काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रम येँ देय् म्हसीके (काठमाडौं चिनौं) अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायक (स्यनामि) हरूको तालिम सम्पन्न भएको छ। चैत ३० गतेबाट सुरु भएको सो तालिम सोमबार सम्पन्न भएको हो। छनोटमा परेका १ सय ८० प्रशिक्षण सहायकले महानगरभित्रका ६ वटा विद्यालयमा नेपालभाषाको तालिम लिएका थिए। उनीहरूलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तक प्रयोगात्मक ढंगले अध्यापन गराउनेबारे तालिम दिइएको थियो।
स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य वरुण वैद्यले शिक्षकहरूले विद्यालय जानेबित्तिकै नेपालभाषामा पढाउन सम्भव नहुने भएकाले नेपाली भाषामै सहजीकरण गरिने बताए। ‘नेपालभाषा सहज हुँदै गएपछि त्यही अनुसार कक्षा सञ्चालन हुन्छ,’ उनले भने, ‘अहिले विद्यार्थीलाई भाषा, लिपिभन्दा पनि नेवाः संस्कृति तथा सभ्यता बुझाउने प्रयासमा छौं।’ हाल तालिममा सहभागी प्रशिक्षण सहायकमध्ये केही गैरनेवारसमेत छन्।
नेपालभाषामा पोख्त उनीहरू यो पाठ्यक्रम कार्यान्वयनमा आएपछि आगामी दिनमा भाषाको मात्र नभई काठमाडौंको सभ्यताकै संरक्षण हुने बताउँछन्। ‘यो एक समुदायको मात्र भाषा होइन, काठमाडौंकै भाषा हो। यो बुझेर केही बिग्रिँदैन। अब यो भाषाको जगेर्नामा बल पुग्नेछ,’ तालिममा सहभागी अदर्शा चौधरीले भनिन्। तालिममा सहभागी भइरहेका प्रशिक्षण सहायकहरूले तालिमबाट आफ्नो मनोबल बढेको बताएका छन्। गैरनेवार विद्यार्थीको बाहुल्य रहेका विद्यालयमा कसरी पढाउने भनी अन्योल रहेकोमा अब भने सरल ढंगले विषयलाई बुझाउन सकिने उनीहरू बताउँछन्।
सामुदायिक र संस्थागत विद्यालयमा यसै शैक्षिक सत्रदेखि यो पाठ्यक्रम लागू गर्ने भनिए पनि कोभिड संक्रमणका कारण केही असहजता उत्पन्न भएको महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताए। उनले अहिले केही समस्या देखिए पनि आउने शैक्षिक सत्रदेखि भने कुनै समस्या नहुने बताए। ‘तालिम सकिनेबित्तिकै प्रशिक्षण सहायकहरू विद्यालयमा पुग्नेछन्। अहिले जति पढाउन सकिन्छ त्यति पढाउने हो,’ उनले भने, ‘सबै विषयको अवस्था त्यस्तै छ। अर्को शैक्षिक सत्रदेखि सबै कुरा मिल्छ।’ तालिम लिइसकेका प्रशिक्षण सहायकलाई पायक पर्ने विद्यालयमा करारमा पठाउने बताइएको छ। शिक्षा विभागका प्रमुख सुवेदीले पाठ्यक्रम महानगरभित्रका सबै विद्यालयमा पुगिसकेको जानकारी दिए।
काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा, लिपिजस्ता विषय यस पाठ्यक्रममा समेटिएका छन्। बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमै अभ्यासगत पठनपाठन हुन्छ भने कक्षा ४ र ५ मा ७५ अंकको अभ्यासगत र २५ अंकको सैद्धान्तिक ढंगले पठनपाठन गराइनेछ। कक्षा ६ देखि ८ सम्म भने ५०/५० अंकमा अभ्यासगत र सैद्धान्तिक पढाइ हुने व्यवस्था गरिएको छ।
प्रकाशित: ७ वैशाख २०७८ ०१:५३ मंगलबार