६ वैशाख २०८१ बिहीबार
शिक्षा

शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय : सरकारी शिक्षक खुसी, निजीका दुःखी

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारी निर्णयबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णय सही भएको बताउँदै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेस्थित कटुञ्जे आधारभूत विद्यालयका प्रधानाध्यापक यम. पी. भुषाल भन्छन्, ‘बालबालिकाहरुमा संक्रमणको जोखिम ज्यादा भएको स्वास्थ्य विज्ञहरुले बताइरहेको सन्दर्भमा ढिलो भएपनि सरकारको निर्णय सहि छ।

शिक्षक नेता समेत रहेका भुसालले विद्यालयको मानवीय स्वास्थ्य अवस्था र सुरक्षाबारे प्रधानाध्यापकहरु नै बढी जिम्मेवार रहनुपर्ने बताउँदै उनले सो निर्णयलाई स्थानीय तहले कार्यान्वयन गनुपर्ने समेत जनाए।

प्रअ भुसालले शैक्षिक सत्र लम्बाउने शिक्षा मन्त्रालयको अघिल्लो निर्णय असान्दर्भिक हुँदाको परिणाम विद्यार्थीले भोग्न परेको पनि बताए। उनले गत चैतमा लिइएको परीक्षालाई बार्षिक परीक्षाको रुपमा बिष्लेषण गरी कक्षा चढाउने र विद्यालय बन्द रहेको अवधीमा नयाँ शैक्षिक सत्र २०७८ को भर्ना तयारीमा काम गरिनुपर्ने समेत बताए।

नेशनल प्याब्सनका केन्द्रीय सदस्य डा. राजेन्द्र कोजुले विगतमा कोभिडको हवाला दिँदै विद्यालय बन्द गर्दा त्यसले शिक्षामा अपुरणीय क्षति पुगेको बताए। ‘९ महिना विद्यालय बन्द गर्दाको परिणाम ताजा नै छ। नेपालको शिक्षा क्षेत्र डामाडोल मात्र भएन कि ध्वस्त प्रायः भएको छ। बिदाको बेला बालबालिकाको संस्कार, व्यवहार, संस्कृति, सोचाइ र चिन्तन शैलीमा आएको परिवर्तन मिहिन ढंगले अध्ययन गर्ने हो भने यो डरलाग्दो छ।’  

नयाँ पुस्तालाई सुसंस्कृत बनाएर देशको कर्णधार तयार गर्ने मुख्य आधारको रुपमा रहेको विद्यालय बन्द गर्ने निर्णयमा भरोसायोग्य आधार नभएको उनको भनाइ छ। उनले सरकार कोरोना संक्रमणको अफवाहको सिकारमा परेर शिक्षा क्षेत्रलाई पनि सिकार गरेको आरोप लगाए। उनले भने, ‘हल्लैहल्लाको पछाडि लागेर निर्णय गरी अँध्यारो सुरुङमा लुकेर भ्रष्टाचारीलाई पश्रय दिने काम भयो, बन्दको विकल्प धेरै छन्, त्यतातिर सरकार प्रयत्नशील हुन जरुरी छ।’

उनले शिक्षालाई गुणस्तरीय बनाउने कामको अगुवाई गरिरहेको संस्थागत विद्यालयलाई नीतिगत रुपमा सिध्याउन नसकेपछि रोगको हल्ला फिँजाएर निजी स्कूल बन्द गराउने षड्यन्त्र भएको उल्लेख गर्दै शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय कालान्तरमा प्रत्युत्पादक सावित हुने जनाए।

त्यस्तै शिक्षक सहदेव साखकर्मीले राज्यको उपस्थिति नहुँदाको परिणामको भागिदार विद्यार्थी हुन बाध्य भएको बताए। उनले विद्यालय बन्द गर्नुको सट्टा विद्यालयलाई स्वास्थ्य मापदण्डका अत्यावश्यक स्रोतहरुले युक्त बनाउनुपर्नेमा त्यो काम गर्न राज्य चुकेको बताए।

त्यस्तै शिक्षक एवं भक्तपुरको राममन्दिरस्थित शान्ति निकेतन माविका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले विद्यालयलाईै नै ‘टार्गेट’ गर्नु शैक्षिक हिसाबले उपयुक्त नभएको बताए। उनले विद्यार्थीहरु घर, समुदायमाभन्दा विद्यालयमै सुरक्षित रहेको तथ्यलाई सरकारले नजरअन्दाज गरी उक्त निर्णय गरेको बताए। ‘विद्यालयमा भौतिक दूरी कायम गरी, स्वास्थ्य मापदण्ड पालना गरी कक्षा सञ्चालन हुने गरेको छ, यो कुरालाई सरकारले बढावा दिनुपर्नेमा त्यो नगर्नु राम्रो भएन।’ उनले भने।

उनले पनि विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयलाई प्राथमिकता दिनुपर्ने जनाए।

अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको महामारीको समयमा स्वास्थ्य विज्ञको कुरा मनन् गरी अघि बढ्नुको विकल्प नभएको बताए। उनले स्कुलले सरकार चलाउने नभई सरकारले स्कुल चलाउने भएकाले सोही अनुसार पालना गर्नु अहिलेको जरुरी रहेकोमा जोड दिए।

प्रकाशित: ६ वैशाख २०७८ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App