१० वैशाख २०७८ शुक्रबार
शिक्षा

गाउँलेले ब्युँताएको एउटा विद्यालय

गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो ।

काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँले निराश बने ।

दैलोको विद्यालय नचलेपछि पढ्न टाढा जान बाध्य बालबालिकाको पीडाले छोयो । अभिभावकको पनि मर्का बुझे । अझैपनि विद्यालय जोगाउन सकिन्छ की भनेर स्थानीयवासी लागिपरे । विद्यालय बचाउने जुक्ति निकाले । गाउँको सर्वपक्षीय भेला बस्यो ।

बन्दको मुखमा पुगेको विद्यालयलाई हरहालतमा जोगाउनेतिर भेलामा एकमत बन्यो । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर सुधारमा स्थानीयवासी कस्सिए । जनप्रतिनिधिलगायत सामाजिक अगुवाले स्थानीयवासीको प्रयासमा आड र ढाडस दिए ।

एक वर्षको अन्तरालमा अहिले विद्यालयको मुहार बदलिएको छ । यसअघि कक्षा पाँचसम्म चलेको विद्यालयको स्तर घटाएर कक्षा तीनसम्म मात्र सञ्चालन गरिएपनि शून्यतिर ओरालो लागेको विद्यार्थी सङ्ख्या बढेर ४७ पुगेको छ ।  

विद्यार्थीले अङ्ग्रेजी माध्यममा पढ्न पाएका छन् । ‘विद्यालय बन्दै हुन आँटेको थियो, विद्यार्थी नै नभएपछि नचाहेर पनि अन्य विद्यालयसँग एकीकरण गर्नै पथ्र्यो’, प्रधानाध्यापक भीमबहादुर थापाले भने, ‘समुदायको पहलमा विद्यालय जोगिएको छ ।’

अङ्ग्रेजी माध्यमसँगै विद्यालयले सिकाइमैत्री वातावरण दिएपछि पढ्न अन्यत्र गएका बालबालिका पनि सोही विद्यालयमा पुनः फर्केका छन् । अभिभावकको चाहना बुझेर विद्यालयको भौतिकसँगै शैक्षिक सुधारमा व्यवस्थापन समिति र शिक्षक खटिएका छन् ।

विद्यालयको आर्थिक सङ्कट टार्न अभियान चलाइएको छ भने शैक्षिक र व्यवस्थापकीय सुधारका लागि शिक्षा समिति, आर्थिक समितिलगायत क्रियाशील छन् । विद्यालयलाई आर्थिकरूपमा उकास्न अभियान थालिएको आर्थिक संयोजक थमबहादुर थापाले बताए ।  विद्यालय सङ्कटमा फसेपछि स्थानीय साँघखोला–रातापहरा सामुदायिक वन उपभोक्ता समूहले यही वर्ष दुई लाख सहायता उपलब्ध गराएको थियो ।

‘गाउँको विद्यालय समस्यामा परेपछि वनको बैठक राखेर तत्कालै रु दुई लाख दिने निर्णय गर्र्यौँ’, समूहका अध्यक्ष नारायणप्रसाद शर्माले भने। उनले व्यक्तिगत रूपमासमेत ५० हजारको अक्षयकोष विद्यालयमा राखे । यस्तै वडाध्यक्ष प्रेम लामिछानेले पनि अक्षयकोषमा  २५ हजार सहयोग गरेका छन् ।  

अहिले अक्षयकोषमा  एक लाख २५ हजार जम्मा भएको छ । वडा र गाउँपालिकामार्फत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक क्रियाकलापमा सघाइने वडाध्यक्ष लामिछानेले बताए ।  

‘स्थानीयवासी नकस्सिएका भए विद्यालय रहने थिएन, वडाकै अर्को परोपकार प्रावि पनि यसरी नै बन्द हुनबाट जोगिएको छ’, उनले भने ।  विद्यालयले विद्यार्थीलाई खाजा, पोशाक उपलब्ध गराउने गरेको छ । अभिभावकले आलोपालो गरेर विद्यालयमै आई खाजा आफैँ बनाएर विद्यार्थीलाई खुवाउँछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुष्मराज उपाध्यायले विद्यालय सुधारमा समुदायको योगदान अपरिहार्य रहेको बताए । उनले विद्यार्थी घटेपछि एकीकरणको अभियान चलिरहेका बेला विद्यालय जोगाउन समुदायले गरेको अगुवाइ प्रशंसनीय रहेको उल्लेख गरे ।  

‘शिक्षा बिग्रिए सबै बिग्रन्छ, शिक्षालाई जगैदेखि सुधार्नुपर्छ’, उनले भने , ‘ठूलो भवन, कक्षाकोठा मात्र भएर पनि नहुने रहेछ, मुख्य कुरा विद्यालयमा सिकाइमैत्री वातावरण छ, छैन हेर्नुपर्छ ।’ विसं २०४६ मा स्थापना भएको सो विद्यालयमा दुई दरबन्दी, एक राहत र चार निजी स्रोतका शिक्षक छन् ।

दरबन्दी कम हुँदा विद्यालयलाई अतिरिक्त आर्थिक भार छ । प्रअ थापाका अनुसार अझै पनि विद्यालय रु चार लाख घाटामा छ । ‘शैक्षिक वातावरणमा आएको सुधारले विद्यालयप्रति अभिभावक र विद्यार्थीको भरोसा बढेको छ, अब आर्थिक र व्यवस्थापकीयरूपमा मजबुत पार्नुपर्ने आवश्यकता छ’, उनले भने । रासस 

प्रकाशित: २६ माघ २०७७ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?