८ वैशाख २०८२ सोमबार
image/svg+xml
शिक्षा

आधारभूत तहकै नतिजा कमजोर: एक हजार बढी विद्यार्थीमा दुई सय १६ जना मात्रै उत्तीर्ण

राप्तीसोनारी गाउँपालिकामा बर्सेनि शिक्षामा करोडौँ रकम खर्च हुन्छ । पूर्वाधारदेखि विद्यार्थीको शिक्षण सिकाइसम्म त्यो पैसा खर्च भएको देखिन्छ । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न करोडौँ रकम खर्चेर पनि प्रतिफल भने आस लाग्दो छैन । शिक्षामा लगानी भनेको विद्यार्थीको प्रतिफलसँग जोडिन्छ । यदि विद्यार्थीको नतिजामा सुधार वा व्यवहारिक शिक्षा भएन भने शिक्षामा लगानी गर्नुको अर्थ के ? प्रश्न उठ्छ ।

यही प्रश्नले घेरेको छ, राप्तीसोनारी गाउँपालिकालाई । आधारभूत तह कक्षा ८ को नतिजा हेर्दा यहाँको शिक्षामा लगानी बालुवामा पानी खन्याए जस्तै देखिन्छ । उक्त परीक्षामा यहाँका ८४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । जो, अत्यन्त न्यून उत्तीर्णक हो ।

आधारभूत तह कक्षा ८ लाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रवेशद्वार मानिन्छ । यो द्वार नै कमजोर देखिएको छ, कडा मिहेनत नगरे जसले एसइईमा ठूलो प्रभाव पार्ने निश्चित छ । यस वर्ष यहाँ १६ दशमलव ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३९ विद्यालयका एक हजार तीन सय सात जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये दुई सय १६ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका सूचना अधिकारी तथा शिक्षा शाखा अधिकृत जीवन न्यौपानेले जानकारी दिए । उनका अनुसार एक हजार ९१ जना विद्यार्थी अनुउत्तीर्ण भएका छन् ।

यहाँका सात विद्यालयको नतिजा भने शून्य छ । राप्तीसोनारी—६ ओभरीस्थित भगवती आधारभूत विद्यालयबाट १२ जना विद्यार्थी परीक्षामा सहभागी भए पनि कोही उत्तीर्ण हुन् सकेनन् । त्यस्तै वडा नम्बर ५ स्थित अलिनगरमा रहेको समय भवानी आधारभूत विद्यालयबाट २२, वडा नम्बर ४ कुम्भरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट ३६ र २ नम्बर वडाको मदुवास्थित जय दुर्गा आधारभूत विद्यालयबाट १७ जना विद्यार्थीले परीक्षा दिए पनि कोही उत्तीर्ण हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

गत वर्षभन्दा यस वर्ष नतिजा सुधार भए पनि सन्तोषजनक नभएको अधिकृत न्यौपाने बताउँछन् । शिक्षण सिकाइ गुणस्तरीय नहुनु, परीक्षा प्रणाली कमजोर, विद्यार्थीको लगनशीलता नहुनु र अभिभावकले बालबालिकाको पढाइप्रति गम्भीर नहुँदा परीक्षाफल सन्तोषजनक नआएको शिक्षा अधिकारी न्यौपानेको भनाइ छ । ‘स्थानीय सरकारले शिक्षामा ठूलो लगानी गरेको छ,’ उनी भन्छन्, ‘तर, नतिजा लगानी अनुसार नआउँदा हामी चिन्तित छौँ ।’ गुणस्तरीय शिक्षाका लागि बृहत् छलफल गरेर शैक्षिक स्थिति सुधार गर्ने उनी बताउँछन् । परीक्षामा अनुउत्तीर्ण भएकालाई मौका परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कुनै तीन विषयमा अनुउत्तीर्ण भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने छन् । वैशाख र पहिलो वा दोस्रो सातामा मौका परीक्षा सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको अर्का महत्त्वपूर्ण पक्ष अभिभावक हुन् । विद्यालयमा आफ्ना बालबालिकालाई पठाइदिँदा मात्र आफ्नो दायित्व पूरा हुन्छ भन्ने महसुस गर्न नहुने शिक्षा शाखा अधिकृत तथा सूचना अधिकारी न्यौपाने बताउँछन् । ‘आफ्ना बालबालिकाका लागि उपयुक्त शिक्षण सिकाइ भयो या भएन ? विद्यार्थीको सिकाइ उपलब्धि, समस्या तथा समाधानबारे विद्यालय प्रशासन र शिक्षकसँग छलफल भयो कि भएन ?,’ उनले भने, ‘यी सामान्यजस्ता लाग्ने विषयमा मात्र अभिभावक, विद्यार्थी र शिक्षकले ध्यान दिने हो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार्न त्यति कठिन छैन ।’ 

प्रकाशित: २ वैशाख २०८२ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App