१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

नयाँ भर्नालाई छेकेन कोरोनाले

सरकारी विद्यालयहरुले जेठ महिनाबाटै नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरेका छन्। सरकारले असार एक गतेदेखि नयाँ शैक्षिक सत्रको लागि भर्ना लगायतका सम्पूर्ण कार्यक्रम सुरु गर्ने भनी निर्देशन जारी गरे पनि विद्यालयहरुले भने जेठको अन्तिम साताबाटै विद्यार्थी भर्ना सुरु गरेका हुन्।

कतिपय स्कुलहरुले अभिभावकलाई विद्यालयमै बोलाएर सामाजिक दूरी कायम गरी भर्ना फारम बाँड्ने तयारी गरेका छन् भने कतिपय स्कुलहरुले गुगल प्रश्नपत्र बनाएर जेठ २७ गतेदेखि नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिने तयारीमा जुटेको प्रधानाध्यापकहरुले बताएका छन्।  

बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले अनलाइनबाटै कक्षा १देखि ९ सम्मको विद्यार्थीको प्रवेश परीक्षा सम्पन्न गरिसकेको स्कुलका प्रअ नातिकाजी महर्जनले बताए। उनले विहान ६ बजेदेखि साँझ साढे चार बजेसम्म भर्नाको लागि समय तोकिएको जनाए। हाल विद्यार्थीहरु धमाधम भर्ना हुने काम भइरहेको समेत उनले जनाए।  

‘हामीले हाल कक्षा १देखि ९ सम्मका ४सय विद्यार्थी भर्ना लियौं,’ प्रअ महर्जनले नागरिकसँग भने ‘प्रवेश परीक्षा स्कुलले अनलाइन लियो।’ उनले अनलाइनबाटै यसपटक शिक्षकहरुले विद्यार्थीलाई अब्जेक्टिभ प्रश्न, अन्तरवार्ता र भर्चुअल विषयगत कुराकानी गरेर मूल्याँकन गरेको बताए। उनले त्यही आधारमा नयाँ भर्नाको लागि विद्यार्थी छनौट भएको पनि बताए।

यसैगरी कपनस्थित बालउद्दार माविले पनि विद्यार्थी भर्ना लिने काम सम्पन्न गरिसकेको छ। काठमाडौंकै कालिमाटीमा रहेको जनप्रभात मावि र निलबाराही माविले पनि जेठको २७ गतेदेखि नयाँ विद्यार्थी भर्नाको लागि तयारी गरेको छ।निलबाराहीका प्रअ जानुका नेपालले जेठ २६ गते अन्तिम परीक्षाका सबै कक्षाको नतिजा प्रकाशनको गर्ने र २७ गतेदेखि नै नयाँ भर्नाको लागि प्रवेश परीक्षाहरु लिने जनाइन्।  

‘कोरोना कहरबीच हामीले विद्यार्थी भर्ना लिनुपर्ने चुनौति थपिएको छ,’ प्रअ नेपालले नागरिकसँग भनिन्, ‘सरकारले यसपटक असार एक गतेदेखि नयाँ कक्षा सुरु गर्ने निर्देशन दिएअनुसार हामी तयारीको लागि अघि बढेका हौं।’  उनले त्यसका लागि शिक्षकहरुले गुगल प्रश्नपत्र बनाउँदै गरेको जानकारी दिइन्। ‘अनलाइन पहुँच नभएकाहरुलाई विद्यालयमै सामाजिक दूरी कायम गरी भर्ना लिने तय गरेका छौं।’ उनले भनिन्।

उनका  अनुसार हाल विद्यालयमा कक्षाकोठाको कमी र विद्यार्थी संख्या धेरै भएकोले योपटक ५ सय विद्यार्थीमात्र नयाँ भर्ना लिने लक्ष्य रहेको छ। ‘हामीले कक्षा १–३ सम्मका विद्यार्थीलाई अनलाइनबाटै साधारण नाम, बुवाआमाको नाम लेख्न लगाएर भर्ना लिन्छौं,’ प्रअ नेपालले भनिन् ‘त्यसभन्दा माथिलो तहका विद्यार्थीको हकमा अनलाइन प्रवेश परीक्षा नै संचालन हुन्छ।’ उनले भनिन्। हाल सो विद्यालयम कक्षा १२ सम्म १२ सय विद्यार्थी अध्ययनरत छन्।

जनप्रभात माविका प्रअ सत्येन्द्रलाल कर्णले पनि जेठ २७ गतेदेखि नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिने सबै तयारी गरेको बताए। उनले सरकारी विद्यालयहरुको पर्याप्त भौतिक पूर्वाधार, तालिम प्राप्त दक्ष शिक्षक, कोरोनाबाट बच्ने भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको कारण कोरोना यता विद्यार्थीको आर्कषण नै सरकारी विद्यालय बन्दै गएको दाबी गरे।

‘सुरक्षित वातावरण र गुणस्तरीय शिक्षा नै हाम्रोमा आकर्षणको कारणहो,’ प्रअ कर्णले भने ‘आफ्नै पर्याप्त भौतिक पुर्वाधार छ। विद्यार्थी कोरोनाबाट सुरक्षित रही अध्ययन गर्न सक्ने वातावरण स्कुलमा छ।’ उनले भने। उनले सफ्ट वेयर बनाएर गुगल प्रश्नबाटै प्रवेश परीक्षा लिने बताउँदै ती प्रश्नहरु विद्यालयको वेवसाइटमा राखिने बताए। यस पटक यो विद्यालयले एक हजार विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ। कक्षा १२ सम्म पढाइ हुने सो स्कुलमा हाल ६ सय १८ विद्यार्थीहरु छन्।

प्रकाशित: २५ जेष्ठ २०७८ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App