त्रिभुवन विश्वविद्यालयका तथ्यांकशास्त्रका सहप्राध्यापक डा. अरुणकुमार चौधरी आगामी वर्ष अवकाश हुँदै छन्। उनको प्राध्यापक हुने योग्यता र आधार पुगेको भए पनि समयमा सेवा आयोग नखुल्दा प्राध्यापक नहुँदै अवकाश हुनुपर्ने हो कि भन्ने चिन्ता छ।
६० वर्षीय सहप्राध्यापक चौधरी प्राध्यापकमा बढुवा हुन सबै योग्यता छ, तर सेवा आयोग समयमा नखुल्दा उनको वृत्ति विकास हुन सकेको छैन। यति मात्र होइन पाँच वर्षपछि खुलेको सेवा आयोगमा पनि आंशिक शिक्षकले शुक्रबारै ताला लगाइदिएपछि उनको चिन्ता थप बढेको छ। २०७७ सालमा खुलेको सेवा आयोग पाँच वर्षपछि २०८२ जेठ २१ गते खुलेको छ।
सेवा आयोगले यसपटक एक सय ८२ प्राध्यापक, चार सय २५ सहप्राध्यापक र तीन सय उपप्राध्यापक गरी नौ सय सात पदका लागि विज्ञापन गरेको छ। साथै सेवा आयोगले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न १० प्राध्यापक, २० सहप्राध्यापक र एक सय उपप्राध्यापक गरी द्रूतमार्गबाट एक सय ३० प्राध्यापक नियुक्तिका लागि आवेदन माग गरेको छ। सेवा आयोगले एक हजार बढीको विज्ञापन गरे पनि आंशिक शिक्षकहरूको तालाबन्दीका कारण सबै कामकारबाही ठप्प बनेको छ।
विश्वविद्यालयमा पढाउने शिक्षकहरू नै तालाबन्दीमा उत्रनुलाई त्रिविकै प्राध्यापकहरूले आलोचना गरिरहेका छन्। ‘मैले आफ्नो प्राध्यापक पदमा बढुवाका लागि सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको जर्नलमा लेख छपाइसकेको छु। तथ्यांक र गणितकै विषयका ४० देखि ५० वटा पाठ्यक्रममा आधारित पुस्तक प्रकाशित गरिसकेको छु। विद्यावारिधि तथा अनुसन्धानका ग्रन्थहरू प्रकाशित छन्’, सहप्राडा चौधरीले नागरिकसँग त्रिविको बेथिति सुनाए, ‘पाँच वर्षपछि बल्लतल्ल आयोग खुलेको छ। मेरो अर्को वर्ष अवकाश हुँदै छ। यसैगरी तालाबन्दी कायम रहने हो भने मेरो हातमा आएको अवसर पनि गुम्ने छ।’
उनले पीडा पोखे, ‘त्रिविमा मैले ३२ वर्ष सेवा गरेपछि अब वृत्ति विकासको सवालमा आंशिक शिक्षकले बाधा खडा गर्नु त्रिवि प्रणाली, विश्वविद्यालय र कुलपतिको दोष हो।’
त्रिविमा वार्षिक तीन सयको हाराहारीमा शिक्षक अवकाश हुन्छन्। सेवा आयोगको ढिलाइका कारण धेरै शिक्षक वृत्ति विकासविना नै अवकाश हुनुपर्ने अवस्था रहेको सेवा आयोगका प्रशासन प्रमुख विष्णुप्रसाद अर्यालले बताए।
तर आंशिक शिक्षकले भने सेवा आयोगले खुलाएको द्रूत मार्गको विज्ञापन खारेजी गर्नुपर्ने र त्रिविको रिक्त रहेको ५२३० दरबन्दीमै विज्ञापन खुलाउनुपर्ने मागसहित त्रिविका सबै निकायमा तालाबन्दी गरेको सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईले बताए।
‘त्रिविमा कार्यरत आंशिकलाई हाल त्रिविको रिक्त ५२३० दरबन्दीमै करार गरी मात्र अन्य पदमा विज्ञापनको माग गर्दै सेवा आयोग, उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरी विश्वविद्यालयलाई ठप्प पारिदिएका छन्’, अध्यक्ष भट्टराईले नागरिकसँग भने, ‘हामी सोमबार शिक्षा, विकास तथा अर्थ अनुसन्धान केन्द्र सेरिडमा सोमबार काम गरिरहेको अवस्थामा त्यहाँ पनि आंशिक शिक्षकले आएर हामीलाई धपाइदिनुभयो।’
उनले थपे, ‘त्रिविको कार्यकारी उपकुलपति हुन्। यसकारण अब उपकुलपतिले वार्ताका माध्यमबाट आंशिकका समस्या समाधानतर्फ लगी त्रिविमा काम गर्ने वातावरण सृजना गर्नुपर्छ।’
कतिपय शिक्षक त लामो समय काम गरी प्राध्यापकका लागि सबै योग्यता पुगेर पनि वृत्ति विकास नभएरै अवकाश हुनुभएको छ। ‘यो अति नै पीडादायी अवस्था हो’, सेवा आयोगका प्रशासन प्रमुख विष्णुप्रसाद अर्यालले नागरिकसँग भने, ‘हामी सोमबार शिक्षा, विकास तथा अर्थ अनुसन्धान केन्द्र (सेरिड) मा काम गरिरहेको अवस्थामा आशिक शिक्षकहरू त्यहीं पुगेर हामीलाई काम नगर्नुस् भनेर निकाली दिनुभयो।’
उनले थपे, ‘एक त ६÷६ महिनामा खुल्नुपर्ने सेवा आयोग समयमा नखुल्दा आंशिकका शिक्षक थुप्रिनुभयो। किनभने उहाँहरूले सेवा आयोगमा लड्ने अवसर नपाएरै कतिको उमेरै बित्न लाग्यो। यसकारण अब त्रिविलाई निकास दिन तालाबन्दीको गलत संस्कार बन्द गर्नुपर्छ। परीक्षा नियमित हुनुपर्छ।’
जेठ १४ देखि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नजिकिँदै गरेको परीक्षाको मुखमा विद्यार्थी भर्ना खुलाउनुपर्ने माग राखेर उपकुलपति खड्ग केसी, शिक्षाध्यक्ष दुविनन्द ढकाल र रजिस्ट्रार केदार रिजालको कार्यकक्षमा तालाबन्दी गरेका छन्। तालाबन्दीको पर्यायवाची बनेको विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले आआफ्नो कार्यकक्षमा बसेर काम गर्न नपाउँदा सामाजिक मर्यादामा आँच पुगेको महसुस गरिरहेका छन्।
त्रिभुवन विश्वविद्यालय पछिलो समय तलाबन्दीको पर्यायवाची बन्दै आएको छ। आंशिक र करार शिक्षक तथा विद्यार्थी संगठनले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका छन्। राजनीतिक आडमा हुने गरेका यस्ता तालाबन्दीका कारण विश्वविद्यालयको वातावरण दुषित बनाउँदै गएको नेपाल प्रगतिशील प्राध्यापक संघमा महासचिव सहप्राध्यापक डा. सुमन खरेलले बताए।
नेविसंघले जेठ १४ गते त्रिवि उपकुलपति केसीको कार्यालयमा भएको तोडफोड र तालाबन्दीलाई त्रिविका प्राध्यापकहरूले अराजकताका रूपमा चित्रन गरेका छन्। उपत्यकाका शंकरदेव क्याम्पस, सरस्वती क्याम्पस, पाटन संयुक्त क्याम्पस र भक्तपुर क्याम्पसका नेविसंघका विद्यार्थी नेताहरूले त्रिविका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी र उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन्।
प्रकाशित: ४ असार २०८२ ०९:१७ बुधबार