२५ फाल्गुन २०७७ मंगलबार
शिक्षा

खोटाङका २७ विद्यार्थी एसइई दिन अयोग्य

दिक्तेल बोर्डिङ स्कुल परीक्षा केन्द्रबाट प्रवेशपत्र बुझ्दै एसइईका परीक्षार्थी । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङका २७ विद्यार्थीले एसइई परीक्षा दिन नपाउने भएका छन्। रेगुलरतर्फ वर्षभर विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्र/छात्रा एसइई परीक्षा दिन नपाउने भएका हुन्।

भर्ना भए पनि नियमित कक्षामा उपस्थित नभएको, परीक्षा फर्म नभरेको र राजस्व नबुझाएको आधारमा उनीहरुलाई एसइई परीक्षा दिनका लागि अयोग्य ठहरिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए। एसइई दिन नपाउने यो संख्या गत वर्षको भन्दा १३ ले बढि हो। गत वर्ष १४ विद्यार्थी एसइईका लागि अयोग्य ठहरिएको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ।

कक्षामा नियमित उपस्थित नभएको र पठन–पाठनमा संलग्न नरहेको हाजिरी रेकर्ड लगायतका आधारमा उनीहरुलाई परीक्षाका लागि अयोग्य ठहराइएको हो। जेठमा फर्म भरेका तर माघ मसान्तसम्ममा राजस्व बुझाउन नआएका विद्यार्थीको संख्यालाई परीक्षामा सहभागिताका लागि अयोग्य मान्ने गरिएको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ।

जिल्लामा एसइई दिन नपाउने विद्यार्थीको संख्या वर्षेनी घटबढ भइरहेको पाइएको छ। विद्यालयका प्रधानाध्यपकले ‘अयोग्य’ उल्लेख गरेर पठाएको सिफारिसका आधारमा उनीहरुलाई परीक्षामा सामेल नगराउने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गौतमले बताए। शैक्षिक वर्षको जेठमा फर्म भरेका कतिपय विद्यार्थीले विवाह गर्दा, विदेश जाँदा वा अन्य कारणले विद्यालय छुटाउने गरेका छन्। जेठमा फर्म भरेका तर माघ मसान्तभित्रमा राजस्व बुझाउन नआउने विद्यार्थीलाई उपस्थिति प्रतिशत नपुगेको उल्लेख गरेर अयोग्य ठहराउने गरिएको जनाइएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा रेगुलरतर्फ ३ हजार ४८९ जना र एक्जाम्टेडतर्फ १९५ जना गरी कुल ३ हजार ६८४ विद्यार्थी एसइई परीक्षामा सामेल हुँदैछन्। रेगुलरतर्फका कुल विद्यार्थीमध्ये पञ्च मावि दिक्तेलका १७ जना र सिमपानी माविका ४७ विद्यार्थीले प्राविधिकधार तर्फका एसइई परीक्षा दिने कार्यालयले जनाएको छ। यस्तै, ग्रेड वृद्धि तर्फ १९५ जना परीक्षामा सहभागी हुने छन्।

एसइई परीक्षाका लागि खोटाङमा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको छ। जिल्लामा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ।

 

प्रकाशित: ५ चैत्र २०७६ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App