७ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

बढुवा हुन बौद्धिक चोरी

प्राध्यापक याेगराज गाैतमकाे लेख (माथि)। सहप्राध्यापक कन्हैया सापकाेटाकाे लेख (तल)। सापकाेटाकाे लेखमा हाइलाइट गरिएकाे अंशबाहेक सबै गाैतमकाे लेखबाट सारिएकाे छ। तस्बिर : नागरिक

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कन्हैया सापकोटाले बौद्धिक चोरी गरेको भेटिएको छ। उनले नर्वेस्थित युनिभर्सिटी अफ बर्गेन विश्वविद्यालयका भूगोल विभागका प्राध्यापक डा. योगराज गौतमको ‘सिजनल माइग्रेसन एन्ड लाइभलीहुड रिलायन्स इन द फेस अफ क्लाइमेट चेन्ज इन नेपाल’ नामको अनुसन्धानात्मक लेख हुबहु सारेर आफ्नो नाममा छपाएको फेला परेको छ।

प्राडा गौतमको लेख माउन्टेन रिसर्च एन्ड डेभलपमेन्ट,३७ (४) : ४३६–४४५ मा प्रकाशित छ। उक्त लेखको केही अनुच्छेदबाहेक सहप्राध्यापक सापकोटाले सबै हुबहु सारेका छन्। यसअघि बौद्धिक चोरीको आरोप लागेका त्रिविका उपकुलपति तीर्थ खनियाँमाथि कुनै कारबाही नहुँदा यस्तो कार्य गर्न मनोबल बढ्दै गएको विश्वविद्यालयकै अन्य प्राध्यापक बताउँछन्।

भूगोल विभागका सहप्राध्यापक सापकोटाले सन् २०१८ मा इन्टरनेसनल जनरल अफ एकेडेमिक रिसर्च एन्ड डेभलपमेन्ट आइएसएसएन : २४५५–४१९७ भोलुम ३ इस्यु १ मा छपाएको ‘डाइनामिक्स अफ सिजनल लेभर माइग्रेसन एन्ड रुरल लाइभलिहुड इन द मिडल हिल अफ नेपाल : रिफ्ल्याक्सन्स फ्रम अर्घाखाँची डिस्ट्रिक, नेपाल’ नामक शीर्षकको लेखमा प्राडा गौतमको लेखका केही वाक्य तथा तथ्यांक परिवर्तन गरी बाँकी सबै हुबहु सारेको प्रमाण फेला परेको छ।

सहप्राध्यापक सापकोटाले यसै विषयमा विद्यावारिधिसमेत गरेका छन्। एबस्ट्र्याक (सारसंक्षेप) मा सापकोटाले गौतमको भन्दा एक वाक्य र केही शब्दमात्र फरक गरेका छन्।

यसैगरी लेखको परिचय खण्डमा समेत सापकोटाले केही वाक्यबाहेक सबै सारेको फेला परेको छ भने तथ्यांकसमेत हुबहु सारेका छन् । सापकोटाको ‘क्लाइमेट चेन्ज एन्ड माइग्रेसन’ मा गौतमको रिसर्चबाट आठ अनुच्छेद हुबहु सारिएको छ । निष्कर्ष खण्डमा पनि सापकोटाले सबै सारेका छन्।

विदेश गएर फर्केका नेपालीको बारेमा गरिएको उक्त अध्ययन उनले आफ्नो विद्यावारिधि उपाधिका लागि तयार पारेका थिए। विद्यावारिधि उपाधिका लागि उनको सुपरभाइजर रहेका प्राडा भीम सुवेदीले उक्त अनुसन्धान सारेको बारे आफूलाई केही थाहा नभएको बताए । ‘मेरै सुपरीवेक्षणमा सापकोटाले विद्यावारिधि गरेका हुन्,’ सुवेदीले नागरिकसँग भने, ‘विदेश गएर नेपाल फर्केका नेपालीको सानो समूहमा सापकोटाले अनुसन्धान गरेका हुन् तर उनले कतैबाट सारेको भए मलाई त्यसबारे केही थाहा छैन।’

मानविकी संकायका डिन शिव भुसालले सहप्राध्यापक सापकोटा प्राध्यापक बन्ने लाइनमा रहेको बताउँदै उनीजत्तिको व्यक्तिले हुबहु अरुको लेख सार्नु लज्जास्पद भएको बताए। ‘वास्तविक लेखकको स्रोत खुलाएर रिसर्च गर्नु अर्को कुरा हो तर कुनै लेखकको हुबहु सार्नु ठूलो अपराध हो,’ भुसालले नागरिकसँग भने, ‘ठूलाले बौद्धिक चोरी गर्दा कुनै कारबाही गर्न नसकेकाले अरुको समेत मनोबल बढेको बुझिन्छ ।’ सहप्राध्यापक सापकोटाले सारेर रिसर्च आर्टिकल छपाएका छन् भने वास्तविक लेखकले उजुरी गरे बौद्धिक चोरी अभियोगमा कारबाही हुने उनले बताए।

चोरी भएको अनुसन्धानात्मक लेख हेर्न यो लिंकमा क्लिक गर्नुहोस्,

प्रकाशित: १७ श्रावण २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App