६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन्। 

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिए। 

उनका अनुसार परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ सहभागी हुनेछन् भने सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ चारवटा मात्र परीक्षा केन्द्र छन्। त्यस्तै दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। 

उनका अनुसार जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन्। सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ।  

प्रकाशित: ६ चैत्र २०८२ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App