११ मंसिर २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सामुदायीकमा पढाई सुरु, निजीले अझै आँट गरेनन्

अभिभावकको मत बाँझिदा निजीमा सुरु हुन सकेनः प्याब्सन

पोखराको रामबजारस्थित कालिका माविमा आइतबार पढाई हँुदै । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणसँगै गत चैतदेखि बन्द रहेका विद्यालय बल्ल खुल्न थालेका छन् । ग्रामिण क्षेत्रमा केही पहिलेदेखि नै विद्यालयमा विद्यार्थीलाई उपस्थित गराएरै पठनपाठन थालिएपनि सहरी क्षेत्रमा भने अझै पूर्ण रुपमा विद्यालय खुलिसकेका छैनन ।  

भौतिक रुपमा संचालन गर्न सक्ने अवस्था नहुनेले अनलाइन विधीबाटै विद्यार्थीलाई पठनपाठन गराईरहेको विद्यालयले बताएका छन् । अधिक सामुदायीक विद्यालयले भौतिक रुपमै पठनपाठन सुरु गरिसक्दा निजी विद्यालयले भने अझै आँट गरेका छैनन् ।

पोखरा महानगरपालिकाभित्र संचालित अधिकांश सामुदायीक विद्यालय खुलिसकेका छन् भने निजी विद्यालय भने अझै पनि पूर्ण रुपमा खुलिसकेका छैनन । निजी विद्यालय पर्ख र हेरको अवस्थामा छन् । विद्यालय खोल्ने की नखोल्ने भन्ने बारे अभिभावकको मत बाँझिदा पनि विद्यार्थीको भौतिक उपस्थितिमा पढाउन आँट नगरेको केही निजी विद्यालयका संचालकको भनाई छ । कतिपय निजी विद्यालयले भने आंशिक रुपमा आलोपालो प्रणालि अपनाएर पनि पठनपाठन थालिसकेका छन् ।  

सितलादेवी सामुदायीक माविका प्रधानाध्यापक बाबुराम अधिकारीका अनुसार मंसिर २८ गतेदेखि विद्यालयमा पठनपाठन सुरु भएको छ । अहिलेका लागि आंशिक रुपमा मात्र पठनपाठन खुला गरिएको अधिकारीले बताए । प्रअ अधिकारीका अनुसार १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई जोर–विजोर प्रणालि अनुसार विद्यालयमा बोलाएर पढाइएको छ । कक्षा आठदेखि १२ सम्मका सबै विद्यार्थीलाई विद्यालयमै बोलाइएको छ । ११ र १२ को कक्षा बिहान हुने भएकोले पनि दिउँसोमा उत्तिसारो भीडभाड नहुने उनले बताए । नर्सरीदेखि यूकेजीसम्मका सबै विद्यार्थींलाई बोलाएर दिउँसो १ बजेसम्म मात्र पढाउने गरेको उनले बताए ।  

‘एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर पढाईरहेका छौ । स्वास्थ्यका मापदण्ड पालना गराउनमा कडाइ गरेका छौ,’ अधिकारीले भने, ‘स्वास्थ्यप्रति सचेत हुनैपर्छ ।’ उनका अनुसार विद्यालय आएका विद्यार्थीको ज्वरो नापेर मात्र भित्र प्रवेश दिइने गरेको छ । त्यस्तै फेससिल्ड पनि अनिवार्य छ । विद्यार्थीले झोलामा सेनिटाइजर ल्याउनुपर्ने र बेलाबेला लगाउनुपर्ने पनि अनिवार्य छ । विद्यार्थीले खाजा आफैले ल्याउनुपर्ने, आफ्ना सामान एकअर्कासँग साटासाट गर्न नपाउने गरि व्यवस्थित गरिएको अधिकारीले बताए । विद्यार्थीलाई खेलकुद र जमघटमा भने रोक लगाइएको छ ।

‘निजी स्कुलले रिस्क लिन चाहेनन । तर, हामीले नपढाई भएन,’ उनले भने । विद्यालय व्यवस्थापन समितिले विद्यालय संचालनबारे निर्णय गरेपछि पोखरा महानगरपालिकासँग अनुमति लिएको अधिकारीले बताए । ‘विद्यार्थी भौतिक रुपमा पढ्न पाउँदा खुसी छन् । लामो समय घरभित्र रहेर अनलाइनमार्फत केही पढ्न पाएका विद्यार्थी अहिले भौतिक उपस्थितिमा पढ्न पाउँदा रमाएका छन,’ उनले भने ।

कालिका माविका प्रधानाध्यापक बलराम गिरीका अनुसार तीनदिनदेखि स्कुलमा भौतिक रुपमा विद्यार्थीको उपस्थितिमा पठनपाठन सुचारु गरिएको छ । विद्यार्थीको रोल नम्बरलाई जोर र बिजोर अनुसार विद्यालयमा बोलाएर पठनपाठन गराएको उनले बताए । ‘तीनदिनदेखि हामीले विद्यार्थीलाई विद्यालयमै बोलाए पढाईरहेका छौ,’ गिरीले भने, ‘स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेका छौ ।’ स्थानीय तहसँग समन्वय गरेर नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीलाई बोलाएर पठनपाठन सुरु गराइएको कालिकाका प्रअ गिरीले बताए ।  

पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार सबै प्रकारका स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय खुलाउन सकिने गरि महानगरले स्वीकृति दिएको छ । ‘अनलाईन वा अफलाइन कुनैपनि विधिबाट विद्यालय चलाउन सकिने अवस्था छ,’ आचार्यले भने, ‘भौतिक दुरी कायम राख्न सकिने अवस्थामा विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पनि पठनपाठन संचालन गर्न सकिन्छ ।’ उनका अनुसार महानगरभित्रका सबैजसो सामुदायीक विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन संचालन गरेका छन् । केहीले पठनपाठनको तयारी थालेका पनि छन् ।

‘संक्रमणकै त्रास हो भने अनलाइनबाट पनि पठनपाठन गराउन सकिन्छ । अवस्था समज भएमा भौतिक रुपमा पनि चलाउन सकिने वा भौतिक दुरी कायम गरेर सबै स्कुल खुलाउन सकिने अवस्था छ,’ आचार्यले भने, ‘सामुदायीक विद्यालयले त भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराएका छन् । तर निजी विद्यालयले भने अझै आँट गरिसकेका छैनन ।’

उनका अनुसार निजी विद्यालयले पठनपाठन कसरी सुचारु गर्न सकिन्छ भनेर अभिभावकसँग परामर्श गरिरहेका छन् । केही अभिभावक विद्यालयमा भौतिक रुपमै पठनपाठन गराउन सुझाउँछन् भने कतिपयले अहिले नै बेला नभएको भनिरहेकोले निजी विद्यालय दोधारमा रहेको आचार्यको भनाई छ ।

‘अभिभावकको सहमति जुटाउनकै लागि धेरैको समय बितेको छ । निजीमा सबै विद्यालयले आँट गरिसकेका छैनन,’ उनले भने, ‘तर साुमदायिक भने अधिकांश चलिरहेका छन् । भौतिक रुपमा स्वास्थ्यका मापदण्ड पुरा गरेर अध्यापन भईरहेको छ ।’ पोखरा महानगरपालिकाभित्र २१२ वटा सामुदायीक र १८३ वटा निजी विद्यालय छन् । ग्रामिण भेगका वडामा भने सबैजसो विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाई भइरहेको उनले बताए ।  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीका अध्यक्ष प्रेम शर्माले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिए बमोजिम पोखरा महानगरपालिकासँग छलफल गरेर विद्यालय खुलाउने पक्षमा रहेको बताए । ‘विद्यालयले अवस्था हेरेर अनलाईन वा भौतिक रुपमा पठनपाठनको निर्णय गर्ने अधिकार विद्यालयलाई दिएको छ,’ अध्यक्ष शर्माले भने, ‘स्थानीय तहसँग समन्वय गरेर निजी विद्यालयले पनि पठनपाठन सुरु गरिसकेका छन् ।’  

उनका अनुसार अधिकांश निजी विद्यालयले अहिले आंशिक रुपमा मात्र कक्षा संचालन गरेका छन् । कतिपयले अनलाइन विधिलाई नै निरन्तरता पनि दिएका छन् । ‘केही समय अघिसम्म अभिभावक पनि भौतिक उपस्थितिमा पठनपाठन गर्न सहमत थिएनन् । तर, अहिले अभिभावक पनि सहमतिमा अएका छन्,’ उनले भने ।  

अध्यक्ष शर्माका अनुसार सबै अभिभाकको एकमत नहँुदा कतिपय विद्यालयले अझै विद्यालय खुलाउने आँट गर्न सकेका छैनन । ‘ठुलो कक्षाका लागि अभिभावक सहमत छन् । तर, तल्लो कक्षाका बालबालिकाका लागि भने अभिभावक राजी भईसकेका छैनन,’ अध्यक्ष शर्माले भने, ‘स्वास्थ्यका मापदण्ड पुरा गरेर विद्यालय संचालन गर्न सकिने अवस्था छ ।’

प्रकाशित: ५ पुस २०७७ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App