काठमाडौं - गत साता युनेस्केकोले आयोजना गरेको यौन शिक्षाबारेको गोष्ठिमा एक सहभागीले विज्ञ डा. खेम कार्कीलाई सोधे, ‘मेरो छोरीले मलाई सेक्स के हो भनेर सोधिन्, मैले त आमालाई सोध भनिदिएँ। मैले उनलाई कसरी बताउनु भनि आमातर्फ देखाएदिएँ। के मैले ठीक गरेँ?'
डा. कार्कीले भने, ‘तपाईले एकदम ठिक गर्नुभयो। बालबालिका जोसँग नजिक र सहज हुन्छन् उनैसँग सो विषयको जिज्ञासा मेटाउँदा बालबालिकालाई बुझन सहज हुन्छ।’ डा. कार्कीले के पनि भने भने बालबलिकालाई पाठ्यक्रम र विद्यालयमा यौन शिक्षाका साथै घरमा अभिभावकले नै उमेर अनुसारको यौन शिक्षा दिँदै जाने हो भने देशमा बालबालिका माथि हुने यौन हिंसा न्यून गर्न सहज हुन्छ। ‘बालबालिकाको पहिलो पाठशाला अभिभावक हुन्। त्यसैले आप्mना नानीहरुलाई आमाबुवाले कोसँग बढी सहज हुन्छ उनैसँग बसेर यौनका बारे शिक्षा दिनुपर्छ,’ शिक्षण अस्पताल महाराजगन्जका डा. कार्की सुझाउँछन्, ‘जसले गर्दा नानीहरुमा हुने शारीरिक परिवर्तनबारे उनीहरुले राम्ररी बुझ्छन्।’ उनले थपे, ‘उमेर अनुसारको यौन शिक्षा र त्यसको सकारात्मक र नकारात्मक पक्ष दुवै बताइदिँदा बालबालिका यौन हिंसाबाट बच्छन्।’
पाठ्यक्रम र विद्यालयमा यौन शिक्षाका साथै घरमा अभिभावकले नै उमेर अनुसारको यौन शिक्षा दिँदै जाने हो बालबालिका माथि हुने यौन हिंसा न्यून गर्न सहज हुन्छ।
केन्द्रीय बालकल्याण समितिद्वारा सार्वजनिक नेपालमा बालबालिकाको स्थिति, २०७५ अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४–०७५ मा महिला तथा बालबालिका निर्देशनालय, प्रहरी प्रधान कार्यालयमा दर्ता भएको जबरदस्ती करणीबाट पीडित १०–१८ वर्ष उमेर समूहका बालिकाको कुल नौ सय ९५ रहेका छन्। जसमध्ये १० वर्ष मुनिका बालिकाहरु दुई सय ६१ जना जबरदस्ती करणीको सिकार भएका छन्। यो आँकडा कुल घटनाको २६.२३ प्रतिशत हो। ‘१० वर्ष मुनि उमेर समूहका बालिका जहिले पनि नयाँ कुरा सिक्ने र बुभ्mन जिज्ञासु हुन्छन्,’ डा.कार्कीले भने, ‘तर हाम्रा अभिभावकहरु नानीहरुलाई यौन शिक्षाबारे स्पष्ट जानकारी गराइदिएमा उनीहरुमाथि कुनै अप्रिय घटना हुनलाग्दा पहिल्यै सचेत हुन सक्छन्।’
मेडिकलका विद्यार्थीलाई यौन शिक्षाका विषयमा अध्यापन गराउँदै आएका डा. कार्की सुझाउँछन्, ‘यसमा स्कुलहरुमा समेत शिक्षकले सहज रुपमा यौनिकताबारे बालबालिकालाई बुझाइदिनु नै ठीक हुन्छ।’ यति मात्र होइन कम उमेरमा यौनिकता सम्बन्धि कुनै क्रियाकलाप गरेमा त्यसका बेफाइदा र नकारात्मक पक्ष समेत अभिभावकले बालबालिकालाई बुझाइ दिँदा बालबालिका सही बाटोमा लाग्ने र गलत बाटोमा जाने सम्भावन न्यून हुने उनको दाबी छ।
सो अध्ययन प्रतिवेदन अनुसार १० वर्ष मुनिका बालिकाहरु सबैभन्दा बढी प्रदेश नम्बर एकमा छन्। यो प्रदेशमा एक वर्षभित्र १० वर्ष मुनिका ६८ बालिका जबरदस्ती करणीबाट पीडित भए। सोही आवामा ११–१६ वर्ष उमेर समूहका कुल पाँच सय ९० बालिका जाबरजस्ती करणीबाट पीडित भए। सबै भन्दाबढी प्रदेश एकका एक सय ५३ बालिका जबरदस्ती करणीका सिकार भए।
‘बालबालिकालाई घरमा आमाबुवाले र स्कुलमा शिक्षकहरुले उनीहरुलाई कसैले उनको संवेदनशील अंगमा छोए कराउने, चिच्याउने र हल्लाखल्ला गरी घटनाबारे सूचना दिन सिकाउनुपर्छ,’ डा कार्की भन्छन्, ‘कतिपय अवस्थामा बालबालिकाले डर र त्रासका कारण घर तथा स्कुलमा घटनाका बारे बोल्न सक्दैनन्। यसले गर्दा पनि उनीहरु यौनहिंसा सहन बाध्य हुन्छन्।’
विद्यालयको पाठ्यक्रममा बालबालिकालाई यौन शिक्षाबारे ज्ञान दिनका लागि स्वास्थ्य, जनसंख्या र वातावरण विषय राखिएको छ। माध्यामिक तहमा १० पाठ समेटिएको यस विषयमा महिला र पुरुसका अंग र तिनका कार्यबारे चित्रसहित वर्णन गरिएको छ। साना कक्षामा भने समान्य पाठ मात्र समेटिएको छ।
विश्व निकेतन माविका शिक्षक टेकराज आचार्य सो विषय पढाउन असजिलो हुने गरेको बताउँछन्। ‘शिक्षकशिक्षिका र विद्यार्थीबीच विद्यमान दूरीले गर्दा पनि माध्यामिक तहको कक्षाकोठमा सो विषयको अध्यापनमा असहज परिस्थित छ,’ आचार्य भन्छन्, ‘तर पनि कसरी बुझाउँदा राम्रो हुन्छ सो बाटो अपनाएर पढाउनु पर्छ। यसै पनि इन्टरनेटको व्यापकताले गर्दा अहिलेका विद्यार्थीले धेरै जानेका हुन्छन् तर हाम्रो जिम्मेवारी भनेको यौन शिक्षाको नकारात्मक पाटोको बारेमा उनीहरुलाई बुझाउनु हो।’ त्यसो गर्दा यौन हिंसा कम हुने उनी बताउँछन्। कतिपय विद्यालयमा यौन शिक्षाका पढाउन असहज हुने पाठहरुलाई शिक्षकशिक्षिकाले आफैं पढ भन्ने गरेका छन्।
केन्द्रीय बालकल्याणको अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार आव ०७४–०७५ मा जबरदस्ती करणाी उद्योगबाट पीडित बालबालिकाको संख्या चार सय रहेको छ। यो अध्ययन प्रतिवेदनमा उल्लेख तथ्यांक महिला तथा बालबालिका निर्देशनालय, प्रहरी प्रधान कार्यालय, २०७५ बाट प्राप्त तथ्यांक हो। सो तथ्यांक मध्ये १० वर्ष मुनिका एक सय तीन बालिकाहरु जबरदस्ती करणीमा परेका छन्।
आव ०७३–०७४ मा बालबालिकामाथि जबरजस्ती करणीको प्रयासविरुद्ध पाँच सय ३६ मुद्दा दायर भएको र यसबाट दुई सय ७५ बालिका पीडित भएको देखिएको थियो।
१० वर्ष मुनिका जबरदस्ती करणी र जबरदस्ती करणी उद्योगबाट पीडित बालिका करिब उस्तै अनुपातमा रहेको देखिन्छ। एकातिर जबरदस्ती करणी र जबरजस्ती करणी उद्योगविरुद्धका कानुनी प्रावधान कडाइका साथ कार्यान्वयन हुन जरुरी छ भने अर्कोतिर१० वर्ष मुनिका बालिकामाथि हुने त्यस्ता जघन्य अपराधविरुद्धको कारबाही कडाइका साथ कार्यान्वयमा ल्याउन आवश्यक छ।
प्रकाशित: २७ मंसिर २०७५ ०३:०२ बिहीबार