४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

सभ्य सुसंस्कृत राष्ट्र निर्माणका लागि गुणस्तरीय शिक्षा- प्रधानमन्त्री

कीर्तिपुर, भदौ ३१ - प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति माधवकुमार नेपालले सभ्य, सुसंस्कृत नेपाल निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन‍्।शैक्षिकस्थलहरु राजनीतिको सिकार बन्न नहुनेका भन्दै प्रधानमन्त्री नेपालले शिक्षाक्षेत्रमा देखिएको अराजकताको अन्त्यका लागि सबैले आ-आफ्नो स्थानबाट सहयोग गरिनुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालयको चौतिसौँ दीक्षान्त समारोहको कीर्तिपुरमा अध्यक्षता गर्दै उनले गुणस्तरीयरुपमा विश्वविद्यालयले शिक्षाको विकास गर्दै लैजानु अपरिहार्य भएको बताए।

नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसक्दा पनि शिक्षाक्षेत्रमा आशातीत सफलता मिल्न नसकेकोमा जोड दिँदै उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि पनि शिक्षाक्षेत्रको विकास अपरिहार्य हुने बताए।

देशको विद्यमान सङ्क्रमणकालीन अवस्थाको समाधानका लागि शिक्षित वर्गको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै उनले यस अवस्थामा शिक्षित वर्गबाट राष्ट्रले धेरै अपेक्षा गरिरहेको बताए।

समय सापेक्षरुपमा त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै जानुपर्ने बताउँदै प्रधानमन्त्री नेपालले विश्वव्यापीरुपमा देखिएको प्रतिस्पर्धाको लहरलाई आत्मसात गर्दै सोही अनुरुपको शिक्षाको विकास तथा विस्तार आजको आवश्यकता भएको बताए।

कार्यक्रममा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति रामचन्द्र कुशवाहाले उदारीकरण, विश्वव्यापीकरण र नवीनतम् प्रविधिहरुको विकासको कारणले आजको विश्वमा नयाँनयाँ विधाहरुमा अध्ययनको आवश्यकता देखिएको बताउँदै त्रिभुवन विश्वविद्यालयले बदलिएको विश्व परिवेशमा देखापरेको जलवायु परिवर्तन, आर्थिक कूटनीति, द्वन्द्व व्यवस्थापनजस्ता विधाहरुमा अध्यापन सुरु गर्न आवश्यक भएको बताए।

हडताल, धर्ना, घेराउजस्ता कार्यले उच्चशिक्षाको प्रवर्द्धन र संवर्द्धनमा सहयोग नपुग्ने बताउँदै उनले विश्वविद्यालयको व्यवस्थापन, प्राध्यापक र विद्यार्थीहरुबीच साझेदारी र सहकारी भावना जागृत हुन अपरिहार्य हुने धारणा व्यक्त गरे।

उनले विश्वविद्यालयले सूचना, विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धानको क्षेत्रलाई फराकिलो गराउँदै जानु आवश्यक देखिएको बताए।

त्रिभुवन विश्वविद्यालयलाई सबैको शैक्षिक अभ्यास गर्ने पवित्र मन्दिरका रुपमा विकास गर्दै जानुपर्ने बताउँदै उनले यसलाई अन्तरराष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गर्नुपर्छ भने।

समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै बनारस हिन्दु विश्वविद्यालयका उपकुलपति प्रा. डिपी सिंहले त्रिभुवन विश्वविद्यालयले समय सापेक्षरुपमा अध्ययन अनुसन्धानको दायरालाई फराकिलो पार्दै अघि बढ्नुपर्नेमा जोड दिए।

परिवर्तित नेपाली समाजको आवश्यकताअनुरुप शिक्षालाई गुणस्तरीय गराउन पहल भइरहेको बताउँदै विश्वविद्यालयका उपकुलपति माधव शर्माले उक्त पहलअन्तर्गत नै विश्वविद्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुका साथै पाठ्यक्रम परिमार्जनका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए।

विश्वविद्यालयका सामु विभिन्न समस्याहरु रहेको बताउँदै उनले विद्यमान आर्थिक सङ्कटको समस्यालाई समाधान गर्न विशेष कार्य योजनाको आवश्यकता देखिएको बताए।

शैक्षिक प्राज्ञिक कार्यक्रमलाई समयसापेक्षरुपबाट सञ्चालन, परिमार्जन, सुधार तथा विकास गर्दै लानु विश्वविद्यालयका लागि प्रमुख आवश्यकता भएकोमा जोड दिँदै उनले त्यसका लागि परम्परागत अनुदान नीतिलाई तत्काल सुधार गरी व्यावहारिक र उद्देश्यमूलक बनाउन जरुरी भएको बताए।

कार्यक्रममा ४५ औँ र ४६ औँ ग्रेस लिस्टअनुसार स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका लगभग चार हजार ३०० विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो। रासस

प्रकाशित: ३१ भाद्र २०६६ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App