७ वैशाख २०८१ शुक्रबार
शिक्षा

उपकुलपति नियुक्ति अलमल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालय।

धरान – सरकारले दुई महिनाअघि प्रक्रिया अघि बढाए पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा नियुक्ति गर्न सकेको छैन। उपकुलपति नियुक्त नहुँदा प्रतिष्ठानमा गम्भीर असरहरू देखिन थालेको भन्दै चिकित्सक तथा कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्।

सरकारले दुई महिनाअघि नै सहकुलपति तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएर नियुक्ति प्रक्रिया अघि बढाएको थियो। यो समितिले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीनजनाको नाम सिफारिस गरेको पनि झन्डै तीन साता बितेको छ। तर, उपकुलपति नियुक्ति भएको छैन। समितिले उपकुलपतिका लागि कार्यवाहक उपकुलपति एवं रेक्टर प्राडा गुरु खनाल, प्रतिष्ठानकै मेडिसिन विभागप्रमुख प्राडा सञ्जीव शर्मा र विराट मेडिकल कलेजका प्राडा ज्ञानेन्द्र गिरीको नाम सिफारिस गरेको छ। तीनजनामध्ये एकलाई कुलपतिले नियुक्ति गर्नुपर्ने कानुनी प्रावधान छ।

गत असार २६ गते घुस लिएको ८ लाख रुपैयाँसहित तत्कालीन उपकुलपति प्राडा राजकुमार रौनियारलाई अख्तियारले पक्राउ गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसयता प्रतिष्ठान उपकुलपतिविहीन छ।

एउटै व्यक्ति तीनवटा पदमा

सरकारले रेक्टर डा. खनाललाई नै पछिल्लो समय कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको छ। प्रतिष्ठानका चार पदाधिकारीमध्ये उपकुलपति र रजिस्ट्रार पद पनि रिक्त छ। रेक्टर डा. खनालले कार्यवाहक उपकुलपति र रजिष्ट्रारको पनि अतिरिक्त जिम्मेवारी वहन गर्नु परिरहेको छ। एक व्यक्तिले तीन पदाधिकारीको जिम्मेवारी वहन गर्नुपर्दा प्रतिष्ठानको महत्वपूर्ण कामकारबाही र निर्णय प्रक्रियामा असर पुगिरहेको प्रतिष्ठानस्थित नर्सिङ प्राविधिक तथा प्रशासनिक समन्वय समितिका संयोजक महेश्वर राई बताउँछन्। ‘एउटै व्यक्ति रेक्टर, भिसी र रजिस्ट्रार हुँदा कामको बोझ हुन्छ। सबैको आआफ्नै काम, कर्तव्य र क्षेत्राधिकार छ,’ संयोजक राईले भने, ‘यसले प्रतिष्ठानलाई गम्भीर असर पारिरहेको छ, त्यसैले सरकारले भिसी मात्र होइन, रजिस्ट्रार पनि तत्काल नियुक्ति गर्नुपर्छ।’

प्रतिष्ठानमा रेक्टरलाई एकेडेमिक, रजिष्ट्रारलाई प्रशासनिक र अस्पताल निर्देशकलाई अस्पताल प्रशासनको जिम्मेवारी हुन्छ। चारजना पदाधिकारीबीच महत्वपूर्ण विषयमा गम्भीर छलफल गरेर निर्णय लिनुपर्ने हुन्छ भने पदाधिकारीहरूले रायसहित फाइल पेस गर्नुपर्ने हुन्छ। तर, अहिले एकजना पदाधिकारीले तीन जिम्मेवारी लिएर काम गर्नुपर्दा निर्णय प्रक्रियामा ढिलाइ हुन्छ। कार्यकारिणी समितिले पूर्णता पाएको छैन। नियमावलीमा भएको प्रावधानअुनसार चिकित्सक, कर्मचारीहरूको वृत्तिविकासमा पनि असर परेको छ भने प्रतिष्ठानको समग्र विकास अवरुद्ध भएको चिकित्सा तथा दन्तचिकित्सक शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोख्रेलले बताए। ‘आधिकारिक व्यक्ति को हो भन्ने अन्योलले गर्दा कसैले रिस्क लिन चाहँदैनन्। यसले प्रतिष्ठानको भौतिक, शैक्षिक, आर्थिक सबै हिसाबले विकास अवरुद्ध छ,’ डा. पोख्रेलले भने, ‘संस्था धराशायी हुने अवस्थामा पुग्यो। सरकारले बिपीको उद्धार गर्ने हो भने चाँडै नियुक्ति गर्नुपर्छ। जसले बिपीलाई बुझेको छ, उसलाई ल्याउनुपर्छ।’

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल पनि एउटा व्यक्तिले तीन पदाधिकारीको जिम्मेवारी सम्हाल्दा अप्ठ्यारो भएको स्वीकार गर्छन्। उनी पनि जतिसक्दो छिटो उपकुलपति नियुक्ति गर्न सरकारलाई आग्रह गर्छन्। ‘एउटा व्यक्ति भिसी, रेक्टर र रजिस्ट्रारको काम गर्नुपर्दा अप्ठ्यारो हुन्छ, ठूलो निर्णय लिन नि समस्या हुन्छ,’ डा. खनालले भने, ‘जति छिटो नियुक्ति भयो, त्यति सहज हुन्छ।’

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App