२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

संस्थागत विद्यालयलाई नगरपालिकाको नगद सहयोग

भेरीगंगा नगरपालिकाले कोरोनाका कारण संकटमा परेका संस्थागत विद्यालयहरुलाई नगद अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका १५ वटा संस्थागत विद्यालयलाई छ लाख २५ हजार नगद अनुदान दिएको हो।  

नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले कोरोनाका बेला संस्थागत विद्यालयहरुले गरेको सहयोगको कदर गर्दै नगद अनुदान दिइएको बताए। उनले लामो समय विद्यालय बन्द हुँदा घर भाडा तिर्नसमेत समस्यामा परिरहेका संस्थागत विद्यालयका सञ्चालकहरुलाई थोरै भएपनि राहत मिल्ने बताए।

‘कोरोना संक्रमणका बेला जिल्ला बाहिरबाट आउने नागरिकहरुलाई राख्नका लागि तपाईंहरुले निःशुल्क भवन उपलब्ध गराउनु भयो, एक सूचनाका आधारमा विद्यालयहरु बन्द गर्नुभयो’ नगर प्रमुख चन्दले भने, ‘फेरि पनि कोरोना संक्रमण बढ्न थालेको छ, संकटको बेला साथ दिनु भएकाले नगरपालिकाले पनि तपाईंहरुलाई सहयोग गरेको हो।’  

नगरपालिकाले माविलाई ७५ हजार, आधारभूत विद्यालयलाई ५० हजार, पूर्व प्राथमिकलाई ३० हजार र मोन्टेश्वरीलाई २० हजार नगद दिएको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माका अनुसार देउती विद्या मन्दिर, छिन्चु इङ्लिस मिडियम स्कुल र सुर्खेत लिटिल फ्लावर माविलाई ७५ हजारका दरले, रामजानकी ब्राइट नेचर एकेडेमी र सिम्रिक ज्ञानकुन्जलाई ५० हजारका दरले, भिलेज टाउन स्कुल, जनज्योति एकेडेमी, मोर्डन एकेडेमी, गोल्डेन चान्स स्कुल, विद्यासागर एकेडेमी, मानपुस्तका स्कुल र होप एकेडेमीलाई ३० हजारका दरले र छिन्चु प्याराडाइज मोन्टेश्वरी र स्वस्तिक मोन्टेश्वरीलाई २०–२० हजारका दरले नगद अनुदान दिइएको हो।  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भेरीगंगाका अध्यक्ष नरेश शाहीले संकटको समयमा स्थानीय सरकारबाट ठूलो सहयोग प्राप्त भएको बताए। ‘लकडाउनका कारण विद्यालय बन्द हुँदा हामीलाई स्कुलको भाडा तिर्न, गाडीको किस्ता तिर्न समस्या भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा नगरपालिकाले गरेको सहयोग धेरै महत्वपूर्ण छ।’  

प्याब्सन सर्खेतका अध्यक्ष बेद ढकालले कोरोनाका कारण संस्थागत विद्यालयहरु संकटमा परेको बताउँदै तीनै तहको सहयोग आवश्यक रहेको बताए। ‘भेरीगंगा नगरपालिकाले संस्थागत विद्यालयलाई गरेको सहयोग धेरै महत्वपूर्ण छ,’ उनले भने, ‘राम्रो कामको सिको स्थानीय, प्रदेश र संघीय सरकारले गर्नु आवश्यक छ।’

प्रकाशित: १२ वैशाख २०७८ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App