१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

खालि हुन थाल्यो पनिका, मुख्य सेवा अनलाइनबाटै

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले असार १५ गतेदेखि पूर्ण रुपमा अनलाइन सेवा उपलब्ध गराउन थालेपछि पनिका खालि हुन थालेको छ।

असार १५ गतेदेखि कार्यान्वयन हुने गरी विश्वविद्यालयले आफ्नो परीक्षा नियन्त्रण कार्यालयका दश वटा मुख्य कामलाई अनलाइन प्रणालीमा थपेर अघि बढेको छ।

यसैको परिणाम, सोमबार पनिका खालि देखियो। विद्यार्थीको भिडभाड देखिएन। विद्यार्थी पनिका आए पनि ट्रान्सक्रिप्ट लिनका लागि मोबाइलबाटै अनलाइन ‘अप्लाइ’ गरिरहेका भेटिए।

झापाकी सुनिता केसीलाई त्रिवि पनिका अनलाइनमा गएको थाह थिएन। उनले स्नातक पास गरे पनि ट्रान्सक्रिप्ट लिन त्रिवि पनिका बल्खुमा पुगिन्। तर पनिकाका कर्मचारीले अबदेखि घरबाटै अनलाइन अप्लाइ गर्ने व्यवस्थाबारे जानकारी दिएपछि सुनिताले आफ्नो मोबाइल फोनबाटै अनलाइन अप्लाइ गरिन्।

‘मलाई अनलाइन अप्लाइबारे थाह थिएन,’ सुनिताले नागरिक न्युजसँग भनिन्, ‘त्यसै कारण पनिका परिसरबाटै अनलाइन सहजै अप्लाइ गरे।’ उनले थपिन्, ‘अब अनलाइनबाटै ट्रान्सक्रिप्ट, मूल प्रमाणपत्र र नाम सच्याउने लगायतका सबै कामका लागि अप्लाइको व्यवस्था पनिकाले गरिदिएर केही सहज बनायो।’ तर प्रमाणपत्र भने प्रदेश स्तरका कार्यालयबाट लिनु पर्ने पनिकाले जनाएको उनले बताइन्।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा मूल प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातका लागि परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खु धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको उनको भनाई थियो।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार हाल पनिकाले आफ्ना १० प्रमुख सेवाहरू थपेर असार १५ गतेदेखि पूर्ण रूपमा अनलाइनमार्फत फारम भर्ने काम सुरुवात गरेको छ।

‘पनिकाको सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन हामीले पेपरलेस अवधारणामा पनिकालाई लाने तयारी गरेका छौं,’ नियन्त्रक जोशीले नागरिक न्युजसँग भने,‘दीक्षान्त समारोहकालागि अनलाइन फारम र त्रिवि इमिस प्रविधिको प्रयोग सफल भएपछि पनिकाले विद्यार्थीका सबै काम अनलाइन गर्ने व्यवस्था गरेको हो।’ उनले थपे, ‘अब विद्यार्थीले घरबाटै नयाँ रजिस्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फारम, ट्रान्सक्रिप्ट आवेदन फारम तथा प्रोभिजनल सर्टिफिकेट, पुनर्योगका लागि आवेदन फारम, मूल प्रमाणपत्र, शैक्षिक कागजात, नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउने फारमलगायत विभिन्न सिफारिसकालागि अनलाइन अप्लाइको व्यवस्था गरिएको छ। प्रमाणपत्रहरूको प्रमाणीकरण, ट्रान्सक्रिप्ट र मार्क सिटको प्रतिलिपि तथा ट्रान्सक्रिप्ट र मार्क सिटको प्रतिलिपि पनि अब अनलाइनबाटै प्राप्त गर्न सकिन्छ।’

नियन्त्रक जोशीका अनुसार अब विद्यार्थीले आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी निम्न सेवाहरूका लागि घरबाटै आवेदन दिन सक्ने छन्। र साउन १ गतेदेखि प्रदेश स्तरबाटै आफ्ना शैक्षिक प्रमाणपत्रहरू प्राप्त गर्न सक्छन्।

‘कोसीको विराटनगर, गण्डकीको पोखरा, लुम्बिनी र कर्णालीको नेपालगन्ज तथा सुदूरपश्चिमको कैलालीबाट विद्यार्थीले प्रदेशगत रुपमा प्रमाणपत्र प्राप्त गर्न सक्छन्,’ नियन्त्रक जोशी भन्छन्,‘विश्वविद्यालयले यसकालागि सूचना तथा प्रविधि तर्फ ११ कर्मचारी थपिदिएर अनलाइन काम सहज बनाइयो।’

हाल १५ हजार विद्यार्थीले अनलाइन अप्लाइ गरिसकेर लाभ लिएको उनले जनाए।

पनिकाका परीक्षा प्रशासन प्रमुख नवीन्द्र भण्डारीले पनिकामा प्रमाणपत्रहरू दिलाइदिने भन्दै बिचौलियाको चलखेल रोक्न पनि पनिका अनलाइन जानु पर्ने अनिवार्य बनेको स्पष्ट पारे।

‘केही दिन अघि सम्म पनि स्नातकका ट्रान्सक्रिप्टकोलागि ४५० शुल्क पर्नेमा बिचौलियाले ५ हजारसम्म लिएर सरस्वतीको मन्दिर जस्तो पनिकालाई दूषित बनाएको खबर पनि हामीले पाएका थियौं,’ प्रमुख भण्डारीले भने, ‘अहिले पनि पनिकाको अनलाइन सर्वर ह्याक गर्न बिचौलियाहरू लागि परेका छन्। तर पनिकाले सफलता पूर्वक आफ्ना विद्यार्थीसँग सम्बन्धी सबै काम अनलाइन नै गर्दै जाने छ। केही वर्षमा पनिका पेपरलेस बनाउने लक्ष्य हो।’ उनले थपे, ‘यति मात्र होइन विद्यार्थीले अनलाइन अप्लाइ गरेपछि आफ्ना कागजात पनिकाको कुन झ्यालमा पुग्यो र कहिले काम हुन्छ भन्ने अवस्था थाह पाउनकोलागि ट्र्याकिङ प्रणालीको समेत विकास गरिएको छ। हाल मानविकी र शिक्षा शास्त्र सङ्कायमा लागु भइसकेको छ। अब व्यवस्थापन, विज्ञान र कानूनमा ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्ने तयारी छ।’

प्रकाशित: १६ असार २०८२ १९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App