१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

घरघरमै पुगेर पाठ्यपुस्तक वितरण

घोराही उपमहानगरपालिका–१० स्थित सिद्धरत्ननाथ माविमा विद्यार्थी तथा अभिभावकलाई पुस्तक वितरण गरिँदै। तस्बिर: नागरिक

कोरोना भाइरस संक्रमणको त्रास उस्तै छ। चैत ११ गतेदेखि जारी लकडाउन असार १ गतेदेखि केहि खुकुलो भएपनि शिक्षा क्षेत्र भने अहिलेसम्म ठप्पै छ। शिक्षासँग सरोकार राख्ने निकायहरू भन्छन् ‘यथावस्थामा विद्यालय खोल्न सक्ने अवस्था छैन।’ चैतदेखि घरमा बस्दै आएका बालबालिकाहरू नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म पनि विद्यालय पुग्न सकेका छैनन्। तर उनीहरूलाई शैक्षिक क्रियाकलापमा सहभागी गराउनका लागि अनौपचारिक शैक्षिक गतिविधि जिल्लामा बढाइएको छ।  

सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिरहेका छन् भने नीजि विद्यालयले पनि शिक्षणको नयाँ वैकल्पिक माध्यबाट अप्रत्यक्ष अध्ययनको नीति अबलम्न गरिरहेको बताएका छन्। सामुदायिक विद्यालयले विद्यार्थीलाई पुस्तक वितरण गर्नका लागि सार्वजनिक रूपमै सूचना आह्वान गरेर आमन्त्रण गरिरहेका छन्। सम्बन्धित स्थानीय तह मार्फत् विद्यालयलाई पाठ्यपुस्तक वितरणका लागि आह्वान गर्न निदेर्शन दिइएको स्थानीय तहका प्रमुखको भनाइ छ।  

‘लामो समयदेखि विद्यालयदेखि टाढा रहेका बालबालिकालाई पठनपाठनमा अप्रत्यक्ष रूपमा भएपनि सहभागी गराउने उद्धेश्यले पुस्तक वितरणको अभियान सुरु गरिएको हो,’ घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख विनोद गौतमले भने ‘पठनपाठनको अभावमा उनीहरूमा मानसिक समस्या आउन सक्ने खतरालाई पनि रोक्ने हाम्रो अर्को उद्धेश्य हो।’ लामो समयदेखिको लकडाउन, कोरोना त्रास अनि विद्यालय जान नपाउनुले विद्यार्थीहरूमा नकारात्मक सोचको विकास हुने र यसले मानसिक रूपमा समस्या पार्ने खतरालाई रोक्नका लागि किताव वितरण गर्न सुरु गरिएको उनको भनाइ छ। ‘अहिलेसम्म त मानसिक रूपमा विद्यार्थीहरू समस्या देखिएको छैन,’ गौतमले भने ‘तर उनीहरूमा यस्तो समस्या आउने खतरा भने उच्च रहन्छ, पाठ्यपुस्तक पाए भने पढाइप्रति बालबालिकाको ध्यान जान्छ।’

यस्तै जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्नो क्षेत्रमा रहेका विद्यालयलाई पाठ्यपुस्तक वितरणका लागि निर्देशन दिएको छ। उक्त निर्देशनअनुसार सबै विद्यालयले पाठ्यपुस्तक वितरणको कार्यलाई अभियानकै रूपमा सञ्चालन गरेका छन्। ‘अहिलेको अवस्थामा विद्यालय खोलेर पठनपाठन सुरु गर्ने सम्भावना देखिन्न,’ तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख भाष्करराज गौतमले भने ‘तर बालबालिकाले घरमै बसेर पढ्ने वातावरण निर्माण गर्नका लागि उनीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको हो।’ विद्यालय आउन नसकेका बालबालिकालाई घरमै पुगेर पनि पाठ्यपुस्तक वितरण गर्दै आएका बताइएको छ।  

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सञ्चालन गरिएका छन्। त्यसैले बालबालिकालाई विद्यालयमा नभई अन्यत्रै सुरक्षित स्थानमा बोलाएर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयहरूले जनाएका छन्। किताव प्राप्त गरेका विद्यार्थीसँग शिक्षकहरू अप्रत्यक्ष रूपमा जोडिएर शिक्षण क्रियाकलाप सुरु गरेको बताइएको छ। शिक्षकले टेलिफोन वा इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई सिकाउने गरेको घोराही १० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेले बताए।

प्रकाशित: ३१ असार २०७७ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App