१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कक्षा १२ को नतिजा माघ १० भित्र

ढिला निर्णयले एसइई परीक्षा ब्यवस्थापनमै चुनौति

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा माघ १० गतेभित्र प्रकासित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले नतिजा प्रकासनको काम अन्तिम चरणमा पुगेको बताए। उनले स्कुलहरुको लापरबाहीले समयमै नतिजा प्रकासन गर्न नपाउँदा दुःख समेत ब्यक्त गरे।  

शिक्षा पत्रकर संजाल (ईजोन) ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष पौडेलले बोर्डले पुस दोस्रो साता नतिजा प्रकासन गर्ने तय गरेको भए पनि स्कुलहरुले उत्तरपुस्तिका क्रमअनुसार नपढाएकोले डाटा इन्ट्री गर्न समय लागेको जनाए। ‘कोभिड जोखिमका कारण यस वर्ष परीक्षा संचालनको जिम्मा सबन्धित स्कुलहरुलाई नै दिएको थियो,’ अध्यक्ष पौडेलले भने ‘तर विद्यालयबाट प्राप्त नतिजा क्रमबद्ध नभएकोले डाटा इन्ट्री र रुजु गर्न समस्या भयो।’ उनले थपे ‘बोर्डले रुजु गर्ने काम गरिरहेको छ। यही रफ्तारमा काम भइरहे माघ १० गतेभित्र नतिजा सार्वजनिक हुन्छ।’

कोरोना संक्रमणको उच्च जोखिम कायम रहेकै समयमा सरकारले कक्षा १२ को विद्यार्थीको भौतिक उपस्थितमै मंसिरमा परीक्षा संचालन गरी सम्पन्न गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई मध्य नजर गर्दै माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांक, परीक्षा संचालन, ब्यवस्थापन, अभिलेखिकरण र प्रमाणिकीकरण कार्यविधि, २०७७ पारीत गरी परीक्षा संचालन गरिहेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए।  

जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशतको, ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन र २० प्रतिशत अंक विद्यालयले विद्यार्थीको प्राक्टिकलको मूल्यांकन गरि अंकभार दिने निर्णय गरेको हो। यस अघि माध्यमिक परीक्षा कक्षा १० एसइईको लिखित परीक्षा स्थगित गरि आन्तरिक मूल्यांकनबाटै गरिएको थियो।  

होमसेन्टरबाटै संचालन भएको परीक्षामा ४ लाख ३३ हजार एक सय ८० परीक्षार्थीको लागि चार हजार एक सय ५ परीक्षा केन्द्र तोकिएको छ। मंसिर ९ गतेदेखि सुरु भएको परीक्षा मंसिर १६ गतेभित्र सम्पन्न भएको थियो।  

उनले यसै गरी आगामी एसइई परीक्षा बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समयमै टुँगो नलाउँदा परीक्षा ब्यवस्थापनमा चुनौति थपिएको बताए।  

गत वर्षको एसइई परीक्षा कोभिडकै कारण स्कुललाई संचालनको जिम्मेवारी दिएको भए पनि शिक्षा ऐनमा बोर्डले नै गर्ने ब्यवस्था भएकोले संचालन तथा ब्यवस्थापनमा चुनौति थपिएको उनको भनाइ छ।

‘बोर्डले मन्त्रालयमा एसइई परीक्षा आगामी जेठमा गर्नु पर्ने प्रस्तवा पठाएको छ,’अध्यक्ष पौडेलले भने ‘प्रस्ताव पठाएको दुई महिना वित्नलाग्दा समेत कुनै निर्णय भएको छैन।’ उनले थपे‘विगतमा मंसिरमा प्रश्नपत्र तयारी गरि माघमा छपाईको प्रकृया सुरु हुन्थ्यो। यो वर्ष कहिले र कसले एसइई संचालन गर्ने समेत टुँगो लाग्न सकेको छैन। ढिलो निर्णय हुँदा परीक्षा ब्यवस्थापनमै चुनौति थपिन्छ।’

प्रकाशित: ४ माघ २०७७ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App