा सहज रुपले पुर्‍याउनेतर्फ काम गर्ने लक्ष्य लिएको छु।’  

आशिकले सरकारी छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा एमबिबिएस पढ्ने भएका छन्। ‘मैले कहिल्यै पनि रटेर पढिनँ,’ आशिकले अनुभव सुनाए, ‘स्कुलदेखि नै कुनै पनि विषय बुझेर अनि बुझेको कुरा लेखेर अध्ययन गर्ने बानीले मलाई सफल हुन सहयोग गर्‍यो । कक्षा नियमित जान्थें। शिक्षकले पढाएको विषयलाई फेरि आफैंले बुझेर पढ्थें । पढाइलाई सहयोग गर्ने विज्ञानका किताब बढी पढ्ने मेरो बानीले धेरै सहयोग गर्‍यो।’ उनी थप्छन्, ‘सरकारी स्कुल भए पनि विद्यार्थीले आफूमाथि विश्वास गरेर बुझेर अध्ययन गर्नुपर्छ। अतिरिक्त कृयाकलापमा रुचि हुनुपर्छ। लक्ष्यमा सफल हुनबाट कसैले रोक्दैन।’

सरकारी स्कुलले पनि आफ्ना विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आएकोमा प्रधानाध्यापक कँडेल खुसी व्यक्त गर्छन्। ‘सरकारी स्कुलको विद्यार्थीले देशभरिबाट हजारौं विद्यार्थीसँग प्रतिस्पर्धा गरेर सर्वोत्कृष्ट स्थानमा नाम निकाल्नेमा आशिक सम्भवतः पहिलो हुन्’, कँडेलले नागरिकसँग भने, ‘मेडिकलमा नाम निकाल्ने सबै विद्यार्थीको इच्छा हुन्छ। कतिले धेरैपटक प्रयास गर्छन्। तर आशिकले पहिलो पटकमै सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा हामी गर्व महसुस गरिरहेका छौं।’

यसपटक मेडिकल शिक्षाको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगले सञ्चालन तथा व्यवस्थापन गरेको हो। साउन ९ देखि १३ गतेसम्म सञ्चालन भएको एकीकृत प्रवेश परीक्षामा एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएएसएलएफ, बिएएमएस, बिएनएस, बिएससी एमएलटी, बिएससी एमआइटी, बि फार्म, अपटोमेट्री, बिपिटी, बिपिएचलगायत कुल १३ विषयका लागि ३२ हजार ८ सय ६६ जनाले परीक्षा दिएका थिए। ‘सबैभन्दा बढी एमबिबिएसमा ११ हजार २ सय ९९ जनाले परीक्षा दिएको आयोगका प्रवक्ता दिल्ली लुइँटेलले बताए। तीमध्ये चार हजार ३ सय ९१ पास भएका छन्।

प्रकाशित: २३ श्रावण २०७८ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App