११ मंसिर २०८१ मंगलबार
image/svg+xml
शिक्षा

शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्न विज्ञहरुको सुझाव

कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा शनिबार आयोजना गरेको एक वेबिनारमा नेपाल, थाइल्याण्ड र नर्वेका प्राविधिक तथा गैर–प्राविधिक प्राज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कोभिड–१९ का कारण उच्च शिक्षामा पुगेको बाधालाई हटाएर यसलाई निरन्तरता दिन यसरी भर्चुअल शिक्षामार्फत् सीप विकास गर्ने र हालको केन्द्रिकृत परीक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने सुझाव आएको हो।  

वरिष्ठ शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका पूर्व डीन मनप्रसाद वाग्लेले कोभिड–१९ पछि उच्च शिक्षाको अवस्था चित्रण गर्दै सबै संस्थाबीच समन्वय आवश्यक भएको बताए। यस महामारीपछि उच्च शिक्षाको रोडम्याप तयार गर्न उनले सबैलाई आह्वान गरे। कल्प एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्कीले उच्च शिक्षाका सबै सरोकारवालालाई एकै ठाउँ ल्याएर उच्च शिक्षा र शैक्षिक संस्थालाई महामारीपछि पनि कसरी दीगो बनाउने भन्नेमा जोड दिनुपर्ने औँल्याए। संयुक्त राष्ट्रसंघ दीगो विकास समाधान सञ्जाल तथा दीगो विकास एकेडेमीको सहयोग रहेको उक्त कार्यक्रममा देश–विदेशबाट विभिन्न सङ्कायका ११७ भन्दा बढी सहभागी थिए। नास्टका प्राज्ञ तथा प्रस्तावित मदन भण्डारी विज्ञान–प्रविधि विश्वविद्यालयका प्राध्यापक डा. रमेश कुमार मास्केले इन्जिनियरिङ र प्राविधिक विषयमा अनलाइन शिक्षाको चुनौती औँल्याए। उनले डिजिटल विभेदका कारण कसरी उच्च शिक्षामा ज्ञान, सीप र विचारमा फरक आउने जनाए। काठमाडौँ विश्वविद्यालयका डा. मनिष पोखरेलले उच्च शिक्षाका सबै सरोकारवालालाई एक ठाउँमा ल्याई महामारीपछिका लागि नयाँ शिक्षण शैली विकास गर्नुपर्ने बताए। अनलाइन शिक्षणलाई पुरानो शैलीको शिक्षणलाई निरन्तरता दिनेजस्तो नगरी शिक्षण शैली एवं पाठ्यक्रम मिलाउनुपर्ने उनले बताए। उच्च शिक्षाका लागि दूरदर्शी नेतृत्वको आवश्यकता उनले औँल्याए।

मिडिया प्राध्यापक रामकृष्ण रेग्मीले कार्यक्रममा यस्ता छलफलले उच्च शिक्षाका सरोकारवालालाई भविष्यका यस्तै बाधाविरुद्ध सुदृढ बनाउने र ‘न्यु–नर्मल’ अवस्थाको परिष्कृत शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिए।  

 

प्रकाशित: २५ जेष्ठ २०७७ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App