५ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:३० पूर्वाह्न
शिक्षा

भोलि चार सय क्याम्पसमा स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पस/कलेजहरूमा मंगलबार (चैत ५ गते) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनुअगावै देशभरिका ९० क्याम्पसमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ। 

तीबाहेक ४८ आंगिक र साढे तीन सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा नेतृत्वका लागि तोकिएकै दिनमा निर्वाचन हुनेछ। तर त्रिवि केन्द्रीय क्याम्पस र १५ आंगिक क्याम्पस गरी १६ वटामा भने तोकिएकै मितिमा निर्वाचन नहुने भएको छ।

क्याम्पसहरूमा निर्वाचन पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन विद्यार्थीहरू नै सक्रिय भएका छन्। काठमाडौंको ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा आइतबार संवाददाता पुग्दा विद्यार्थीहरू निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन छलफलमा सहभागी भइरहेका भेटिए। 

नेकपा एमालेनिकट अनेरास्ववियुका तर्फबाट सोही क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार ईश्वरकुमार थापा निर्वाचन व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराउन सहकर्मी साथीहरूसँग छलफल चलाइरहेका थिए। सोही कलेजको अनेरास्ववियु (क्रान्तिकारी) बाट स्ववियु सभापतिका उम्मेदवारलाई जिताउन विद्यार्थी टपेन्द्र ओली पनि तयारी गरिरहेको भेटिए। कलेजको शान्त वातावरणमा सबै संगठनका उम्मेदवार आचारसंहिताको पालना गरी निर्वाचन सम्पन्न गराउन तयारीमा व्यस्त देखिए।

चैत्र ५ गते ४८ आंगिक कलेज र साढे तीन सय सम्बन्धन प्राप्त कलेजमा निर्वाचन हुने त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले बताए। उनले त्रिवि केन्द्रीय क्याम्पससहित १६ आंगिक कलेजमा मनोनयन तथा भर्नासम्बन्धी विवादका कारण निर्वाचन नहुने अवस्था उत्पन्न भएको बताए।

‘हामी झगडा नगरी व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन एकजुट बनेका छौँ,’ सभापति उम्मेदवार थापाले नागरिकसँग भने, ‘सबै संगठनका साथी मिलेर अगाडि बढिरहेका छौँ। सबैले आचारसंहिताको पालना गरेका छौँ। सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन उत्साहित छौं।’ महेन्द्ररत्नमा आठ विद्यार्थी संगठन चुनावी मैदानमा उत्रिएका छन्।

यसैगरी त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा चार विद्यार्थी संगठनले केन्द्रीय क्याम्पस निर्वाचन समिति मनोनयन दर्तामा पूर्वाग्रही भएर लागेको भन्दै संयोजक प्राध्यापक डा. कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका छन्। त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा उम्मेदवारी दर्ता सकिएपछि नामावली प्रकाशित भएलगत्तै मंगलबार राति नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ओरास्ववियु (क्रान्तिकारी) गरी चार विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। 

केन्द्रीय क्याम्पस निर्वाचन समितिले मनोनयन दर्ताको सवालमा असंवैधानिक तरिका अपनाएको, पूर्वाग्राही बनेको र निष्पक्षता गुमाएको आरोप लगाउँदै त्यस्तो कार्यशैली बन्द गर्नुपर्ने भन्दै संयोजक न्यौपानेको राजीनामा मागेको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले बताए। 

‘निष्पक्ष, पारदर्शी र स्वच्छ निर्वाचन हामी चाहन्छौँ। यसको सुनिश्चितताका लागि विश्वविद्यालय प्रशासनले अविलम्ब पहल गरोस्,’ सभापति ओझाले नागरिकसँग भने, ‘निर्वाचन प्रक्रियामा भएको हस्तक्षेप तत्काल बन्द होओस्। साथै नक्कली मनोनयनपत्रमाथि छानबिन गरियोस्। निर्वाचन समिति संयोजकद्वारा आफ्नो पूर्वाग्रही भूमिका तत्काल त्यागी राजीनामा दिइयोस्।’ 

त्रिचन्द्रमा १६ वर्षपछि निर्वाचन, नेविसंघका तीन बागी उम्मेदवार 
नेपालकै पुरानो त्रिचन्द्र कलेजमा १६ वर्षपछि स्ववियु निर्वाचन हुने भएको छ। केही विवादबिच पनि निर्वाचन आयोगले निर्वाचन गराउने ठोस निर्णय लिएको हो। विद्यार्थी संगठनीहरूबिच विवाद उत्पन्न हुँदा २०६५ सालयता उक्त कलेजमा निर्वाचन हुन सकेको थिएन। ‘यसपटक पनि केही विवाद आएछन्। तर हामी निर्वाचन होस् भन्ने चाहना राख्ने विद्यार्थी हौं,’ स्ववियु सभापतिका लागि नेविसंघका बागी उम्मेदवार सागर न्यौपानेले नागरिकसँग भने, ‘मैले पहिलो नम्बरमा मनोनयन गराएको थिएँ। तर निर्वाचन समितिले गोला प्रथा गर्दा ६ नम्बरमा परें।

तर पनि विद्यार्थीको हितमा चुनाव हुने भएकाले मैले त्यसलाई स्विकारें।’ उनले थपे, ‘त्रिचन्द्रमा स्ववियु सभापति नौजनामा नेविसंघबाट तीन बागी छौं। तर गोला प्रथामा हामी सातजना सहभागि भयौं। दुई जना हुनुभएन। उहाँहरूले निर्वाचन समितिमा तालाबन्दी गर्नुभएको छ। तालाबन्दी गर्ने नेविसंघकै बागी उम्मेदवार हुनुहुन्छ। तर हामी विद्यार्थी निर्वाचन गराउन उत्साहित भएर लागेका छौं।’ त्रिचन्द्रमा स्ववियु सभापतिका लागि नौ जना उम्मेदवारका नेविसंघका श्रीधर श्रेष्ठ, विवेक बानियाँ र सागर न्यौपाने बागी उम्मेदवार हुन्। त्रिचन्द्रमा २१ संगठन चुनावी मैदानमा उत्रिएका छन्।

९० कलेजमा सर्वसम्मत र १६ वटामा निर्वाचन अवरुद्ध 
स्ववियुका लागि ९० कलेजमा सभापति सर्वसम्मत चुनिएको अनेरास्ववीयुका अध्यक्ष समिक बडालले बताए। तीमध्ये ४० क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट सभापतिमा निर्विरोध भएका छन्। माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) बाट २२ क्याम्पसमा स्ववियु सभापति निर्विरोध भएका छन्। नेपाली कांग्रेसनिकट नेविसंघका २८ जना निर्विरोध भएका छन्।

यसैगरी काठमाडौं उपत्यकाका त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव कलेज, थापाथली कलेज, आयुर्वेद कलेज, सरस्वती बहुमुखी कलेज, विश्वभाषा क्याम्पस र पब्लिक युथ कलेज छन्। उपत्यकाबाहिर जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, डिग्री क्याम्पस विराटनगर, महेन्द्र मोरङ कलेज, सिद्धबाबा कलेज, सुर्खेत बहुमुखी कलेज र बुटवल बहुमुखी कलेज छन्।

गत मंगलबार उम्मेदवारी दर्ता गर्ने समयमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका कतिपय कलेजमा बुधबार निर्वाचन प्रक्रिया सुरु भएको थियो भने कतिपयमा हुने तयारीमा रहेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख एवं स्ववियु निर्वाचन २०८१ केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए।

अधिकारीले निर्वाचन प्रक्रिया अवरुद्ध भएका कलेजहरूमा सर्वपक्षीय समझदारी कायम गरेर पुनः तालिकीकरण गर्ने प्रयास जारी रहेको बताए। ‘निर्वाचन प्रक्रिया अवरुद्ध भएका कलेजहरूमा निर्वाचन प्रक्रिया अगाडि बढाउने सर्वपक्षीय छलफल कायम छ,’ अधिकारीले नागरिकसँग भने, ‘पछिल्लो समय निर्वाचनमा हार्ने सम्भावना भएका र भर्ना नभएका विद्यार्थीलाई पनि मताधिकार दिनुपर्ने गलत मनशाय भएका विद्यार्थीहरूले निर्वाचन अवरुद्ध गरिरहेका छन्।’ 

उनले हालसम्म १६ आंगिक कलेजमा निर्वाचन अवरुद्ध भएको र पुनः प्रक्रिया सुरु गराउने समझदारी भइरहेको बताए। ‘४६ आंगिक र सम्बन्धन प्राप्त गरी करिब साढे तीन सय कलेजमा प्रक्रिया सुरु भएको छ। ९० वटा कलेजमा सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ,’ उनले भने।

सामाजिक सञ्जालबाट प्रचार
यस पटकको निर्वाचनमा स्ववियुका उम्मेदवारहरूले सामाजिक सञ्जालको भरपुर उपयोग गरेको बताएका छन्। ‘मतदातासम्म पुग्ने भरपर्दो माध्यम फेसबुक, एक्स, टिकटकलाई बनाइयो,’ महेन्द्ररत्न कलेजका स्ववियु उम्मेदवार ईश्वर थापाले भने, ‘कम खर्चमा चुनाव जित्ने उत्कृष्ट माध्यम सामाजिक सञ्जाल बनेको छ। यसले गर्दा निर्वाचित टिमले निकै उत्साहित भएर विद्यार्थीकै हितमा काम गर्ने आकलन गर्न सकिन्छ।’

प्रकाशित: ४ चैत्र २०८१ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App