अमरसिंह उच्चमाविबाट एसएलसी दिएका ६ दृष्टिविहीन विद्यार्थीमध्ये तीन प्रथम र तीन द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन्। लेखनाथको सिर्जना बहिरा उच्चमाविबाट एसएलसी दिएका ११ बहिरा विद्यार्थीमध्ये १० प्रथम र एक दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन्।
गत वर्ष पाँच दृष्टिविहीन प्रथम श्रेणीमा र पाँच बहिरा विद्यार्थी द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए। 'यस वर्ष कम्तीमा एकजनाले विशिष्ट श्रेणी ल्याउने आस गरेका थियौं, तर आएन,' अमरसिंह उच्चमाविका दृष्टिविहीन विभागका शिक्षक विजय लामिछानेले भने, 'सबै उत्तीर्ण भए, यसमै खुसी छौं।'
बहिरा उच्चमाविका प्रधानाध्यापक गणेशप्रसाद अधिकारीले सांकेतिक भाषामा पढ्नुपर्ने भए पनि विद्यार्थीले राम्रो परिणाम ल्याएको बताए। उनले भने, 'सांकेतिक भाषामा पढे पनि राम्रो नतिजा ल्याएका छन्।'
अरुको सहयोगमा परीक्षा दिने दृष्टिविहीनले कक्षामा भने ब्रेललिपीमा लेख्छन्। दृष्टिविहीनले कक्षा ८ उत्तीर्ण सहयोगीको भरमा परिक्षा दिन पाउँछन्। बहिरा विद्यार्थीले भने आफैं लेख्छन्।
एसएलसी पास भएकोमा दृष्टिविहीन विद्यार्थी खुसी भएका छन्। 'सोचेजति नम्बर नआए पनि प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा ज्यादै खुसी लागेको छ,' स्याङ्जाको साँखर घर भई अमरसिंह उच्चमाविबाट एसएलसी दिएका दृष्टिविहीन सूर्य भट्टराईले नागरिकसँग फोनमा भने, 'आफूले सोचेजति नम्बर ल्याउन नसके पनि प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा खुसी लागेको छ।'
अरुको सहयोमा परीक्षा दिनुपर्दा सोचेजति नम्बर ल्याउन नसकेको उनले बताए। '७० प्रतिशत अंक आउला भन्ने लागेको थियो, ६४ प्रतिशत मात्र आएछ,' उनले भने, 'आफूभन्दा तल्लो कक्षाको सहयोगीका भरमा परीक्षामा सामेल हुनुपरेकोले अप्ठेरो भएको छ।'
अमरसिंह उच्चमाविले २०३८ सालदेखि एकीकृत शिक्षाको रूपमा दृष्टिविहीनलाई पढाउँदै आएको छ। अमरसिंहले २०४८ सालदेखि दृष्टिविहिन विद्यार्थीलाई एसएलसीमा सहभागी गराउन थालेको थियो। यस विद्यालयमा कक्षा १ देखि १० सम्ममा ७० भन्दा बढी दृष्टिविहीन विद्यार्थी छन्। हालसम्म एक सयभन्दा बढी दृष्टिविहीनले यस विद्यालयबाट एसएलसी उत्तीर्ण गरिसकेका विद्यालयले जनाएको छ।
२०५८ सालदेखि एसएलसीमा विद्यार्थी सहभागी गराउँदै आएको सिर्जना बहिरा उच्चमाविले हालसम्म ५० जनालाई एसएलसी उत्तीर्ण गराएको छ। बहिरा उच्चमाविबाट तीन वर्षयता एसएलसीमा सहभागि सबै विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्। सरकारले २०४४ सालमा यो विद्यालय स्थापना गरेको हो। यस विद्यालयमा हाल ३६ जिल्लाका २ सय ११ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये १ सय ३३ जना छात्राबास र बाँकी बाहिर बस्छन्।
प्रकाशित: १९ असार २०६७ २१:०९ शनिबार





