१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसइई नतिजा नआउँदै कक्षा ११ को पढाइ

उपत्यकाका केही सरकारी विद्यालयले कक्षा १० को परीक्षा (एसइई) दिएका विद्यार्थी बटुलेर एसइईको नतिजा आउनुअगावै कक्षा ११ को पठनपाठन सुरु गरेका छन्। उपत्यकाका राम्रा भनिएका विद्यालयहरूले राम्रो नतिजा ल्याउन सक्ने विद्यार्थी पहिचान गरी प्राविधिकतर्फ इन्जिनियरिङ र साधारणतर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन समूहका विद्यार्थीलाई कसैले ट्रायल कक्षा, कसैले कक्षा ११ को तयारी त कसैले विद्यार्थीको फुर्सदको समय सदुपयोग गरेको भन्दै पढाइरहेका छन्।

काठमाडौं महानगर शिक्षा विभागले भने एसइईको नतिजाअगावै कक्षा ११ को कुनै शैक्षिक गतिविधि अगाडि नबढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ। तर पनि धेरै निजी र सरकारी विद्यालयहरूले विद्यार्थीको भर्ना सिट निश्चित गर्दै पठनपाठन अनलाइनबाट सुरु गरेका छन्। विद्यालय र विद्यार्थी तथा अभिभावकहरू भने विद्यालयले कक्षा ११ सञ्चालन गरी आफ्ना छोराछोरीलाई शिक्षण सिकाइसँग जोड्ने क्रम जारी गरेको भन्दै खुसी पनि भएका छन्।

काठमाडौंको बाफलस्थित ज्ञानोदय स्कुलका प्रिन्सिपल नातिकाजी महर्जनले विद्यार्थी र अभिभावककै आग्रहमा स्कुलले अनलाइन कक्षा सञ्चालन गरिरहेको दाबी गरे। ‘हामी पनि सरकारको नियम पालना गरेर चुप लागेर बसेकै थियौं। तर अभिभावकहरू स्कुलमै आएर आग्रह गरेपछि बाध्य भएर कक्षा सुरु गरेका हौं।’ ज्ञानोदयबाट यसपटक ३ सय १९ जनाले एसइई परीक्षा दिएका छन्। 

स्कुलहरूले आफैँले परीक्षा लिएकाले विद्यार्थीको क्षमता थाहा हुने त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। उनको स्कुलबाट यसपटक २ सय ६२ ले एसइई दिएका छन्। यो स्कुलले नतिजाअगावै कक्षा ११ को नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिए पनि कक्षा सुरु नगरेको बताएको छ।

यसैगरी रामशाहपथमा रहेका पद्यमोदय माविले पनि ट्रायल कक्षा भनी एसइईको नतिजाअगावै कक्षा ११ को पठनपाठन सुरु गरेको छ। स्कुलको शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीको खाली समय सदुपयोग गर्न अनलाइनबाट सय विद्यार्थी जोडिएको स्कुलका प्रिन्सिल नारायण गौतमले जनाए।

प्रकाशित: २२ श्रावण २०७८ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App