१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

‘संस्कृत र संस्कृति बिर्संदै गएकाले मुलुकमा अशान्ति छाएको हो’

कालिकोट जिल्ला पचालझरना गाउँपालिका ५ की १७ वर्षीया प्रकृति सेजुवाल चार वर्षदेखि वैदिक संस्कृत शिक्षा पढिरहेकी छिन्। सेजुवाल जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा ६ कक्षामा पढ्छन्। उनी अहिले नै जन्मदेखि मृत्युसम्मका सबै संस्कारको कर्मकाण्ड गर्ने भइसकेकी छन्।

उनी भन्छिन्, ‘यहाँ पढाइ सकेर संस्कृत, संस्कृति संरक्षणमा लाग्ने र कालिकोटमा गुरुकुल खोल्ने लक्ष्य छ।’ 

यस्तै जुम्लाको तातोपानी गाउँपालिका - ४ गिडीखोला गाउँकी १५ वर्षीया गायत्री उपाध्याय पनि ६ कक्षामा पढ्छिन्। उनी भन्छिन्, ‘सुरुमा न्याँस्रो लाग्थ्यो तर अहिले रमाइलो लाग्छ।’

कक्षामा बसेर उनीहरू स्वस्तिवाचन गर्छन्। उनीहरूको एउटै लक्ष्य छ,  संस्कृत र संस्कृतिको जगेर्ना गर्ने। यसका साथै बेरोजगार बस्नुनपर्नेमा उनीहरू ढुक्क छन्।

‘कर्मकाण्ड गरेर जीविकोपार्जन सजिलै गर्न सकिन्छ’ शिक्षक कृष्णप्रसाद चौलागाई भन्छन्, ‘बेरोजगार बस्नु पर्दैन।’

जुम्लाको सदरमुकाम खलंगामा रहेको गुरुकुलमा बेलुका चहलपहल हुन्छ।  दैनिक ४ बजेदेखि ६ सम्म पढ्छन्।

जुम्लाको तिला गाउँपालिका- ९ की नन्दा बुढाले छोरी मिना बुढालाई ४ कक्षामा भर्ना गरेकी छन्। उनी संस्कृत पढाएर छोरीलाई विदुषी बनाउने बताउँछिन्। भन्छिन्, ‘संस्कृत र संस्कृति बिर्संदै गएकाले मुलुकमा अशान्ति छाएको हो।’

अहिले प्रायः सबै विद्यार्थीकाे प्राविधिक शिक्षाप्रति आकर्षण बढिरहेका बेला जुम्लाका विद्यार्थी वेद संरक्षण र धर्मसंस्कृतिको रक्षाका लागि संस्कृत पढ्न थालेको बताउँछिन्।

सबैको एउटै लक्ष्य संस्कृत पढेर विद्वान् बन्ने छ। गुरुकुलमा १ देखि ६ कक्षासम्मको पढाइ हुन्छ। संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत रचना, संस्कृत नीतिश्वलोक र संस्कृत कर्मकाण्डको पढाइ हुन्छ।

२०६९ सालमा चन्दननाथ गुरुकुल पाठशालाको स्थापना भएको हो। संस्कृत बचाउन र भाषाको शुद्धता ल्याउन यो पाठशाला खाेलिएको हो। चन्दन्नाथ मन्दिरभित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा अहिले बाहुन र क्षेत्री बालबालिका मात्र पढ्दै छन्।

प्रधानाध्यापक विश्वराज उपाध्यायकाे अनुसार  बेरोजगार बस्नु नपर्ने भएकाले पछिल्लो समय संस्कृत पढ्ने विद्यार्थी बढ्दै छ। ‘कर्मकाण्ड गर्ने व्यक्तिको अभाव भइरहेकाले पनि आकर्षण बढ्दो छ’, उनी भन्छन्, ‘संस्कृत शिक्षाले धार्मिक सदाचार कायम रहन मद्दत पुग्छ।’

अहिले पहिलेभन्दा विद्यार्थी बढी छन्। ४० विद्यार्थी छन् जसमध्ये २५ छात्र र १५ छात्रा रहेको शिक्षक तिलकप्रसाद उपाध्यायले बताए। गुरुकुल पाठशाला स्थापना भएको केही वर्षसम्म दलित विद्यार्थी संस्कृत पढ्न आए पनि अहिले नआएको प्रधानाध्यापक विश्वराज बताउँछन्।

दलितले पढेर काम लाग्दैन भन्ने सोच अझै रहेकाले दलितका छोराछोरी पढ्न नआएकाे उनले जनाए। पाठशालामा विद्यार्थी भर्ना हुँदा समावेशी रूपमा सबैले पढ्न पाउनुपर्छ भन्नेबारे सूचना सम्प्रेषण गर्ने गरेको उनको दाबी छ।

‘दलितलाई संस्कृत पढ्न अङ्कुश लगाइएको छैन।’ प्रधानाध्यापक उपाध्यायले भने, ‘पाठशाला सरकारबाट सञ्चालित शैक्षिक संस्था हो। यसमा जातीय रोकताेक नभएको भन्दै भर्ना गर्दा संस्कृत शिक्षा पनि समावेशी सबैका लागि हो तर दलित र जनजातिका विद्यार्थी पढ्न आउँदैनन्।’

‘दलितका छोराछोरीले पनि संस्कृत पढ्न पाउनुपर्छ। शिक्षा आर्जन गर्ने कुनै पनि शैक्षिक संस्थामा जातीय विभेद गर्नु कानुन विपरीत हो। संस्कृत पाठशालामा भर्ना खुलेको प्रचारप्रसार भने स्थानीय रेडियो र पत्रपत्रिकाबाट गर्ने गरिन्छ।

दलित र जनजाति विद्यार्थी नआउने भएकै कारण सरकारले दिने छात्रवृत्ति पनि काटेको छ। प्रति विद्यार्थी १ हजार रुपैयाँ पाउँथे। आजभोलि प्रति छात्राले मात्रै छात्रवृत्ति पाउँछन्। विषयगत शिक्षक नहुनु, आवासगृह, खानेपानी र शौचालय नहुनु र समयमै पाठ्यपुस्तक नआइपुग्दा यो समस्या छ। विद्यार्थीहरू कार्पेटमा बसेर पढ्ने गर्छन्।

उनले भने, ‘न खेलमैदान छ। चन्दननाथ नगरपालिकाले दिवाखाजाका लागि बजेट विनियोजन भइरहेको छ। पुस्तक पाठ्यक्रम विकास केन्द्र भक्तपुरबाट आइरहेको छ। विद्यार्थीलाई पोसाक गैरसरकारी संस्था पेस नेपालले गरेको छ। पाठशालामा शुद्ध उच्चारण गर्न सिकाउने र वेदका मन्त्र तथा श्लोकहरू कण्ठस्थ गराइन्छ। जुम्लाका विभिन्न स्थानबाट विद्यार्थीहरू यहाँ पढ्न आउने गरेका छन्।’ 

प्रकाशित: २२ जेष्ठ २०८२ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App