१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कोरोना संक्रमणले बन्द रहेका बाँकेका विद्यालय खोल्ने तयारी

कोरोना भाइरसका कारण बन्द रहेका बाँकेका विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत गरेको कोभिड–१९ को सन्दर्भमा बिद्यालय सञ्चालन सम्बन्धी निर्देशिका–२०७७ अनुसार विद्यालय सञ्चालन गर्ने तयारी भएको हो। कोरोना भाइरस महामारीका कारण २०७७ सालको शैक्षिक शत्र अझै सञ्चालन हुन सकेको छैन।  

मन्त्रालयले स्वीकृत गरेको विद्यालय सञ्चालन सम्बन्धी निर्देशिका अनुसार बाँकेमा बिद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताए। मन्त्रालयले स्वीकृत गरेको निर्देशिका कार्यान्वयन गर्न÷गराउन समन्वय इकाइले केहीदिन अघि जिल्लाका सबै स्थानीय तह अन्तर्गतका शिक्षा शाखालाई निर्देशन दिइसकेको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गत कात्तिक २० गते उक्त निर्देशिका मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत गराएको थियो।  

निर्देशिका अनुसार विद्यालयको पठन पाठन सञ्चालन गर्न जिल्लाका आठ वटै स्थानीय तह अन्तर्गतका शिक्षा शाखालाई निर्देशन दिएपनि विद्यालय सञ्चालन गर्नेबारे अहिलेसम्म कसैले पनि आधिकारिक रुपमा निर्णय गरेको आफुले नसुनेको यादवले बताए। ‘मन्त्रालयले स्वीकृत गरेको निर्देशिकालाई पालना गरेर बिद्यालय सञ्चालन गर्ने हो, तर निर्देशिकामा विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने दुबै कुरा उल्लेख छ,’ उनले भने ‘बिद्यालय खोलेर विद्यार्थीलाई कोरोना संक्रमण भइहाल्यो भने तत्कालै विद्यालय बन्द गर्नुपर्ने हुन्छ।’  

विद्यालय खोल्नुभन्दा पहिले गाउँपालिका र नगरपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर अभिभावक तथा विभिन्न सरोकारवाला निकायसँग व्यापक छलफल गर्नुपर्ने प्रमुख यादव बताउँछन्। ‘हचुवाको भरमा सबै विद्यालय एकैपटक खोल्न निर्देशिकाले भनेकै छैन, विद्यालय र सम्बन्धित वडामा कोरोना भाइरस संक्रमणको अवस्थालाई राम्ररी अध्ययन गरेर मात्र खोल्न सकिने व्यवस्था गरेको छ,’ उनले थपे ‘हचुवाको भरमा बिद्यालय खोलेर कुनै विद्यार्थीलाई संक्रमण भईहाल्यो भने त्यसको जिम्मेवारी कस्ले लिन्छ ? यसतर्फ पनि सोच्न जरुरी हुन्छ।’  

निर्देशिका अनुसार सम्बन्धित विद्यालयले विद्यार्थीका लागि साबुन पानीले हात धुने, पर्याप्त मात्रामा सेनिटाइजर, मास्क लगायतको व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। विद्यालयले हात धुने व्यवस्था, मास्क, सेनिटाइजरको व्यवस्थापन गरे÷नगरेको बारे नियमित रुपमा अनुगमन हुने समन्वय इकाइले जनाएको छ। आगामी मंसिर १५÷१६ गतेसम्म जिल्लाका सबै विद्यालय खुल्न सक्ने सम्भावना रहेको यादवले सुनाए।  

मन्त्रालयले स्वीकृत गरेको निर्देशिका अनुसार विद्यालयको पठन पाठन सञ्चालन गर्ने यहाँका गाउँपालिका र नगरपालिकाले मनस्थिती बनाइसकेका छन्। गाउँपालिका र नगरपालिकाले सम्बद्ध सरोकारवालासँग यसबारे छलफल चलाइरहेका छन्। नेपालगन्ज उपमहानगरपालिकाले केहीदिन अघि शिक्षा क्षेत्रका सरोकारवालासँग छलफल गरिसकेको छ। उक्त छलफलमा नेपालगन्जमा कोरोना महामारी अझै कायमै रहेको र दैनिक रुपमा २÷३ जनाले ज्यान गुमाइरहेकाले यस्तो अवस्थामा विद्यालय खोल्न नहुने धेरैको सुझाव थियो।  

कोरोना महामारीको जोखिम कम रहेको गाउँपालिकाले पनि विद्यालय खोल्ने विषयमा अभिभावक तथा सरोकारवालासँग छलफल गर्न थालेका छन्। राप्तीसोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले मन्त्रालयको निर्देशिकालाई टेकेर विद्यालय सञ्चालन गर्नेबारे छलफल चलाउने तयारी भइरहेको बताए। ‘गाउँपालिकाको शिक्षा समितिको बैठक आइतबार बोलाइएको छ, त्यो बैठकमा विद्यालय खोल्नेबारे छलफल होला,’ उनले भने ‘त्यसपछि अर्कोदिन शिक्षासँग सरोकार राख्ने व्यक्तिसँग छलफल गरेर ठोस निर्णयमा पुग्छौं।’  

नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव भने मन्त्रालयले स्वीकृत गरेको निर्देशिका र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्दा समस्या नहुने बताउँछन्। ‘कोरोना महामारी त अझै हटेको छैन, तर सरकारले जारी गरेको निर्देशिका र पर्याप्त मात्रामा स्वास्थ्य मापदण्ड पालना गरेर खोलियो भने समस्या नआउँला,’ उनले भने। कतिपय जिल्लामा विद्यालय सञ्चालन गरे लगत्तै बिद्यार्थीमा कोरोना संक्रमण देखिएको औल्याउँदै यादवले कोरोना संक्रमणको अवस्था हेरेर मात्र सम्बन्धित स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: ६ मंसिर २०७७ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App