१८ चैत्र २०८१ सोमबार
image/svg+xml २३:४७ अपराह्न
शिक्षा

त्रिविका ४९ आंगिक कलेजमा शान्तिपूर्ण निर्वाचन हुँदै, १३ मा अनिश्चित

तस्बिरः रूबी रौनियार/नागरिक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेको छ। मुख्य गरी काठमाडौं उपत्यकाका प्रमुख आंगिक कलेजहरूमा निकै शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन तालिकाले तय गरेको छ।

निर्वाचन भइरहेका कलेजहरूमा यस पटकको निर्वाचनमा विद्यार्थीले आफ्नो विद्यार्थीकै पहिचान दिएको काठमाडौंको त्रिचन्द्रमा रहेको महेन्द्ररत्न कलेजका विद्यार्थी सारहजान खातुनले बताइन्। उनले जीवनमै पहिलो पटक विद्यार्थी युनियनको निर्वाचनमा सहभागिता जनाउन पाउँदा निकै खुसी भएको बताइन्। ‘मैले आजबाट मतदान गर्न कलेजमै सिकेँ,’ सारहजानले नागरिकसँगको भेटमा भनिन्, ‘सुरुमा केही लफडा पो हुने हो कि भन्ने मनमा डर थियो। तर कलेजमा आउँदा निकै उत्साहित पो बनेँ।’ 

उनले अनुभव सुनाइन्, ‘निकै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ हाम्रो कलेजमा।’ महेन्द्ररत्न कलेजकै अर्का विद्यार्थी दीवाकर भण्डारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराएर यस पटक विद्यार्थीले आफू विद्यार्थी भएको पहिचान दिएको सुनाए। ‘हेर्नुस् त हाम्रो कलेजमा चुनावको सरगर्मीबीच पनि एक आपसमा कति मेल छ विद्यार्थी संगठनहरूबीच। यो त खुसीको माहोल बनेको छ,’ उनले थपे, ‘मैले विद्यार्थी नेता चुन्ने अवसर पाएँ। र, मैले यसको सदुपयोग गरेको छु। योग्य र सक्षम उम्मेदवारलाई मतदान गरी विद्यार्थी हकहित सुरक्षित गर्ने हाम्रो दायित्व हामीले पूरा गर्ने अधिकार हो। मैले यो प्रयोग गर्न पाउँदा निकै खुसी अनुभव गरिरहेको छु।’

६२ आंगिक कलेजहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत्र ५ गते हुने तय गरिएको भए पनि विद्यार्थी संगठनहरूबीचको विवादका कारण १३ आंगिक कलेजमा निर्वाचन अनिश्चित बनेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख एवं स्ववियु निर्वाचन ०८१ केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए। 

उनले उपत्यकाका सानोठिमी कलेज र भक्तपुर कलेज भक्तपुर, त्रिचन्द्रको महेन्द्ररत्न कलेज, ललितकला कलेज ठमेल, आयुर्वेद कलेज कीर्तिपुर, जनप्रशासन कलेज बल्खु, महाराजगञ्ज मेडिकल र नर्सिङ कलेज, पुल्चोक इन्जिनियरिङ कलेज पुल्चोक, थापाथली इन्जिनियरिङ कलेज थापाथली, नेपाल कमर्स क्याम्पस, पाटन क्याम्पस पाटनमा निकै शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको बताए। 

विद्यार्थी संगठनहरूबीच उत्पन्न भएको विवादका कारण उपत्यकाका त्रिचन्द्र, रत्नराज्य कलेज, शंकरदेव कलेज, अमृत साइन्स कलेज, नेपाल ल क्याम्पस, विश्वभाषा, पद्मकन्या, कीर्तिपुर केन्द्रीय क्याम्पसमा चुनाव हुन सकेन। भने, उपत्यकाबाहिरका रूपन्देहीमा बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र पक्लीहवा क्याम्पसमा निर्वाचन हुन सकेन। यसैगरी चितवनको वीरेन्द्र बहुमुखी कलेज, रामपुर कृषि क्याम्पस र चितवन इन्जिनियरिङ कलेजमा चुनाव भएको छैन। भने, जनकपुरको रामस्वरूप रामसागर बहुमुखी कलेजमा निर्वाचन हुन सकेन। 

यी कलेजहरूमा निर्वाचन अनिश्चित बनेको छ। ‘पद्मकन्यामा निर्वाचन रोकियो तर पछि छलफलपछि चैत्र ७ गते हुने तय भयो भने कीर्तिपुर क्याम्पसमा चैत्र ८ गते हुने कार्यतालिका प्रकाशित भयो,’ अधिकारीले नागरिकसँग भने, ‘दुई आंगिक कलेजमा निर्विरोधसहित ४९ आंगिक कलेजमा समयमै निर्वाचन भइरहेको छ।’ उनले जोड दिए, ‘जहाँ भइरहेको छ, त्यहाँ निकै भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरण छ।’

प्रकाशित: ५ चैत्र २०८१ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App