८ वैशाख २०८१ शनिबार
शिक्षा

टोल–टोलमा शिक्षक खटाएर पठन–पाठन

दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा व्यक्तिको घरमा पठन–पाठन गराउँदै कृष्ण माबिका शिक्षक । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध विद्यालयको पठन–पाठन सुचारु गराएको छ । लकडाउनका कारण शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले ७ वडाका टोल–टोलमा २७६ शिक्षक/शिक्षिकालाई पहिचालन गरेर बुधबारदेखि पठन–पाठन सुचारु गराएको हो ।  

असार मसान्त बित्दा समेत कोभिड–१९ को असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले गाउँपालिकाले सामाजिक दूरी कायम गरेर पठन–पाठनलाई सुचारु गराएको जनाएको छ । कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । टोलमा पुग्ने शिक्षक÷शिक्षिका तथा विद्यार्थीका लागि मास्क, ग्लोव्स र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । 

शैक्षिक–सत्र सुरु भएको तीन महिना बितेपछि गाउँपालिकाले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाउने बिकल्प छानेको हो । टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा विद्यार्थीलाई भेला गरेर आफ्नो विषयको पठन–पाठन गराउने व्यवस्था मिलाइएको छ । खटिएका शिक्षकले पायक पर्ने विद्यालय, आमा समूह, सचेतना केन्द्रको भवन, व्यक्तिकै घर, पाटी लगायतका ठाउँमा भेला भएका विद्यार्थीलाई पढाउने छन्, होमवर्क दिने छन् र मूल्यांकन गर्ने छन् । एक टोलको फरक–फरक स्थानमा दैनिक कक्षा १ देखि कक्षा १० सम्मका एक/एक विषयको मात्र पठन–पाठनको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् । कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो । शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यस पटकको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प रह्यो । 

हालसम्म सिकाइ उपलब्धी शून्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्य हुने अवस्था पनि देखिन्न । महामारी रहिरह्यो भन्दैमा सिकाइ उपलब्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दूरी कायम गरेर पठन–पाठन सुचारु गरिएको हो ।’  

पठन–पाठनका आ–आफ्नै तयारी
यस्तै ऐसेलुखर्क गाउँपालिकाले आगामी साउन १२ गतेदेखि बैकल्पिक माध्यमबाट पठन–पाठन सुचारु गराउने तयारी गरेको छ । साउन ४ गतेको निर्णय अनुसार गाउँपालिकाले विद्यालय बाहिर रहेका शिक्षक तथा कर्मचारीलाई अनिवार्य पिसिआर परीक्षण गरेर साउन ११ गतेभित्र विद्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले कोरोनाको महामारीकाबीचमा चालु शैक्षिक–सत्रको अवधि लम्ब्याउने वा रद्ध गर्ने, पाठ्यक्रम छोट्याउने लगायतका विकल्पका विषयमा सुझाव संकलन गरिरहेको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पनि साउन २२ गतेदेखि टोल शिक्षा सञ्चालन गर्ने निर्णय गरिसकिएको वडाध्यक्ष निर्मल राईले बताए ।

प्रकाशित: ७ श्रावण २०७७ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App