६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यालयस्तरमा अब दुई धारे पाठ्यक्रम

रुबी रौनियार, काठमाडौं, माघ १० - दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित आगामी शैक्षिक सत्रदेखि विद्यालयस्तरमा प्राविधिक तथा व्यावसायिक र साधारण गरी दुईधारे पाठ्यक्रम लागू गर्ने भएको छ। पाँच महिनाअघि मन्त्रिस्तरीय निर्णयबाट पास भएको नयाँ पाठ्यक्रम संरचना अगामी शैक्षिक सत्रदेखि कक्षा ९ मा परीक्षणको रूपमा लागू गरिने शिक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेका अनुसार आगामी शैक्षिक सत्रदेखि ७५ जिल्लाका एक-एक विद्यालय र अन्य २५ गरी सय सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा धार लागू हुने छ। विद्यार्थीलाई स्कुल तहदेखि नै यही संरचना अर्न्तगतका पाठ्यक्रम पढाइने छ। २०७१ सालदेखि यो पाठ्यक्रम देशभर लागू गरिने मन्त्रालयले जनाएको छ।
विद्यार्थीलाई स्कुल तहदेखि नै कम्तीमा स्वरोजगार, सीपयुक्त र दक्ष बनाउने उद्देश्यले सरकारले माध्यामिक तहदेखि नै दुईधारे पाठ्यक्रम लागू गर्न लागेको सहप्रवक्ता पाण्डेले बताए। ‘साधारण धारतर्फ पाठ्यक्रम बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रले र प्राविधिकतर्फ सिटिइभिटीले पाएको छ,' उनले भने, ‘स्कुल छान्ने काम शिक्षा विभागले सुरु गरिसकेको छ।'
मन्त्रालयले दुई साताअघि मात्र प्राविधिक शिक्षा पठनपाठन गराउन चाहने विद्यालयमा दुई सय प्रशिक्षक र दुई सय सहायक प्रशिक्षकको दरबन्दी मागसहित अर्थ मन्त्रालयमा प्रस्तावसमेत पठाइसकेको छ। ‘सय विद्यालयमा परीक्षणका रूपमा लागु गर्न चार सय शिक्षक दरबन्दी आवश्यक भएकाले अर्थसँग माग गरेका छौं,' सहप्रवक्ता पाण्डेले भने, ‘यसबारे अर्थ र शिक्षा मन्त्रालयसँग पहिलो चरणको छलफल भइसकेको छ। अर्थबाट सकारात्मक जवाफ पाएको उनले जनाए।
शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेेले ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयले ७५ वटै स्कुल छानेर क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाइसकेको र बाँकी विद्यालय पनि भौगोलिक अवस्था, जनसंख्या र स्थानीय आवश्यकता अनुसार छनौट गरिरहेको जनाएका छन्। ‘देश सुहाउँदो र दक्ष जनशक्ति उत्पादन गर्न स्कुल तहदेखि नै प्राविधिक शिक्षा लागू गर्ने नीति अघि सारेको हो,' निर्देशक पाण्डेले भने, ‘प्राविधि शिक्षाले कम्तीमा दक्ष र स्वरोजगारमूलक जनशक्ति उत्पादन गर्ने छ।'
नयाँ संरचनामा साधारण पाठ्यक्रमतर्फ समय सान्दर्भिक नयाँ विषयवस्तु थपिएका छन्। पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईका अनुसार केन्द्रले साधारणतर्फ अनिवार्य ६ विषय र ऐच्छिक पाँच विषयमा काम गरिरहेको छ। नेपाली, अंग्रेजी, गणित, सामाजिक, स्वास्थ्य र जनसंख्या तथा वातावरण गरी दुवै धारमा ६ अनिवार्य र दुई ऐच्छिक गरी आठ सय पूर्णांकको विषय पढ्नुपर्नेछ। पाँच ऐच्छिक विषयमा स्वास्थ्य, शारीरिक, पत्रकारिता, विज्ञान र भोजपुरी विषयमा केन्द्रले पाठ्यक्रम बनाइरहेको भट्टराईले जनाए।
‘आगामी शैक्षिक सत्रदेखि परीक्षणका रूपमा लागू गरिए पनि चार वर्षभित्र कक्षा १२ सम्मै सबै विद्यालयमा लागू गर्ने तयारी छ,' प्रवक्ता भट्टराईले भने, ‘कक्षा आठसम्म साधारण शिक्षा नै पढे पनि कक्षा ९ देखि प्राविधिक तथा व्यावसायिक र साधारण गरी विद्यार्थीले दुई धारमध्ये एक छान्न सक्छन्।'
प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ पाठ्यक्रम निमार्णदेखि परीक्षा सञ्चालन, अनुगमन, नतिजा प्रकाशन र प्रमाणपत्र वितरणसम्मको जिम्मा पाएको सिटिइभिटीका पाठ्यक्रम विकास महाशाखा निर्देशक चन्द्रभक्त नकर्मीले पाठ्यक्रम तयारी अन्तिम चरणमा पुगेको
उनका अनुसार प्राविधिकतर्फ पनि पाँच विषयको पाठ्यक्रमको तयारी भइरहेको छ। ‘महाशाखाले विज्ञहरूको सहयोगमा बनाइरहेको कृषितर्फ बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक र कम्प्युटर विज्ञानको पाठ्यक्रम अन्तिम चरणमा पुगेको छ,' उनले भने, ‘फागुन १५ सम्म सबै पूरा हुन्छ।'
हाल साधारण तथा संस्कृत र धार्मिक (वेदविद्या, मदरसा र गुम्बा) धारका पाठ्यक्रम संरचनाबाट माध्यामिक तहका विद्यार्थीले शिक्षा पाइरहेका छन्। धार्मिक शिक्षा गुरुकुल, मदरसा र गुम्बामा कक्षा १-१२ सम्म धार्मिक धारकै पाठ्यक्रम यथावत रहे पनि साधारण शिक्षा हासिल गरिरहेका विद्यार्थीले कक्षा ९ देखि प्राविधिक र साधारण गरी दुईधारे शिक्षा हासिल गर्न सक्छन्।
‘विद्यार्थीलाई माध्यामिक तहदेखि नै स्वरोजगार बनाउन र विद्यालय तहदेखि नै दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षामा जोड दिइएको हो,' प्रवक्ता भट्टराईले भने।
कक्षा १० मा विद्यार्थीले चाहे स्कुलमै ब्रिजकोर्स गरेर धार हेरफेर गर्न सक्नेसमेत व्यवस्था नयाँ पाठ्यक्रम संरचनामा छ। प्राविधिक धारको शिक्षा बढी प्राक्टिकल, सीपमूलक, रोजगारमूलक र क्षमता विकासमा आधारित हुने छ।

प्रकाशित: ९ माघ २०६९ २२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App