२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ। विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको छ।

मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले आज सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ। परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समयतालिका सार्वजनिक गरेको थियो।

विश्वविद्यालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत विद्यार्थी सङ्गठनबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

केन्द्रीय क्याम्पसमा विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै तालाबन्दी गरेका छन्। अनलाइन माध्यमबाट पढाइ भएपछि परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने विद्यार्थीको मुख्य माग छ। विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेपछि विद्यार्थीले असहमति जनाएका हुन्। विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंह निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए।

त्यस्तै, प्राध्यापकहरूले इञ्जिनीयरिङ क्याम्पस र एल स्कूलका उपप्राध्यापक बर्खास्त ऐन–नियम विपरीत भएको भन्दै उक्त निर्णय सच्याउनुपर्नेलगायत माग राखेका छन्। विश्वविद्यालयले परीक्षा समयअगावै विद्यार्थीलाई प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा कानून सङ्कायका उपप्राध्यापक सुजन पन्त र आफूखुशी नम्बर दिएको भन्दै इञ्जिनीयरिङ सङ्कायका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको थियो।

प्रकाशित: १९ श्रावण २०७८ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App