१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

लुम्बिनी प्रदेश: धमाधम खुल्दै विद्यालय

विद्यालय जादै गरेका बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका विद्यार्थी । तस्बिर : अर्जुन/नागरिक

लक्ष्मी माध्यामिक विद्यालय मदुई, बाँकेको कक्षा १० की छात्रा प्रज्ञा डाँगी ८ महिनापछि विद्यालयको नियमित पठन पाठनमा सहभागी भइन्। यही मंसिर १४ गतेबाट खुलेपछि उनी अहिले नियमित रुपमा विद्यालय जान थालेकी हुन्। कृषि बाली विज्ञान विषय पढिरहेकी गरिरहेकी प्रज्ञा अहिले विद्यालयको पठन पाठनमा प्रत्यक्ष सहभागी हुन पाउँदा खुसी छिन्। तर, कोरोना भाइरसको जोखिमबारे अनविज्ञ नै छिन्। 

‘विद्यालय बन्द भएर घरमा बसिरहँदा साह्रै नरमाईलो लागिरहेको थियो, अहिले विद्यालय खुलेपछि राम्रो भएको छ,’ उनले नागरिकसँग भनिन्। उक्त विद्यालयका शिक्षक गणेश ओलीका अनुसार विद्यालयले दुई सिफ्टमा पठन पाठन सञ्चालन गरिरहेको छ। शिशु कक्षादेखि कक्षा ८ सम्मका बिद्यार्थीका लागि बिहान साढे ९ बजेदेखि साढे १२ बजेसम्म र कक्षा ९ देखी १२ सम्मका लागि दिउँसो साढे १ बजेदेखि अपरान्ह साढे ४ बजेम्म पढाइ सञ्चालन भइरहेको छ। विद्यार्थीका लागि मास्क, स्यानिटाइजर र साबुन पानीको उचित ब्यवस्था गरिएको शिक्षक ओलीले सुनाए।  

कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण २०७६ को बार्षिक परीक्षा पश्चात गत चैत महिनादेखि मुलुकभरका विद्यालय बन्द भएका थिए। महामारी नियन्त्रणमा नआउँदा २०७७ सालको शैक्षिक शत्र लामो समयसम्म पनि सञ्चालन हुन सकेन। संघीय सरकारले तयार गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा २०७७’ अनुसार लुम्बिनी प्रदेशको अधिकांस जिल्लाका विद्यालयहरु मंसिरदेखि सञ्चालनमा आएका हुन्। उक्त कार्यढाँचामा विद्यालय सञ्चालनका लागि विभिन्न ७ वटा विकल्प दिइएको छ। पढाई सञ्चालन गर्दा विद्यालयले विद्यार्थीका लागि अनिवार्य रुपमा मास्कको ब्यवस्था गर्नुपर्ने, एउटा बेन्चमा २ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने, नियमित रुपमा साबुन पानीले हात धुन लगाउनुपर्ने लगायत मापदण्ड बनाइएको छ।

सोही मापदण्ड अनुसार लुम्बिनी प्रदेशका जिल्लामा विद्यालयको पठन पाठन सञ्चालन गरिएको बताइएको छ। अधिकांस विद्यालयले पठन पाठन सञ्चालन गरेको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादव अहिले बाँकेमा करिव ७५ प्रतिशत विद्यालय सञ्चालनमा आइसकेको बताउँछन् । जिल्लामा रहेका कुल ८ वटा स्थानीय तह मध्ये डडुवा गाउँपालिका बाहेक अन्य स्थानीय तह केहीले पुरै र केहीले आंशिक रुपमा विद्यालय सञ्चालन गरेको यादवले बताए। ‘बाँकेमा विद्यालय खुल्ने क्रम जारी छ, तर भर्खरै स्वास्थ्य मन्त्रालयले स्कुल नखोल्न उचित छैन भन्ने अभिव्यक्ति दिएपछि केही अन्यौलता छाएको छ,’ उनले भने।  

बर्दियामा भने ८ वटै स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख रेविका अमात्यले जिल्लाका सबै विद्यालय सञ्चालनमा आइसकेको बताईन्। ‘एउटा विद्यालय खुलिसकेपछि त्यहाँ शिक्षकलाई कोरोना देखिएपछि अहिले बन्द छ, त्यस बाहेक अरु सबै विद्यालय नियमित रुपमा सञ्चालनमा आइसकेको जानकारी आएको छ,’ उनले भनिन्। शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकालाई टेकेर विद्यालय सञ्चालन गरिएको र केन्द्रबाट अर्को निर्देशन नआउँदासम्म विद्यालय अब बन्द नहुने अमात्यको तर्क छ। विद्यालय खोल्ने सबै अधिकार स्थानीय तहलाई भएकाले स्थानीय तहसँग समन्वय गरेर विद्यालय खुलेको उनले जोड दिइन्।

लुम्बिनी प्रदेशको कपिलबस्तुमा पनि अहिले विद्यालय धमाधम चलिरहेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेका अनुसार शैक्षिक संस्था लगभग शतप्रतिशत सञ्चालनमा आइसकेका छन्। ‘हाम्रो जिल्लाका सबै विद्यालय खुलेका छन्, मापदण्ड अपनाएर पढाई सञ्चालन भइरहेको छ,’ उनले भने। जिल्लाका १० वटै स्थानीय तहले विद्यालय सञ्चालन गरेको जानकारी आफूलाई आएको बताए।

दाङका अधिकांस विद्यालय सिफ्ट अनुसार चलिरहेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देवमणि चौधरीले जहाँ बढी विद्यार्थी छन्, त्यहाँ सिफ्ट अनुसार र विद्यार्थी संख्या कम भएका विद्यालयले पुरै कक्षा सञ्चालन गरेको जानकारी दिए। ‘स्रोतले भ्याएसम्म विद्यालयले स्यानिटाइजर, थर्मगन, मास्कको ब्यवस्था गरेका छन्,’ उनले भने। दाङको गढवा गाउँपालिकामा रहेको एक विद्यालयमा शिक्षकलाई कोरोना संक्रमण देखिएपछि उक्त विद्यालय करिव ८ दिनका लागि बन्द गरिएको चौधरीले बताए।  

लुम्बिनी प्रदेशभर रहेका कति विद्यालय अहिलेसम्म सञ्चालनमा आइसकेका छन् र कति विद्यालय अझै बन्द छन्, भन्नेबारे एकिन तथ्यांक छैन। शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका प्रमुख टिकाराम अर्यालले विद्यालय सञ्चालनबारे आफू अनविज्ञ रहेको बताए। ‘लुम्बिनी प्रदेशभर कति विद्यालय सञ्चालनमा आए, कति बन्द छन्, यसबारे हामीलाई कसैले जानकारी पठाउँदैनन्,’ उनले दुखेसो पोख्दै भने ‘हामीलाई भन्दा त बढी जानकारी स्थानीय तहलाई नै हुन्छ, स्थानीय तहसँग समन्वय गरेर विद्यालय खोल्ने भनिएको छ।’  

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सूचना अधिकारी डा. पुष्पराज पौडेलले कोरोना महामारी अझै कायमै रहेपनि विद्यालय खोल्ने होडबाजी चल्दा जोखिम बढाइरहेको बताए। ‘जसरी विद्यालय सञ्चालन भइरहेका छन्, मैले त एकदमै जोखिम देखिरहेको छु,’ उनले भने ‘बरु ग्रामिण क्षेत्र र पहाडी जिल्लाका विद्यालय खोल्दा जोखिम कम होला, तर शहरी क्षेत्र, त्यो पनि तराईका जिल्ला अहिले नै खोल्दा विचार पुर्‍याउनुपर्ने अवस्था छ।’

प्रकाशित: २७ मंसिर २०७७ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App