३२ असार २०८२ बुधबार
image/svg+xml
शिक्षा

गुणस्तरीय समावेशी प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षा प्रवर्द्धनमा क्षेत्रीय पहल

सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सार्क विकास कोष (एसडिएफ) ले ‘गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाका लागि साझेदारी’ नामक क्षेत्रीय परियोजनाको सुरु गरेको छ।

सार्क सचिवालय काठमाडौंमा आयोजित एक कार्यक्रमबिच उक्त परियोजना शुक्रबार औपचारिक रूपमा सुरु गरिएको हो। सार्क विकास कोष र सेभ द चिल्ड्रेनको संयुक्त लगानी रहेको यस तीन वर्षे परियोजनाको लागत ४.७९ मिलियन अमेरिकी डलर रहेको छ।

 परियोजनाले नेपाल र भुटान सरकार, स्थानीय समुदाय, शिक्षक, प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सहजकर्ता, ३ देखि १२ वर्ष उमेर समूहका बालबालिकासँग सहकार्य गर्दै गुणस्तरीय, समावेशी प्रारम्भिक बाल विकास र आधारभूत शिक्षाको प्रवर्धन गर्नेछ।

कार्यक्रममा सार्कका महासचिव एमडी गोलाम सर्वारले परियोजनाले भुटान र नेपालको राष्ट्रिय प्राथमिकताहरू कार्यान्वयन गर्न सहयोग गर्नुका साथै शिक्षामा समान पहुँचको प्रवर्धन र मानव विकासमार्फत सार्कको गरिबी निवारण कार्ययोजनामा पनि योगदान पुर्‍याउने बताए।

‘परियोजनाले समुदायस्तरमा साझा चुनौती सामना गरिरहेका र उस्तै मनोभावना बोकेका अन्य सार्क सदस्य राष्ट्रहरूमा पनि यस्तै किसिमका पहलहरू सुरु गर्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

नेपालमा यो परियोजना मधेस प्रदेशमा कार्यान्वयन गरिनेछ, जहाँ प्रारम्भिक बाल विकासका सूचकांकहरू अत्यन्त कमजोर छन्। हालै गरिएको एक अध्ययनले पूर्वाधार, सिकाइ सामग्री, हेरचाहकर्तामा चेतना, र अपांगता समावेशीतामा गहिरो खाडल रहेको देखाएको छ। विशेषगरी महोत्तरी र सर्लाही जिल्लामा ५३ प्रतिशतभन्दा बढी जनसंख्या निरक्षर छन्।

सेभ द चिल्ड्रेन नेपाल र भुटानकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले समावेशी शिक्षाका लागि तत्काल कदम चाल्न आवश्यक भएको चर्चा गर्दै विद्यालय र घरमा सुरक्षित र सहयोगी वातावरण गुणस्तरीय शिक्षाको आधार रहेको बताइन्।

‘सार्क विकास कोष र सेभ द चिल्ड्रेनबिचको यो सहकार्य समावेशी शिक्षाको आवश्यकता उजागर गर्नेतर्फको एक कदम हो,’ उनले भनिन्।

यो परियोजना क्रियाकलापहरू समावेशी प्रारम्भिक बाल शिक्षा सुधारमा केन्द्रित रहने बताइएको छ। यसअन्तर्गत कक्षाकोठा निर्माण तथा जीर्णोद्धार, सुरक्षित एवं पहुँचयोग्य सिकाइ वातावरण निर्माणका लागि खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारहरूको स्तरोन्नति, घरायसी पुस्तकालयको माध्यमबाट घरमै प्रारम्भिक साक्षरता प्रवर्धन गर्न उमेर–उपयुक्त समावेशी शैक्षिक सामाग्रीहरूको व्यवस्था समावेश छन्।

साथै शिक्षक तथा अभिभावक तालिम, अपांगता पहिचान परीक्षण, र अपांगता भएका बालबालिकाका लागि सहायक उपकरणहरूको व्यवस्था पनि गरिने सार्क सचिवालयले जनाएको छ।

प्रकाशित: ७ असार २०८२ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App