खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित शैक्षिक सम्मेलन विभिन्न १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । खस्कदो सामुदायिक विद्यालयको गुणस्तर उकास्ने उदेश्यले शिक्षाविद विद्यानाथ कोईरालासहित विज्ञहरुको सहजीकरणमा नरपालिकाले सम्मेलन आयोजना गरेको हो ।
नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक सुझाव सल्लाह लिने उदेश्यले आयोजित सम्मेलनमा विज्ञसहित प्रधानाध्यापक, शिक्षक, विद्यार्थी अगुवा, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाहरुलाई बोलाइएको थियो । उनीहरुबीच व्यापक छलफल र अन्तरकृया गराएर सुझाव सङ्कलन गरी विज्ञको धारणासमेत समावेश गरेर घोषणापत्र तयार गरिएको छ ।
नगरप्रमुख बिमला राईले ’सक्षम शिक्षक, गुणस्तरीय शिक्षा, परिस्कृत सँस्कारः सार्वजनिक शिक्षामा सशक्तिकरण हलेसी विकासको आधार’ भन्ने नाराका साथ आयोजित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएकी छिन् । मेयर राईका अनुसार सार्वजनिक शिक्षाको अहिलेको अवस्थालाई सुधार गर्दै सबल, गुणस्तरीय र व्यवहारिक बनाउँनुका साथै हलेसी तुवाचुङलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्यस्थलमा रुपान्तरण गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो ।
शिक्षकहरु एकमहिना लामो सडक आन्दोलनबाट विद्यालय फर्केकाले उनीहरुलाई पुनरताजगी गराउन पनि सम्मेलन सफल भएको ठहर मेयर राईको छ । सम्मेलनले शिक्षा नै मान र सामाजिक विकासको पहिलो आधार भएको पुष्टि गराएको र यसले नगरलाई शिक्षाको माध्यमबाट अलग र विशिष्ट पहिचान दिलाउने कुरामा सम्मेलन खरो उत्रिने उनी बताउँछिन् ।
दुईदिन चलेको सम्मेलनले सहभागीहरुको साझा राय, सल्लाह, सुझाव समेटेर विज्ञ टोलीको परामर्श अनुसार नगरको शैक्षिक गुणस्तर बृद्धिका लागि ’सार्वजनिक शिक्षा सवलीकरण घोषणापत्र ०८२’ जारी गरेको छ । जस अनुसार सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले ‘मेरो विद्यालय म आफै बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्रको सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने नारालाई प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने बुँदा उल्लेख छ । त्यस्तै विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउन नगरपालिकाले विव्यस र प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गर्ने र प्रअले शिक्षक कर्मचारीसँग कार्य सम्पादन करार सम्झौता गर्नुपर्नेलगायत बुँदाहरु घोषणापत्र छन् ।
सम्मेलनले सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन ’शिक्षक बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । शिक्षकको अभावमा कुनै पनि विद्यालयमा शिक्षण कार्य अवरुद्ध हुन नदिन त्यस्तो नीति लिइएको हो । शिक्षालाई सीप, सँस्कार र प्रविधिसँग जोड्दै सामुदायिक विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने, विद्यालयहरुलाई आवश्यक्ताका आधाारमा कक्षा घटाउने तथा नजिकको विद्यालयमा समायोजन गर्ने, आवासीय विद्यालय सञ्चालनमा जोड दिने कुरा पनि घोषणापत्रमा उल्लेख छ ।
सरकारले सञ्चालन गर्दै आएको विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनका अन्नबाली प्रयोग गर्ने व्यवस्था मिलाउने, प्रत्येक विद्यालयले शैक्षिक सुधारको वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने, कक्षा ११ र १२ का विद्यार्थीलाई रैथाने सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । त्यसैगरी प्रत्येक महिनाको अन्तिम शुक्रबार ‘बुक फ्री डे’ कार्यक्रम सञ्चालन गरी पुस्तकभन्दा बाहिरी ज्ञान विद्यार्थीलाई दिलाउने नीति घोषणपत्रले समेटेको छ ।
घोषणापत्रलाई अक्षरशः पालना र कार्यान्वयन गर्न सम्मेलनमा सहभागीहरुले प्रतिबद्धता जनाउँदै सामुहिक हस्ताक्षर गरेका छन् । गरपालिकाको शैक्षिक रणनीति निर्माणका लागि बोलाइएका शिक्षाविद डा. विद्यानाथ कोईराला र रमन भट्टराईले सम्मेलनमा सहजीकरण गरेका थिए ।
प्रकाशित: ८ जेष्ठ २०८२ १५:४५ बिहीबार