१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

लफ्याङमा ‘घर शिक्षा’ अभियान

घरैमा अध्ययन गरिरहेका श्रीमाबि बासबोटेका विद्यार्थी । तस्बिर सौजन्य : गोपाल श्रेष्ठ

कोरोना भाइरसको महामारीका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘घर शिक्षा’ अभियान सुरु गरिएको छ। कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध शैक्षिक सिकाइलाई सुचारु गराउने विकल्पको रुपमा श्रीमाबि बासबोटे लफ्याङले ‘घर शिक्षा’ अभियान अघि सारेको हो।  

प्रत्येक विद्यार्थीको घरमा पुग्ने, अभिभावकलाई भेट्ने र रुटिन बनाएर विद्यार्थीलाई घरैमा अध्ययन गर्ने वातावरण निर्माणका लागि घरदैलो अभियान थालिएको श्रीमाबि बासबोटेका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले बताए। अभिभावकलाई भेट्ने र रुटिन बनाएर अनिवार्य विद्यार्थीलाई घरैमा अध्ययन गर्ने वातावरण बनाउन मंगलबारदेखि व्यवस्थापन समिति र शिक्षकको दुई/दुई जनाको टोली गाउँ–गाउँमा परिचालन गरिएको छ।  

घरदैलो अभियानकाक्रममा विव्यास र शिक्षकको टोलीले विद्यार्थीका लागि घरैमा अध्ययन गर्ने रुटिन बनाउन सहयोग र सहजीकरण गरिरहेको छ। बनाइएको रुटिन अनुुसार विद्यार्थीले घरैमा अध्ययन गर्ने र त्यसको विवरण नोटकापीमा उल्लेख गर्नुपर्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए। ‘विद्यालय खोल्ने अवस्था छैन। यही अवस्था रहे शिक्षण सिकाई डामाडोलको स्थितिमा पुग्ने खतरा छ,’ विव्यास अध्यक्ष राईले भने, ‘त्यही भएर अभिभावक र विद्यार्थीलाई भेटेर रुटिन बनाइदिने, त्यही रुटिनका आधारमा विद्यार्थीलाई लेखपढ गर्न लगाउनका लागि घर शिक्षा अभियान थालिएको हो।’  

विद्यार्थीले हरेक विषयका लागि दैनिक कम्तीमा आधा–आधा घण्टाको रुटिन बनाएर पढ्नुपर्ने, पढेको विषय, अध्ययन गरेको पाठ, अध्ययन गरेको मितिलाई कापीमा उल्लेख गरेर चेकजाँचका लागि विद्यालयले मागेको समयमा उपलव्ध गराउनुपर्ने व्यवस्थापन समितिले जनाएको छ। घर शिक्षाकाक्रममा विद्यार्थीले ‘नजाने/नबुझेको’ विषयमा दाईदिदि, बाबुआमा वा छरछिमेकका अग्रजबाट सहयोग लिने छन्। घरैमा अध्ययन गरिरहेको अवस्थामा विद्यार्थीले नजानेको विषयमा शिक्षक वा जान्ने व्यक्तिलाई फोनमार्फत पनि सोध्न सक्ने अध्यक्ष राईले बताए।  

घर शिक्षा सञ्चालनका लागि व्यवस्थापन समिति र शिक्षकको टोली कतिपय अभिभावकको मेलापातमा पुगेर परामर्श गरिरहेका छन्। घरदैलो अभियान शुक्रबारसम्म जारी रहने विद्यालयले जनाएको छ। २०१७ सालमा स्थापना गरिएको विद्यालयमा हाल कक्षा १२ सम्मको पठन–पाठन हुँदै आएको छ।  

कोरोना भाइरसको महामारीकाबीचमा पनि अवरुद्ध शैक्षिक सिकाइलाई सञ्चालन गर्ने उपयुक्त विधिको खोजीका लागि पञ्च माबि दिक्तेलले नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको केही समयपछि श्रीमाबि बासबोटेले घर शिक्षा कार्यक्रम अघि बढाएको हो।

प्रकाशित: १८ भाद्र २०७७ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App