१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई अध्यक्षको कोशेली

बराहताल गाउँपालिका–३ ले वडाध्यक्षसँग बालबालिका कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम अन्र्तगत सेवा क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई अध्यक्ष कोशेलीका रुपमा विद्यालय पोशाक वितरण गरिएको छ । वडाध्यक्ष दत्तबहादुर बराल मगरले कक्षा एकदेखि आठसम्मका तीन सय ५० जना बालबालिकाहरुलाई कोशेलीका रुपमा विद्यालय पोशाक वितरण गरिएको जानकारी दिए ।

‘विद्यालयको पोशाकमा एकरुपकता ल्याउन तथा गरिव र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा सहज पहुँच बढाउनका लागि अध्यक्ष कोशेली कार्यक्रम सुरु गरेका हौं,’ वडाध्यक्ष मगरले भने, ‘चालू शैक्षिकसत्रमा सेवा क्षेत्रभित्रका दुई वटा आधारभूत र पाँच वटा प्राथमिक तहका सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय ५० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेका हौं ।’

अध्यक्ष मगरका अनुसार पूर्णादेवी प्रावि गाइनेकाँडाका ३०, भवानी प्रावि गुराँसेका ५०, भैरवी आधारभूत विद्यालय गुराँसमालाका ८०, बराह आधारभूत विद्यालय नर्सिङकाँडाका ८०, नेपाल राष्ट्रिय प्रावि लेखगाउँका ३०, जनता प्रावि हर्रेकाँडाका ३० र मालिका प्रावि केलाडीका ५० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको हो ।  

पूर्णादेवी प्राविका प्रधानाध्याक पूर्णप्रसाद उपाध्यायले बालबालिकाका लागि वडाध्यक्षको कोशेली महत्वपूर्ण रहेको बताए । ‘समान पोशाकका कारण विद्यार्थीहरुमा एकरुपकता हुनुका साथै गरिव तथा विपन्न बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म पुर्‍याएको छ,’ उनले भने, ‘हरेक शैक्षिकसत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके बालबालिकालाई सहज हुन्थ्यो ।’

प्रकाशित: ११ माघ २०७७ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App