४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

डाक्टर बन्न चाहन्छिन् एलिना

रुबी रौनियार, काठमाडौं, असार २१- एसएलसीमा काठमाडौं, बानेश्वरस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयबाट ८९ प्रतिशत अंक ल्याएकी एलिना श्रेष्ठ डाक्टर बन्न चाहन्छिन्। उनका बुबा ड्राइभरी गर्छन्। 'डाक्टर बन्ने इच्छा छ तर घरपरिवारसँग पढाइखर्च जुटाउन सक्ने क्षमता छैन,' आइतबार विद्यालयको सम्मान कार्यक्रमपछि एलिनाले नागरिकसँग भनिन्, 'म काम गरेर भए पनि, रातदिन मिहिनेत गरेर डाक्टर बन्छु, ड्राइभरको छोरीले भाँडामात्र माझ्नु पर्दैन, डाक्टर पनि बन्न सक्छन् भनेर देखाउँछु।' डाक्टर बनेर 'आफूजस्तै गरिबहरूको निःशुल्क स्वास्थ्य उपचार' गर्ने उनको लक्ष्य छ। 'नातेदारले मलाई ड्राइभरको छोरी पढेर काम छैन, भाँडा माझ् भन्थे,' एलिनाले सम्भि्कइन्, 'मनमा बिझेको थियो, एसएलसीमा उत्कृष्ट भएर सबैलाई चकित पार्छु भन्ने इख लिएकी थिएँ।' उनले विज्ञानमा ९६ र गणितमा ९७ ल्याएकी छन्।


स्कुलकी प्रिन्सिपल गीता खरेलका अनुसार एलिनाले स्कुल स्थापनाको ५० वर्षमै सबैभन्दा बढी अंक ल्याएकी हुन्। उनले सरकारीबाट छात्रातर्फ सबैभन्दा बढी अंक ल्याएको स्कुलको दावी छ।


कमजोर आर्थिक अवस्था र प्रतिकूल घरायसी वातावरणकी एलिना लगनशील भएकीले उत्कृष्ट भएकी प्रिन्सिपलले बताइन्। स्कुलले आइतबार एलिनालाई सम्मान गर्दै सबै शिक्षक र विद्यार्थीलाई लड्डु बाँड्यो।


दाजुको प्रेरणा र साथीभाइ तथा शिक्षकको सहयोगले राम्रो नतिजा ल्याएको उनले बताइन्। उनका दाजु विशाल बिबिएस तृतीय वर्षमा पढ्छन्।


'शिक्षक र साथीसंगत राम्रो भए सरकारी स्कुलका विद्यार्थीले पनि राम्रो गर्न सक्छन्,' एलिनाले भनिन्, 'विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिएर व्यावहारिक रूपमा बुझे सफल भइन्छ।'


कक्षा शिक्षिका पवित्रा सुवेदीले एलिनालाई डाक्टर बनेको हेर्न चाहेको बताइन्। एलिनालाई विद्यालयले कक्षा १ देखि नै पूर्ण छात्रवृत्ति दिँदै आएको छ। यस वर्ष रत्नराज्यबाट ९२ प्रतिशत विद्यार्थी पास भएका छन्।

प्रकाशित: २० असार २०६७ १७:१७ आइतबार