१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
शिक्षा

लुम्बिनी विश्वविद्यालय : ‘अन्य विषय’ले उब्जाएका प्रश्न

काठमाडौं- ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ गत चैत्र १ गते संसदमा दर्ता भयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दर्ता भएको उक्त विधेयक छलफलकै क्रममा छ।

विधेयकमा विभिन्न विश्वविद्यालयका ऐनलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ। दर्ता भएको विधेयकले निम्न विश्वविद्यालय ऐन परिवर्तन गर्न खोजेको छ–

–काठमाडौं विश्वविद्यालय ऐन, २०४८

–त्रिभुवन विश्वविद्यालय ऐन, २०४९

–विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०

–पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०

–पोखरा विश्वविद्यालय ऐन, २०५३

–सुदूरपश्चिमाञ्चलन विश्वविद्यालय ऐन, २०६७

–मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन,२०६७

–कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७

–नेपाल खुला विश्वविद्यालय ऐन, २०७३

–राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४

–लुम्बिनी बाैद्ध विश्वविद्यालय ऐन, २०६३

विधेयकको ९ नम्बर बुँदामा भनिएको छ– ‘लुम्बिनी बाैद्ध विश्वविद्यालय ऐन, २०६३ को दफा ३ को उपदफा (१) मा रहेको ‘वौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृत’ भन्ने शब्दहरुको सट्टा ‘वौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति र अन्य विषय’ लेखिएको छ।

लुम्विनी बौद्ध विश्वविद्यालय ऐन २०६३ को प्रस्तावनामै बाैद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृती अध्यापन गराइने उल्लेख गरिएको छ। गौतम बुद्धको उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शन सन्देशका रुपमा स्वीकार र अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भावना प्रवर्धन गर्न उल्लेखित विषयहरु अध्यापन गर्ने बताइएको छ।

यसरी हेर्दा, लुम्बिनी बाैद्ध विश्वविद्यालयमार्फत बौद्ध शिक्षाको ज्ञान दिने उद्देश्य रहेको प्रस्ट हुन्छ। 

प्रतिनिधिसभा घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको थियो।

अन्य शब्दले यो विधेयकमा अन्योल थपेको छ। अब यस विश्वविद्यालयले पनि अरु विश्वविद्यालयले जस्तै बाणीज्य, इन्जीनियरिङ, मेडिसिन जस्ता कोर्षहरु पढाउन पाउने छ। अरु ‘युनिभर्सिटी’ले पढाइरहेका विषयहरु लुम्बिनी बाैद्ध विश्वविद्यालयले पनि पढाउन पाउनुपर्छ भन्ने मनसायले कोर्षहरुको लिष्टमा ‘अन्य’ थपिएको हुन सक्ने अनुमान लगाइन्छ।

यही ऐनलाई संशोधन गर्न अहिले दर्ता गराइएको विधेयकमा बाैद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृतका साथै अन्य विषय भनेर पनि थपिएको छ। यो ‘अन्य विषय’ अन्तर्गत के–के पर्छ ? कतैपनि उल्लेख छैन।

यही विधेयक संसदबाट पास भएमा लुम्बिनी बाैद्ध विश्वविद्यालयले वौद्ध दर्शन, कला, साहित्य, शिक्षा, संस्कृत विषयमात्र हैन, अन्य थुप्रै विषय पढाउन पनि सक्नेछ। जुनसुकै विषय पढाउन पनि उसलाई कानुनले रोक्नेछैन। इन्जिनियरिङ पढाउन होस् या मेडिकल साइन्स पढाउन, स्वतन्त्र हुनेछ।

अन्य शब्दले यो विधेयकमा अन्योल थपेको छ। अब यस विश्वविद्यालयले पनि अरु विश्वविद्यालयले जस्तै वाणिज्य, इन्जिनियरिङ, मेडिसिन जस्ता कोर्षहरु पढाउन पाउने छ। अरु ‘युनिभर्सिटी’ले पढाइरहेका विषयहरु लुम्बिनी बाैद्ध विश्वविद्यालयले पनि पढाउन पाउनुपर्छ भन्ने मनसायले कोर्षहरुको लिष्टमा ‘अन्य’ थपिएको हुन सक्ने अनुमान लगाइन्छ।

यसअघि पनि लुम्बिनी बाैद्ध विश्वविद्यालयलाई इन्जिनियरिङ, कानुन पढाउन दिन भनेर छलफल नभएको हैन। तर, ऐनले रोकिदिएको थियो। २०६३ को ऐनमा विषयको नामै तोकेर खास–खास विषय मात्र पढाउने पाउने भनेर उल्लेख गरिएको थियो। ऐनको प्रस्तावनाले नै बाैद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृत मात्र पढाउन पाउने उल्लेख गरेको थियो।

लुम्बिनी बाैद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् त्रिरत्न मानन्धर भन्छन्– ‘सबै विषय पढाउन दिँदा त जुन उद्देश्य राखेर खडा गरिएको थियो त्यो त सकिने भयो। मेरो कार्यकाल सकिएपछि त्यहाँ इन्जिनियरिङलगायत विषय पढाउन खोजिएको थियो। अहिले ऐन नै संशोधन गरेर त्यतातिर लागेछन्।’

यही प्रक्रियाले नेपाललाई बुद्धिष्ट अध्ययन केन्द्रको हब बनाउने सपना पूरा नहुने बताउँछन्, मानन्धर।   

शिक्षामा काम गरिरहेका मार्टिन चौतारीका अनुसन्धानदाता देवेन्द्र उप्रेती भन्छन्– ‘अब यो विधेयक पास भयो भने बुद्धिजम, बुद्धिष्ट साहित्य क्रमस ‘माइनोरी’मा जानेछ। र, बजारमुखी विषयहरु अगाडि बढ्न थाल्छ।’

विधेयकले स्थापनाताकाको विश्वविद्यालयको उद्देश्यलाई नै पाखा लगाउने उप्रेतीको विश्लेषण छ। वुद्धिजम, वुद्धिष्ट फिलोसोफी, वुद्धिष्ट लिट्रेचर, लुम्बिनी ‘लोकेट’ गर्ने विषयहरु पढाउने विश्वविद्यालयको इन्ट्रेस्ट पूरा नहुने बताउँछन्, उनी।

‘अन्य’ नै राखेर विधेयक पारित हुँदा निजीकरण प्रबद्र्धन गर्ने विषयहरुको सम्बन्धन दिने बाटोतिर अघि बढिने उप्रेती बताउँछन्। भन्छन्, ‘हामी त फेरि निजी क्षेत्रलाई चलाउन दिने दिशातिर अघि बढ्ने भयौँ। ‘एक्ट’ पारित भएको छैन, यसमाथि पर्याप्त छलफल हुन जरुरी छ।’

लुम्बिनी बौद्ध विश्वविद्यालय अहिले बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको छ। पहिलो वुद्धिष्ट सम्मेलन–१९९१ ले लुम्बिनी विश्वविद्यालयको कल्पना गरेको थियो। अन्ततः १४ माघ २०६१ मा यस विश्वविद्यालयको स्थापना गरियो। विश्वविद्यालयमा विशेषत बुद्धिजमलाई नै केन्द्रमा राखेर अध्ययन अध्यापन गरिँदै आएको छ। अहिले यहाँ बुद्धिजमको तीन वर्षे डिप्लोमा कोर्सका साथै एमए र पीएचडी कार्यक्रम पनि छ। बुद्धिष्ट फिलोसफी, साहित्य र संस्कृति यस विश्वविद्यालयका आकर्षण हुन्।

 

 

प्रकाशित: १२ चैत्र २०७५ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App