यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसइई) परीक्षामा उदयपुरका झन्डै ६ हजार विद्यार्थी सहभागी छन्। जिल्लाभर २७ केन्द्रमा लिइएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका अनुसार चार नगर र चार गाउँपालिका गरी आठ स्थानीय तहका पाँच हजार आठ सय ८९ जना विद्यार्थीले परीक्षामा भाग लिएका छन्। यसमा छात्रभन्दा छात्राको संख्या बढी रहेको छ।
छात्र परीक्षार्थी दुई हजार आठ सय ३२ छन् भने छात्राको संख्या तीन हजार ५७ रहेको एकाइकी परीक्षा शाखा प्रमुख मैना लिम्बुले बताइन्। उनका अनुसार परीक्षामा सामुदायिकतर्फ एक सय १६ विद्यालय र संस्थागत ४३ गरी एक सय ५९ विद्यालयका छात्रछात्राको सहभागिता छ।
स्थानीय तहअनुसार सबभन्दा बढी त्रियुगा नगरपालिकाका २७ सामुदायिक तथा १९ संस्थागत गरी ४६ विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ। चौदण्डीगढी नगरका १९ सामुदायिक र ११ संस्थागत गरी ३० विद्यालय, कटारी नगरपालिकाका १८ सामुदायिक र ७ संस्थागत गरी २५ र बेलका नगरपालिकाका १४ सामुदायिक र ६ संस्थागत गरी २० विद्यालयबाट एसईईमा सहभागिता रहेको छ।
गाउँपालिकातर्फ चारवटैमा संस्थागत विद्यालय नभएकाले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी मात्र सहभागी छन्। गाउाँपलिकामध्ये सबभन्दा बढी रौतामाईका १५ विद्यालयको एसइईमा सहभागिता छ। त्यस्तै उदयपुरगढीका १२ विद्यालय सहभागी हुँदा ताप्ली गाउँपालिकाका ६ र लिमचुङबुङका पाँचवटा सामुदायिक विद्यालयका छात्रछात्राले एसइई दिँदैछन्।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भवानी कट्टेलका अनुसार २७ केन्द्रमध्ये एउटा प्राविधिक धार र अर्को एक केन्द्रमा ग्रेडवृद्धिका परीक्षार्थी सहभागी छन्। त्रियुगा नगपालिका वडा नं ५ देउरीस्थित जनता माविमा प्राविधिक धारका परीक्षार्थी सहभागी गराइएको छ। त्यस्तै त्रियुगा वडा नं ८ राजाबासस्थित अम्मेबर माविमा ग्रेडवृद्धिका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको प्रमुख कट्टेलले बताए।
प्रकाशित: ८ चैत्र २०८१ १०:५७ शुक्रबार