१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

‘उपकुलपतिले ढाँटे, प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’

काठमाडौं– त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएको भन्दै त्रिवि सभा स्थगित गरेको विषयमा प्रधानमन्त्रीका सहयोगीले आपत्ति जनाएका छन् ।

आइतवारको त्रिवि सभा अर्थात् सिनेट बैठकमा प्रधानमन्त्री एवं त्रिविका कुलपति प्रधानमन्त्री अनुपस्थित भएपछि उपकुलपति प्रा.डा. तीर्थ खनियाले प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउदै बैठक स्थगित गरिएको जानकारी गराएका थिए ।

‘प्रधानमन्त्री  स्वस्थ हुनुहुन्छ, त्रिवि बैठकको कार्यसूची प्रष्ट नभएकोले मात्रै नजानु भएको हो ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्री शनिवार पुस्तक विमोचन समारोहमा सहभागी हुनुभयो भने आज आइतवार संसद बैठकमा सहभागी हुनुहुनेछ ।’

अर्यालले अगाडि भने, ‘सिनेटका अजेन्डा बारे १५ दिन अगावै कुलपतिलाई खवर गर्नुपर्ने भएपनि उपकुलपतिले तीन चार दिन अघि मात्रै प्रस्ताव दिनुभएको हो। प्रस्ताव अध्ययन गर्न पनि प्रधानमन्त्रीलाई समय लाग्छ । केही प्रस्तावमा प्रधानमन्त्रीले स्पष्टता खोज्नुभएको छ ।’

यसैबीच राससले जनाएअनुसार त्रिविका कुलपति तथा प्रधानमन्त्री ओलीको निर्देशन पनि सिनेट बैठक स्थगन भएको त्रिविका उपकुलपति खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको खनियाँले बताए । उनले भने, ‘यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा मन्त्रीमार्फत सभा बैठक स्थगन गर्न भन्नुभयो, मैले बैठक स्थगन गरेँ ।” उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए ।

त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले शिक्षामन्त्रीमार्फत प्रधानमन्त्रीले बैठक स्थगत गरेको बताइन् । त्रिपाठीले राससलाई भनिन्, ‘अन्तिममा आएर सिनेट बैठक स्थगत हुँदा दुःख लागेको छ।’

समाचार स्रोत अनुसार, प्रधानमन्त्रीको अध्यक्षतामा हुने त्रिवि सभामा काठमाडौंमा बसेर राजनीति गर्ने सहप्राध्यापक योगेन्द्रनारायण बडबरियाको ६ सय ७ दिनको हाजिरी समेत अनुमोदन गर्न लागेको बैठकको कार्यसुची बनाएपछि प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । यसबारेमा हेलो सरकारमा पनि उजुरी परेको छ ।

एजेन्डा के छन्?
त्रिविको आजको बैठकमा पुराना नियमलाई संशोधन तथा खारेज गर्ने जस्ता कार्यसूची थिए । उपकुलपति खनियाँका अनुसार प्राध्यापक, कर्मचारी र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने लगायत सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाका विषयमा निर्णय गर्ने तयारी गरिएको थियो । शनिबार त्रिविको प्रि–सिनेट बसेर सिनेट बैठकका कार्यसूची तय गरिएको थियो । प्रतिवर्ष सिनेट बैठक दुई पटक बस्ने गर्छ ।

आंशिक शिक्षकद्वारा धर्ना
त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले सेवा स्थायी गर्न माग गर्दै आइतवार कीर्तिपुरमा धर्ना दिएका छन् ।

लामो समयदेखि सेवा गरिरहे पनि आफूहरुको स्तरोन्नति हुन नसकेको जनाउँदै उनीहरुले आज त्रिविसभा बैठक बस्ने सूचना पाएपछि त्यस आसपासका क्षेत्रमा विरोधका कार्यक्रम गरेका हुन् । (राससको समेत सहयाेग)
 

प्रकाशित: २३ वैशाख २०७५ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App