२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

गाउँका विद्यार्थीलाई ‘स्याटेलाइट’ कक्षा

विद्यार्थी टेबलको वरिपरि झुम्मिएर बसेका देखिन्छन्। कोही धातु पगालेर तार जोड्न तल्लिन देखिन्छन्। कोही विद्यार्थी प्रशिक्षकले ल्यापटपमा देखाएका ‘सस्तोक्यूव’ (स्याटेलाइटको सानो रुप)सम्बन्धी जानकारीलाई ध्यानपूर्वक अध्ययन गरिरहेका छन्। यो दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनको हलमा ‘स्याटेलाइट’ सम्बन्धी आयोजना गरिएको तालिमको हो। वालबालिकालाई स्याटेलाइटका बारेमा सिकाउनका लागि शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा स्थानीय जनजागृति माविले सो तालिमको आयोजना गरेको हो।  

असार २१ गतेदेखि सुरु गरिएको सस्तोक्यूव फिल्ड टेष्ट एण्ड वेसिक इलेक्ट्रोनिक्स सम्बन्धी ६ दिने तालिममा जनजागृति आधारभुत विद्यालय सहित हिमालय मावि, सरस्वती मावि र पञ्च माबिका ५० विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीलाई स्पेस (अन्तरिक्ष) बारे जानकारी दिँदै समस्या समाधानका लागि धर्तीमा मात्र सिमित नभएर धर्ती बाहिर (अन्तरिक्षमा) समेत चासो राख्ने उत्प्रेरणा जगाउनका लागि तालिमको आयोजना गरिएको हो। तलिमका क्रममा तापक्रम मापन गर्ने, उचाई मापन गर्ने यन्त्रदेखि स्याटेलाइट निर्माण सम्वन्धी सीप सिकेको सहभागी छात्र अनिश प्रधानले बताए। राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोगमा अन्तरिक्ष प्रतिष्ठान नेपाल र आविष्कार केन्द्रबाट ९ जनाको टोली ‘स्याटेलाइट’ सम्बन्धी प्रशिक्षणका लागि खोटाङ आइपुगेका छन्।  

तालिममा सहभागी विद्यार्थीलाई स्याटेलाइट निर्माणदेखि यसले गर्ने कामका बारेमा सिकाइएको अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रशासन अधिकृत पवन वमले बताए। ‘स्याटेलाइट के–हो? यसका पार्टस्हरु के–के हुन्? यो कसरी बन्छ? यसले कसरी काम गर्छ, के–के काम गर्छ भन्ने बारेमा विद्यार्थीलाई सिकाउनका लागि प्रशिक्षणको आयोजना गरिएको हो,’ वमले भने, ‘हामीले स्याटेलाइटको सानो रुप बनाएका छौँ जसलाई सस्तोक्यूव नाम दिएका छौँ। सस्तोक्यूव भन्नु र स्याटेलाइट भन्नु एउटै हो। हामीले विद्यार्थीलाई यो सस्तोक्यूवको पार्टस् जडान गर्नेदेखि पार्टस्ले गर्ने काम बारेमा जानकारी दिएका छौँ।’  

अन्तरिक्ष प्रतिष्ठान नेपालले तयार पारेको सस्तोक्यूव पहिलोपल्ट यही तालिममार्फत विद्यार्थीमाझ परिक्षणमा ल्याइएको हो। उपत्यका बाहिरका विद्यार्थीमाझ गरिएको परिक्षणका क्रममा सस्तोक्यूवको सुधार गर्नुपर्ने पक्ष पत्ता लगाएर थप परिस्कृत गर्दै लगिने अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ। नेपाल नेशनल कमिसन फर यूनेस्कोको सहयोगमा सस्तोक्यूवको फिल्ड टेष्टको व्यवस्था मिलाइएको हो। सस्तोक्यूवका माध्यमबाट विद्यार्थीलाई अन्तरिक्षको बारेमा अध्ययन र अनुसन्धान गर्न प्रेरित गर्ने लक्ष्य राखिएको अन्तरिक्ष प्रतिष्ठान नेपालमा आवद्ध सागर कोइरालाले बताए।  

अन्तरिक्ष प्रतिष्ठानका जनार्दन सिलवाल, देवराज पन्त, विकल्प ढुंगाना र सागर कोईरालाको टिमले करिब ६ महिना लगाएर स्याटेलाइटको सानो रुप सस्तोक्यूव तयार पारेका हुन्। अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभाष मास्केले केही समयअघि सिन्धुपाल्चोकको दुर्गम ठाउँमा पुगेकाबेला विद्यार्थीलाई ‘भविष्यमा के बन्ने?’ भनेर प्रश्न गरेका थिए। भर्खरै ट्रक गुड्न थालेको त्यो ठाउँका धेरैजसो विद्यार्थीले ट्रक चालक बन्ने जवाफ दिए। त्यो सम्वादले स–साना बालबच्चाले ‘जे देख्छ र जे नयाँ लाग्छ’ त्यसकै आधारमा भविष्यको लक्ष्य निर्धारण गर्ने संकेत गरेपछि डाक्टर मास्केले विद्यार्थीलाई ‘स्पेस’का बारेमा रुची जगाउन सस्तोक्यूव निर्माणको अवधारणा अघि सारेका थिए। स्याटेलाइटको अध्ययनका लागि बनाइएको बर्गाकारको सस्तोक्यूवको मूल्या प्रतिवटा ७५ हजार पर्ने वमले बताए। तालिमको अन्तिम दिन शनिबार क्यान स्याटबाट सस्तोक्यूवको डमी हावामा उडाइएको छ।  

घोक्ने शिक्षाको सट्टा प्राक्टिकल शिक्षाको अभ्यास गर्दै र गराउँदै आएको शुभद्रा मदन फाउण्डेसनले विद्यार्थीको अध्ययन गर्ने क्षेत्रलाई बृहत बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ स्याटेलाइट सम्बन्धी तालिकाको आयोजना गरेको हो। स्याटेलाइट सम्बन्धी कक्षामा विद्यार्थीले रुचीकासाथ सहभागीता जनाएको शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए। 

प्रकाशित: २६ असार २०७८ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App