१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

काठमाडौंका विद्यालयलाई जिपिए मोह, १००७ मध्ये ४८१ विद्यालयको जिपिए ४

विगतमा काठमाडौं जिल्लाका एकाध विद्यालयका केहि विद्यार्थीले जिपिए ४ ल्याउने गरेका भए पनि यस पटक यहाँबाट जिपिए ४ ल्याउने विद्यालय र विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। यो बढ्नुको कारण विद्यालय र विद्यार्थीको गुणस्तर राम्रो भएर मात्र होइन काठमाडौं जिल्लामा भएका ठूला विद्यालयहरुले आफ्नो नतिजा राम्रो देखाउन मनपरी दिएको नम्बरको परिणाम पनि हो।  

किन भने काठमाडौं जिल्लाका निजी विद्यालयहरुले काठमाडौं जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा यस अघि विद्यार्थी मूल्याँकनको नम्बर पूर्णाक भन्दा बढी पठाएका थिए। जसका कारण इकाई प्रमुख नन्दलाल पौडेलले त्यस्ता स्कुलहरुलाई नम्बर सच्याउन निर्देशन दिएका थिए।  

इकाईले उपलब्ध गराएको  तथ्याँक अनुसार यस पटक देशभरिका कुल ४ लाख ७२ हजार ७८ विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाएकामध्ये काठमाडौं जिल्लका सबै भन्दा बढी विद्यालय र विद्यार्थी रहेका थिए। यस वर्ष यो जिल्लाबाट कुल एक हजार ७ विद्यालयका ३५ हजार ६ सय ६३ ले एसइई परीक्षामा सहभागिता जनाएका थिए। जसमा १६५ सामुदायिक, ८ सय १५ संस्थागत र वैकल्पिक तथा धार्मिक धारका २७ विद्यालयको सहभागिता रहेको थियो।

‘यस पटक काठमाडौं जिल्लाका ४८१ विद्यालयले जिपिए ४ प्राप्त गरेका छन्,’ इकाई प्रमुख पौडेलले नागरिकसँग भने ‘कुल १५५४ विद्यार्थीले जिपिए ४ प्राप्त गरेका छन्। गत वर्ष ५२ विद्यार्थीले मात्र जिपिए ४ ल्याएका थिए।’उनले थपे ‘सबै विद्यार्थीलाई जिपिए ४ दिने विद्यालय २ र एक बाहेक सबैलाई ४ जिपिए दिने विद्यालय पनि दुइ वटा छन्।’ उनले थपे ‘नतिजा बढ्नुको कारण विद्यालयहरुले स्कुल प्रयोजनकोलागि लिएको आन्तिकरिक मूल्याँकनको नतिजालाई सय मानेर पठाएका छन्। कतिपयले कोर्स पुरा नगरी पनि लिएको मूल्याँकनको नतिजा छ। संक्रमणकालको नतिजा हो। विगतमा ४ जिपिए नल्याएकाले पनि यस पालि जिपिए ४ ल्याएका छन्।’ उनले काठमाडौं जिल्लाको औसत उपलब्धी ३.४३ रहेको उनले जनाए। उनका अनुसार अघिल्लो वर्ष जिपिए ४ ल्याउने विद्यालयमध्ये यस वर्ष ४ जिपिए नल्याउन विद्यालय भने ५ वटा रहेका छन्। इभरग्रिन साँखु, मेडेल स्कुल थानकोट, एडभान्स स्कुल कालोपुल, चिल्ड्रेन इटर्नल नयाँबजार र उत्तरवाहिनी गोकर्णेश्वर रहेको छ। यस वर्ष काठमाडौं जिल्लाका ३१ सामुदायिक विद्यालयका ९० विद्यार्थीले जिपिए ४ ल्याउन सफल भएका छन् भने निजी तर्फ चार सय ५० विद्यालयका एक हजार चार सय ६४ विद्यार्थीले जिपिए चार ल्याएका छन्।  

सबै विद्यार्थीलाई जिपिए चार दिने विद्यालय मदनभण्डारी  मेरोरियल बौद्ध र सफलता एचआइभी शिक्षा सदन किर्तिपुर रहेको छ। एक जना बाहेक सबैलाई ४ जिपिए दिने विद्यालय सांकारी स्कुल छाउनी र जेनिथ इन्टरनेशनल स्कुल कपन रहेकाको इकाईले जनाएको छ।  

विद्यालयहरुले आधाअधुरा कोर्ष पढाएर लिएको आन्तिक मूल्याँकनको नतिजा सय प्रतिशत मानेर बोर्डलाई पठाएका थिए। बोर्डलाई विश्वास नलागेकै कारण नतिजाको विगतको झै यो वर्ष विश्लेषण समेत हुन नसकेको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए। नियन्त्रक खकुरेका अनुसार नतिजा हेर्दा विद्यालयले थरिथरि मूल्याँकन गरेर पठाएका रहेछन्। एकरुपता नभएकोले विश्वास गर्न नसकेको जनाए।

‘विद्यालयहरुको नतिजा हेर्दा ३०,४०,५०,६०, ७० र ८० प्रतिशत कोर्ष मात्र पुरा भएको आन्तरिक मूल्याँकन गरेका रहेछन् ,’ परीक्षा नियन्त्रक खकुरेलले नागरिकसँग भने‘ हालको एसइई नतिजा पुरा कोर्ष पढाएर आएको होइन। स्कुलहरुको जुन मूल्याँकनको नतिजा राम्रो थियो त्यही पठाएका थिए।’ उनले थपे ‘बोर्डले पनि मन्त्रिपरिषदको निर्णय अनुसार उक्त नतिजालाई प्रमाणीकरण गरी नतिजा प्रकाशित मात्र गरेको हो। नतिजामाथि बोर्डलाई विश्वास नभएकै कारण यो वर्ष विश्लेषणनै गरिएन।’ यो वर्षको एसइई राष्ट्रिय परीक्षा नभएको पनि उनले स्पष्ट पारे। यस्तो नतिजाका कारण अब एसइई स्कुललाई जिम्मेवारी दिन समेत अध्ययन गरीनु पर्ने उनको ठहर छ।‘बोर्डले विज्ञको टोली बनाएर नतिजा विश्लेषण गर्ने कार्य सुरु गरेको छ,’नियन्त्रक खकुरेलले भने‘कक्षा १०को परीक्षा स्तरीय बनाउने बारे अब निर्णय हुनु पर्छ।’

बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले कोभिड–१९का कारण विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन नतिजाले बाटो खोलिदिएको बताए। उनले पनि यो वर्षको एसइई राष्ट्रिय परीक्षा नभएकोले नतिजा विश्लेषण नगरिएको जिकिर गरे।‘१० हजार विद्यालयहरुकै नतिजा फरक फरक थियो,’ अध्यक्ष पौडेलले भने‘दश हजार विद्यालयका दश हजारनै बोर्ड थिए। एकरुपतानै भएन। हामीले परीक्षाको प्रणाली सुधार तर्फ जानु पर्छ।’ यस वर्ष १० हजार ४ सय १९ माध्यमिक विद्यालयका ४ लाख ७२ हजार ७८ विद्यार्थीको नतिजालाई बोर्डले प्रमाणीकरण गरेकोमा जिपिए ४ ल्याएनेको सँख्या हवात्तै बढेको छ।

यो वर्ष नतिजा बृद्धि हुनुको मुख्य कारण शिक्षकहरुले पेसाप्रति गरेको वेइमानी भएको शिक्षाविद् टंकनाथ शर्माको दाबी छ। शर्माका अनुसार शिक्षकले स्कुलाई राम्रो देखउन विद्यार्थीको भविष्यसँग खेलवाड गरेको नतिजाले देखाएको छ।

‘०७२ सालदेखि बोर्डले एसइई संचालन गरिरहेको छ। जिपिए ४ ल्याउने पोहोरसम्म सय पुगेको थियो ,’शिक्षाविद् शार्मले औल्याए ‘विद्यालयले मूल्याँकन गर्दा ४ जिपिए हजारमा पुग्यो। त्यही शिक्षकले बोर्डले परीक्षा संचालन गर्दा बढी नम्बर नदिने अनि स्कुललाई जिम्मेवारी दिँदा मनपरी नम्बर दिएका छन्।’उनले थपे ‘यस वर्षको नतिजा जथाभावी हुनुको कारण शिक्षक पेसा प्रति वेइमान भएर हो, विद्यार्थीले राम्रो गरेका भने होइनन्। यसले शिक्षकमाथि नै नैतिकताको प्रश्न खडा गरिदियो।’

कोभिड–१९को कारण यस वर्ष सरकारले एसइई परीक्षा संचालन गर्न नसकेर परीक्षाको सम्पूर्ण जिम्मेवारी स्कुललाईनै दिएको थियो।

शिक्षाविद् विद्यानाथ कोइराला यस वर्षको कक्षा १० को परीक्षा बोर्डले संचालन नगरेकोले एसइई परीक्षा भन्न नसकिने ठहर गरे। ‘हालको कक्षा १० को परीक्षा एसइई हो र?  उनले प्रश्न गरे ‘हालको नतिजा बढ्नुको कारण अभिभावको दबाब र शिक्षकले स्कुल राम्रो देखाउन दिएको मनपरी  नम्बर हो।

‘शिक्षाविद् कोइरालाले थपे ‘विद्यार्थीको क्षमता यो परीक्षाले जाँच्दैन। त्यही भएर कक्षा ११ मा प्रवेशकोलागि अब स्कुलहरुले कमप्रेहेन्सीव परीक्षाको ब्यवस्था गर्नु पर्छ।’

 

 

 

प्रकाशित: ८ भाद्र २०७७ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App