४ जेष्ठ २०७८ मंगलबार
शिक्षा

कोभिड देखिएका विद्यालय एकसाता बन्द गर्न निर्देशन

काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, शिक्षा विभागले शुक्रबार विद्यालय सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै महानगरभित्रका कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्देशन दिएको छ । साथै शिक्षा अधिकारी रामप्रसाद सुवेदीको हस्ताक्षरसहित जारी निर्देशनमा अन्य विद्यालयको हकमा पठनपाठन पूर्ववत् जारी रहने उल्लेख गरिएको छ ।  

‘बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन विभागको बिहीबार बसेको बैठकले निर्णय गरेको छ,’ अधिकारी सुवेदीले भने, ‘कोरोना संक्रमण नभएका विद्यालयमा भने सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्रोसँग हात धुने÷सेनिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने छ ।’ उनले थपे, ‘स्वास्थ्य मन्त्रालयले उच्च जोखिम जिल्लाको रूपमा काठमाडौंलाई राखेको छ । त्यही भएर विद्यालयले अभिभावकको सहमतिमा मात्र विद्यालय सञ्चालन गर्नुपर्ने विभागको निर्देशन छ ।’

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि बालबालिकाको स्वास्थ्य सुरक्षालाई पर्ने नकारात्मक असरप्रति चिन्ता र चासो व्यक्त गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषका विद्यालय स्थानीय तहको निर्णयअनुसार बन्द वा खोल्नुपर्ने निर्देशनसमेत दिएको छ ।  

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उच्च जोखिममा रहेका जिल्लाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयअनुसार त्यस्ता विद्यालय बन्द वा खोल्नुपर्ने उल्लेख छ ।  

‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएअनुसार सञ्चालन गर्न मन्त्रालयले अधिकार दिएको छ,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘बन्द गरिएका विद्यालय पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएका विधि तथा प्रक्रियाको पालना गनुपर्ने छ ।’ उनले थपे, ‘यसका साथै विद्यालय बन्द वा आंशिक रुपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाअनुसार सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्ने निर्देशन मन्त्रालयले शुक्रबार जारी गरेको छ ।’

‘शिक्षण संस्था सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवं संस्थाको मौजुदा पूर्वाधार तथा संस्थामा रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय तथा परामर्श गरी आलोपालो सिफ्ट वा अन्य विधि अपनाई विद्यालय सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सवजस्ता भीडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न/

नगराउन मन्त्रालयले कडा निर्देशन दिएको छ ।’

प्रकाशित: ४ वैशाख २०७८ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?