८ वैशाख २०८१ शनिबार
शिक्षा

नगरपालिकामा 'एक शिक्षक : एक ल्यापटप' कार्यक्रम: शिक्षक भए खुसी!

काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकाले 'एक शिक्षक : एक ल्यापटप' व्यवस्था गर्ने भएको छ। काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा रहेको सो नगरपालिकाको पाचौं नगर सभाले ‘एक शिक्षक, एक ल्यापटप’ व्यवस्था गर्ने कार्यक्रम पारित गरेको हो।

‘भर्खरै नयाँ शैक्षिक सत्र सुरु भएको र कोभिड महामारीले गर्दा सम्पूर्ण शिक्षण सिकाइ बैकल्पिक विधिबाट सुरु गर्नुपर्ने भएको हुँदा ल्यापटप वितरण कार्यक्रम बढी फलदायी हुने देखिन्छ,’ नगरपालिकाको वडा नं. १६ मा रहेको आदर्श माविका शिक्षक डम्बरुप्रसाद पोखरेलले भने। उनले सो नीति तत्काल कार्यान्वयन भए वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन सहज हुने समेत बताए।  

नगरपालिकाको पाँचौं नगर सभाले सो नीति ल्याएको बताउँदै नगरप्रमुख कृष्णहरि थापाले अहिलेको आवश्यकता नै सूचना प्रविधिको भएकाले शिक्षकहरुलाई प्रोत्साहनका लागि सो नीति ल्याएको जानकारी दिए।

‘अहिले भौतिक उपस्थितिमा पठनपाठन गराउन सकिने अवस्था छैन, त्यस कुरालाई मध्यनजर गरी हामीले तत्कालै लागू हुने गरी यो नीति ल्याएका छौं, यसले शिक्षाको ग्याप कम गर्न सजिलो हुन्छ,’ नगरप्रमुख थापाले भने।

नगरपालिकाको शिक्षा शाखा प्रमुख बिमलकुमार निरौलाले 'एक शिक्षक : एक ल्यापटप' कार्यक्रम कार्यान्वयनमा आइसकेको बताए। उनले भौतिक रुपमा उपस्थित हुन असम्भव भएको अहिलेको अवस्थामा शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन र विद्यार्थीसँगको सम्पर्क कायम गराउन सजिलो बनाउन सो कार्यक्रम ल्याइएको बताए।

उनले नगरपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई ल्यापटप दिइने बताए। ‘शिक्षकहरुको लागत सहभागितामा हामी यो कार्यक्रम लागू गर्दैछौं,’ उनले भने।

उनले प्रतिशिक्षकलाई ४० हजार रुपैयाँ नगरपालिकाले दिने र नपुग स्वयम् शिक्षकको लागत सहभागिता गराउने गरी कार्यक्रम कार्यान्वयन गरिने बताए।  

‘नगरपालिकाले केही रकम शिक्षकलाई दिन्छ, त्यसमा नपुग रकम शिक्षक आफैंले लगानी गर्छ र नगरपालिकाले निर्धारण गरेको मापदण्डको ल्यापटप किन्छ, त्यसलाई शिक्षकले व्यक्तिगत रुपमा पनि प्रयोग गर्न सक्छन्,’ शिक्षा शाखा प्रमुख निरौलाले भने।

एनका अनुसार नगरपालिकामा ३ सय३ जना दरबन्दीका शिक्षक छन्। ती मध्ये माध्यमिक तहमा ३९, निम्न माध्यमिक तहमा ५८ र प्राथमिक तहमा १२८ शिक्षक रहेका छन्। यसैगरी साविकको उच्च मावि तहका १०, प्राविधिक विद्यालयमा ३० र इसिडी तहमा २३ जना सहयोगी रहेका छन्।  

विद्यालयमा रहेका कूल शिक्षकहरुमध्ये मावि तहका ८० प्रतिशत, निमावि तहका ७० प्रतिशत र प्रावि  तहका ४८ प्रतिशत शिक्षक ल्यापटप चलाउन सक्ने सीपका रहेको उनको भनाइ छ।  

यो कार्यक्रमले सरकारी विद्यालयका शिक्षकलाई बैकल्पिक शिक्षण सिकाइ गर्न दबाब सिर्जना हुने र यसले शिक्षकलाई प्रविधिमैत्री समेत बनाउने उनको भनाइ छ।

प्रकाशित: ११ असार २०७८ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App