१८ चैत्र २०८१ सोमबार
image/svg+xml २२:५३ अपराह्न
शिक्षा

बाँकेको बैजनाथमा सिसी क्यामेराबाट परीक्षा केन्द्रको निगरानी

बाँकेको बैजनाथ गाउँपालिकाले आफ्ना १२ वटा परीक्षा केन्द्रलाई सिसी क्यामेराबाट निगरानी गरेको छ। उक्त गाउँपालिकामा आइतबारबाट आधारभुत तह (कक्षा ८) को परीक्षा सुरु भएको छ भने यही चैत ७ बाट एसइई परीक्षा सुरु हुँदै छ। गाउँपालिकाले कक्षा ८ को परीक्षाका लागि आठवटा र एसइईका लागि चारवटा परीक्षा केन्द्रलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन सिसी क्यामेरा जडान गरेको हो।

उक्त परीक्षा केन्द्रमा रहेका एक सय ३४ वटा कोठामा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए। ‘परीक्षालाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन हामीले सिसी क्यामेरा जडान गरेका हौं’, उनले भने, ‘विद्यार्थीले आफूले पढेका कुरालाई निर्धक्कसँग लेख्न सकून् भन्ने उद्देश्यका साथ सिसी क्यामेरा जडान कार्यक्रम ल्याएका हौं।’

परीक्षा केन्द्रलाई गाउँपालिकाबाटै निगरानी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शाहीले सुनाए। उनका अनुसार कक्षा ८ को परीक्षा चलिरहेको नेरा मावि टिटिहिरिया, ईश्वरी मावि एचगाउँ, नेरा मावि ओरिलालपुर, हिमालय विद्या निकेतन जिगाउँ, नेरा मावि नौवस्ता, सरस्वती मावि बैरहवा, जनता आदर्श मावि डिगिया र नेरा मावि नौलापुरमा क्यामेरा जडान गरिएको छ। 

यस्तै एसइई परीक्षा केन्द्र तोकिएका सूर्योदय मावि चिसापानी, वागेश्वरी मावि गाभर, प्रभात नमुना मावि जिगाउँ र भगवती मावि हसनापुरमा क्यामेरा जडान गरिएको अध्यक्ष शाहीले बताए। बैजनाथ गाउँपालिकामा कक्षा ८ को परीक्षामा एक हजार पाँच सय ३० जना सहभागी छन् भने एसइई परीक्षामा एक हजार तीन सय ७६ जना विद्यार्थीले भाग लिँदैछन्।

‘छोराछोरीले कसरी पढिरहेका छन्, कस्तो शिक्षा लिइरहेका छन् भनेर अभिभावकले पनि चासो लिन जरुरी छ’, अध्यक्ष शाहीले भने, ‘स्थानीय सरकार कार्य सञ्चालन ऐन– २०७४ मा भएको व्यवस्थाअनुसार स्थानीय सरकारले शिक्षा क्षेत्रको सुधारका निम्ति धेरै लगानी गरिरहेको छ।’ परीक्षा केन्द्रमा स्थानीय सरकारले आफ्नै बजेटमार्फत सिसी क्यामेरा जडान गरेको यो जिल्लाकै पहिलो भएको दाबी गरिएको छ।

गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सिसी क्यामेरा जडानले परीक्षालाई थप मर्यादित बनाउन सहज भएको बताइन्। सिसी क्यामेराबाट निगरानीसँगै परीक्षा केन्द्रमा पनि गाउँपालिकाले स्थलगत अनुगमन गर्ने उनले सुनाइन्। ‘सिसी क्यामेरा जडान विद्यार्थीको सुरक्षाका निम्ति हो, यसबाट विद्यार्थीले आत्तिनु र डराउनु पर्दैन’, उपाध्यक्ष रोकायले भनिन्।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले शिक्षालाई प्रविधिसँग जोड्नका लागि सिसी क्यामेरा एउटा महत्वपूर्ण माध्यम रहेको बताए। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कुल २० लाख रूपैयाँको लागतमा सिसी क्यामेरा जडान गरेको उनले जनाए। ‘कक्षा ८ को परीक्षा केन्द्रका लागि १० लाख र एसइई परीक्षा केन्द्रका लागि १० लाख रूपैयाँको लागतमा क्यामेरा जडान गरेका हौं’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने। सिसी क्यामेराले परीक्षालाई मर्यादित र विश्वसनीय बनाउनुका साथै विद्यार्थीको सुरक्षा र विद्यालयको नियमित पठनपाठनमा पनि सहयोग पुग्ने उनको विश्वास छ।

नेपाल शिक्षक महासंघ बैजनाथका अध्यक्ष कुलादेव भारतीले सिसी क्यामेरा जडान उपयुक्त नै रहेको बताए। ‘सिसी क्यामेरा जडान उपयुक्त नै छ, तर यो नै सबै चिज भने होइन’, उनले भने, ‘परीक्षालाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउने उपाय अरू पनि छन्।’ शिक्षक महासंघले सिसी क्यामेरा जडानलाई सकारात्मक रूपमा लिएको अध्यक्ष भारतीले सुनाए।
 

प्रकाशित: ५ चैत्र २०८१ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App