४ वैशाख २०८१ मंगलबार
शिक्षा

चैतदेखि विद्यार्थी नदेखेका विद्यालय झाडीमा लुक्दै

तस्बिरः उमेश पुन/नागरिक

प्रस्याङस्थित समता शिक्षा निकेतनको मैदान यतिबेला हरियै छ। बाह्रैमास सुख्खा हुने र धुलो उड्ने यो मैदानमा गत चैत यता विद्यार्थीले पाइला टेक्न पाएका छैनन्। कोरोना भाइरस संक्रमणका कारण चैतमा लकडाउन गरिएयता विद्यालयले पनि विद्यार्थीको मुख देख्न पाएको छैन। मैदानमा हिँड्डुल गर्ने र बुर्कुसी मार्ने विद्यार्थी नभएपछि मैदानमा घास मात्र पलाएको छैन की चौरका धुपी र अशोकका विरुवाले आफ्नो स्वरुप लिन पाएका छन्।  

सधैं धुलो हुने मैदानमा अहिले चारैतिर घासेझाडी मौलाएको छ। बाह्रैमास विद्यार्थीले निमोठ्दा उठ्न नपाएका धुपी र अशोकका विरुवाले हाँगा हालेका छन्। सधैं सुख्खा र धुलो मात्र उड्ने मैदान घासपातले छोपिएको छ। धुलो कतै देख्न पाइन्न, बरु वर्षायाममा लागेको लेउ सुकेर उप्किन थालेको छ। बाहिर चौरमा झारपात मौलाउने मात्र नभई कक्षा कोठाको कुनाकाप्चामा माकुराले जाली बनाएका छन्।

कोरोना संक्रमणले गति लिइरहँदा ग्रामिण क्षेत्रका विद्यालयमा यो बेला विद्यार्थीको भौतिक उपस्थितिमै पढाई भईरहेको छ। तर, सहरका विद्यालयमा भने अझै पढाउने दिनको टुंगो छैन। सहरमा कोरोना भाइरसको संंक्रमण बढिरहँदा विद्यार्थीको भौतिक उपस्थितिमै पढाई हुने दिन निश्चित छैन। लामो समय बन्द रहेका विद्यालयका मैदान अहिले हरियै छन्। ढुंगामाटो भएका मैदानमा घास पलाएर पनि सुक्न थालिसकेको छ। विद्यालय खुल्ने दिन अनिश्चित हुँदा सरसफाइमा पनि ध्यान नपुगेको विद्यालयका पदाधिकारीको भनाइ छ।  

समताका संयोजक उमेश रेग्मीका अनुसार अघिल्लो शैक्षिकसत्रमा विद्यालयमा १२ सय जति विद्यार्थी थिए। दिनहुँ झन्डै १२ सय विद्यार्थी आउजाउ हुने विद्यालयमा हरियाली देख्न समेत मुस्किल हुन्थ्यो। चारैतिर बुङबुङति धुलो उड्थ्यो। तर, लकडाउनपछि विद्यालयमा विद्यार्थीले प्रवेश नपाउँदा मैदानको घासले मुन्टो उठाउने ठाउँ पाएको छ। ‘विद्यालय खुल्ने दिन निश्चित भएन। त्यही भएर हामीले सरसफाई पनि गरेका छैनौ,’ रेग्मीले भने, ‘स्कुलको अवस्था देख्दा आफैलाई माया लाग्छ। जुन दिन विद्यालय खुल्ने निश्चित हुन्छ, त्यही अनुसार सरसफाई गर्ने र झाडी फ्याक्ने हो। झाडिमै विद्यालय लुक्न थाल्यो जस्तो लाग्दैछ।’

विद्यालय संचालन नहुँदा कक्षाकोठ पनि उराठलाग्दा देखिएका छन्। कक्षाकोठाको डेस्क, बेञ्च धुलैधुलो छन्। ‘झन्डै नौ महिना भयो, विद्यालयले पनि विद्यार्थीको मुख देख्न पाएको छैन,’ रेग्मीले भने, ‘विद्यार्थी नहुँदा स्कुलले पनि स्याहारसुसार पाएको छैन। मैदानमा त घाँस पलाउने भइहाल्यो।’ नियमित रुपमा विद्यालयमा विद्यार्थीको उपस्थितिले घास पलाउने र रुखविरुवाले मौलाउने अवसरै नपाउने गरेकोमा यो पटक भने लामो समयदेखि बन्द रहँदा घासपात र रुखविरुवाले पनि हाँगा हाल्न पाएको उनले बताए। ‘विद्यार्थीले निमोठ्दा यी विरुवाले कहिल्यै हाँगा हालेको देख्न पाइँदैनथ्यो,’ उनले भने, ‘हामीले सधैं ठुटे आकारमा देख्ने रुखका हाँगा बल्ल हरिया भएका छन्।’  

अमरसिंहचोकको अमरसिंह नमूना माविको चौर पनि यतिबेला हरियै छ। अमरसिंहमा १२ कक्षासम्म झन्डै २८ सय विद्यार्थी हुँदा चौर माडिएर धुलाम्य हुन्थ्यो। ‘धुलो बढी भएर पानी छम्किनुपर्ने अवस्था आउँथ्यो,’ विद्यालयका प्रधानाध्यापक तेजस्बी बरालले भने, ‘अहिले त घास र रुख विरुवाले मौलाउने मौका पाएको छ।’ १२ कक्षाको परीक्षा हुने निश्चित भएपछि घास काटेर र रुख विरुवाका पात संकलन गरेर आगो लगाएको बरालले बताए। ‘यो वर्ष विद्यार्थी विद्यालयमा आउने अवस्था देखिन्न। भौतिक रुपमा विद्यार्थीलाई कक्षामा पढाउने दिन निकै नै टाढा छ,’ बरालले भने, ‘अहिले त मैदान पनि स्याल लुक्ने जस्ता देखिएका छन्।’  

दिनहुँ झन्डै २८ सय विद्यार्थीले माडेको चौर अहिले हरियै भएको उनले बताए। विद्यालय परिसरमा रहेका जडिबुटी, सल्लो, कपुर, सिसौ, तेजपत्ता लगायतका बोटविरुवाले बल्ल हाँगा हाल्न पाएको बरालले बताए। ‘डरलाग्दो झाडि भएको छ। विद्यालय नै झाडिमा लुक्न थालेको छ,’ उनले भने। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा लिएपछि यो बेला अधिकांश विद्यालयमा विहानको समयमा चहलपहल देखिएपनि भौतिक रुपमा पठनपाठन नहुँदा विद्यालय क्षेत्र उराठलाग्दा देखिएको शिक्षक पदाधिकारीको भनाइ छ।  

रामबजारको कालिका प्रधानाध्यापक बलराम गिरीले विद्यालयमा नियमित सरसफाई गर्दा उत्तिसारो समस्या नभएको बताए। ‘झन्डै १२ सय जना विद्यार्थी दिनहुँ उफ्रिन चौरमा अहिले बल्ल घास पलाउने मौका त पायो,’ गिरीले भने, ‘तर हामीले नियमित रुपमा सरसफाई गरेका थियौ।’ चैतको लकडाउनसँगै विद्यार्थी भित्र्याउन नपाएको कालिकाले बिहीबारदेखि परीक्षा लिएर ९ र १० कक्षाका विद्यार्थीसँग भेटघाट गर्न पाएको गिरीले बताए। ‘अहिले विद्यार्थी त भित्रिन पाएका छन्। तर अहिले परीक्षाका लागि मात्र आएका हुन्। पठनपाठन सुरु नभएसम्म शिक्षणसंस्था सुनसानै रहनेछन,’ उनले भने।

पोखरा महानगरको शिक्षा महाशाखाका अधिकृत बसन्त पौडेल अहिले धेरैजसो विद्यालयले परीक्षा संचालन गरेकोले अब भौतिक रुपमा पठनपाठनको सम्भावना पनि बढ्दै जाने बताउँछन्। ‘लामो समय बन्द रहेका विद्यालयले अहिले परीक्षा लिन थालेका छन्। यो आफैमा शैक्षिक गतिविधि हो,’ उनले भने, ‘परीक्षापछि पठनपाठनको अवस्था के हुने भन्ने अहिले नै यकिन छैन। संक्रमणको अवस्था हेरेर भौतिक रुपमा पढाइको सम्भावना यकिन हुन्छ।’

प्रकाशित: ११ मंसिर २०७७ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App