१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

समायोजनले ३७ विद्यालय विलीन

विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन्।  मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो।

एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्।  जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ। संस्थागत १७ र सामुदायिक ३२ सामुदायिक विद्यालय समायोजनमा परेका छन्। तीमध्ये संस्थागततर्फ एक मावि, आठ निमावि र आठ प्रावि छन्। मदानेले विद्यालय समायोजन तथा कक्षा घटाउने कुनै काम गर्न सकेको छैन।  

 समायोजनका कारण १० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय बन्द भएको शिक्षा तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। गुल्मी दरबार गाउँपालिकामा १० सम्म पढाइ हुने गौरीशङ्कर इग्लिस बोर्डिङ स्कूल ईश्वरी माविमा पूरै समायोजन भएको छ।  

गुल्मी दरबारमै चार संस्थागत र दुई सामुदायिक विद्यालय खाली भएका छन्। धुर्कोट गाउँपालिकाले पनि सामुदायिक र संस्थागत गरेर नौ विद्यालय समायोजन गरेको छ जसका कारण पाँच संस्थागत विद्यालय खाली भएका छन्। मुसिकोट नगरपालिकाले सात सामुदायिक विद्यालय समायोजन गरेर बन्द गरेको तथा छ विद्यालयको कक्षा घटाएको मरासिनीले जानकारी दिए।  

रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिकाले एक/एक संस्थागत विद्यालय समायोजन गरेका छन्। चन्द्रकोट गाउँपालिकाले पाँच विद्यालय समायोजन गरेको छ भने नौ विद्यालयमा कक्षा घटाएको छ। इस्मा गाउँपालिकाले १५ विद्यालयमा समायोजन र कक्षा घटाएको छ।

मालिका गाउँपालिकाले सबैभन्दा बढी १६ विद्यालयको कक्षा घटाएको छ। स्थानीय तहको समायोजनको तथ्याङ्कका आधारमा घटेका कक्षा प्रायः २, ३ र ४ छन्। सुरुमा समुदायले नै खोलेका विद्यालय भएकाले उनीहरुकै अनुरोधमा बन्द गर्न स्थानीय सरकारलाई पनि चुनौती बनिरहेको छ। जसका कारण अधिकांश स्थानीय तहले एक कक्षा मात्रै भए पनि समुदायमा काम गरिरहेका छन्।  

गाउँका नागरिक शहर केन्द्रित भएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्तै कम हुँदै गएकाले विद्यालय समायोजन र कक्षा घटाइएको छ। दूरी र भौगोलिक अवस्थालाई पनि समायोजनको अर्को कारण मानिएको छ। केही ठाउँमा नजिकनजिक विद्यालय छन् भने केही ठाउँमा भौगोलिक हिसाबले विद्यालय पुग्न विद्यार्थी घण्टौं हिँडनुपर्ने बाध्यता छ। समायोजन हुने कक्षाका लागि शिक्षा मन्त्रालयले प्रतिकक्षा पाँच लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको छ। रासस

प्रकाशित: २४ पुस २०७७ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App