एसइई परीक्षाको पहिलो दिन सर्लाही र रौतहटमा परीक्षा मर्यादित बनाउन कडाइ गरिएपछि ठूला अनियमितता बाहिर आएका छन्।
परीक्षार्थीहरूले लुकाइछिपाइ परीक्षा हलमा ल्याएका ४२४ मोबाइल प्रहरीले जफत गरेको छ भने दुई जनालाई पक्राउ गरिएको छ। यस्तै, सर्लाहीमा अनुगमन समितिले अनियमिततामा संलग्न रहेको भन्दै चार जना परीक्षा निरीक्षकलाई निष्कासित गरेको छ।
रौतहटमा चेकजाँचका क्रममा परीक्षार्थीहरूले शरीरमा लुकाएको ४२४ थान मोबाइल फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।
परीक्षा केन्द्रमा अनियमितता गराउन संलग्न रहेको आरोपमा यमुनामाई गाउँपालिका-५ स्थित यमुनामाई माध्यमिक विद्यालय झुनखुनवा परीक्षा केन्द्रमा पैसा लिएर मोबाइल भित्र्याउने परीक्षा निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीनिया मावि मौलापुर परीक्षा केन्द्र बाहिरबाट चिट पुर्याइरहेका एक जनालाई पनि नियन्त्रणमा लिइएको छ।
सर्लाहीमा परीक्षामा अनुशासन कायम गर्न जिल्लास्तरीय अनुगमन समितिले बलरा नगरपालिका-४ को रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयबाट निरीक्षक रामनारायण बैठा र रिन्कुदेवीलाई निष्कासित गरेको छ।
त्यस्तै, हरिपूर्वा नगरपालिका-५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयका निरीक्षक बाबुलाल राय र मलंगवा नगरपालिका-७ मुसैलीस्थित बौधीदेवी माध्यमिक विद्यालयका विद्यालय सहयोगी इन्द्रजीत महतो नुनियालाई पनि कारबाही गरिएको छ।
नुनिया परीक्षा हलभित्र मोबाइल र गाइड लिएर प्रवेश गर्न खोजेपछि निष्कासित गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख सुनिलकुमार कुशवाहाले बताए।
परीक्षामा अनुशासन कायम राख्न आगामी दिनमा अझ कडाइ गरिने प्रशासनले जनाएको छ।
प्रकाशित: ७ चैत्र २०८१ १८:५३ बिहीबार