१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

१६० विद्यार्थी अट्ने हिमाली छात्रावास

आरुघाट गाउँपालिका–२ भावानी मावि मान्बुमा ५ करोड रूपैयाँ लगानीमा छात्रावास बनेको छ। पहिले रहेको छात्रावास भवन २०७२ सालको भूकम्पमा ध्वस्त भएपछि सम्भव नेपालले १ सय ६० जना विद्यार्थी अट्ने छात्रावास गरेको हो।

१६ कोठे छात्रावास भवनको शनिबार आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री र सम्भव नेपाल स्विजरल्यान्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रूपमा उद्घाटन गरेका छन्।साँघुरो गरी बस्दै आएका विद्यार्थी छात्रावास भवन नयाँ बनेसँगै खुसी भएका छन्।

‘हामी छात्रछात्राका लागि छुट्टाछुट्टै आवासगृह थिएन,’ विद्यार्थी देवकी खत्रीले भनिन्, ‘नयाँ भवन बनेपछि धेरै सजिलो भएको छ ।’ धादिङको गंगाजमुना गाउँपालिका घर भई अवासीय रूपमा भवानी माविमा पढ्दै आएका प्रदीप बानियाँले यसअघि बस्दै आएको छात्रावासभन्दा नयाँ बनेको भवन सुरक्षित रहेको भन्दै खुसी व्यक्ति गरे।

अहिले दुईवटा आवास भवन, आठवटा शौचालय, ६ वटा बाथरुम, किचन र डाइनिङका लागि छुट्टै व्यवस्था रहेको प्रधानाध्यापक काजिराम कार्कीले बताए। ‘विद्यार्थीलाई चाहिने बेड, सिरक, डसना, किचनका सबै सामग्री र कम्युटर ल्याब पनि सम्भव नेपालबाटै सहयोग पाएका छौं,’ उनले भने।भवन उद्घाटन गर्दै आरुघाट गाउँपालिका अध्यक्ष दाहालले आवासीय सुविधाले सिकाइ गुणस्तर बढाउन मद्दत पुगेको बताए।‘विद्यालय छाड्ने दर न्यूनीकरण गर्न पनि छात्रावासले मद्दत पुगेको छ,’ उनले भने।

अझै पनि दुर्गम भेगका विद्यार्थी कक्षा १० पछि विद्यालय छाड्ने, अविभवाकले बिहे गरिदिने प्रवृत्ति रहेको बताउँदै उनले आवासीय सुविधामा पढ्न पाएपछि विद्यार्थीले उच्च शिक्षा लिन पाएको बताए। सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले आर्थिक अवस्था कमजोर भएकलै छोराछोरी पढाउनबाट वञ्चित भएका अविभावकलाई लक्षित गरी छात्रावास निर्माणमा सघाएको बताए।‘कोटाभन्दा धेरै माग हुँदा आवासीय रूपमा बस्ने विद्यार्थीले दुःख पाएका रहेछन्,’ उनले भने, ‘२०७२ सालको भूकम्पपछि यस विद्यालयमा सहयोग गर्न आउँदा समस्या भएको देखेपछि संस्थाबाट छात्रावासका लागि सहयोग जुटाएका हौं।’  

नेपाल सरकारले शिक्षा मन्त्रालयअन्तर्गत उक्त छात्रावासलाई एक सय जना विद्यार्थीको कोटा दिएको छ।सरकारले वर्षेनि प्रतिविद्यार्थी ४० हजार रूपैयाँ दिने गरेको प्रअ कार्कीले बताए।‘एक सय जना विद्यार्थीको कोटा सरकारले तोकेको छ, सोहीअनुसार खर्च आउँछ,’ उनले भने, ‘माग धेरै भएकाले हामीले १ सय ५० जना राखिरहेका छौं।’ सरकारले वार्षिक ३५ लाख रूपैयाँ खाना र ५ लाख अन्य खर्च गरी ४० जना पठाउने गरेको उनले बताए।गरिब, जेहेनदार, दुर्गम भेग र अविभावकविहीन भएकालाई आवासीय रूपमा बस्न प्राथमिकता दिने गरेको विद्यालयले जनाएको छ।

२०१८ सालमा प्राथमिक तहबाट पठनपाठन सुरु भएको उक्त विद्यालयमा सरकारले २०६८ सालदेखि हिमाली छात्रावास सञ्चालन गर्दै २० जनाको कोटा निर्धारण गरेको थियो।२०६८ सालमा एक सय जना कोटा निर्धारण भएको भवानी माविमा सबैभन्दा धेरै उत्तरी गोरखाको धार्चे गाउँपालिकाका विद्यार्थी पढ्छन्।धार्चे, चुमनुब्री, आरुघाट, धादिङको त्रिपुरासुन्दरी, गंगाजमुना र केही अन्य जिल्लाका विद्यार्थी अहिले अवासीय सुविधासहित पढ्दै आएका छन्।

शनिबार छात्रावास भवन उद्घाटन कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले आरुघाट भन्दा अझै दुर्गममा रहेको धार्चे गाउँपालिकामा आवासीय सुविधा भएको विद्यालय नरहेकाले भवानी मावि मान्बुमा धेरै त्यहाँका विद्यार्थीले पढ्ने अवसर पाएको बताए।‘यस्ता आवासीय विद्यालय दुर्गमका सबै पालिकामा हुनुपर्छ,’ उनले भने।

प्रकाशित: १६ फाल्गुन २०७७ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App