त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबिचको विवाद तीव्र बन्दै गएको छ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनबिच बढ्दो सक्रियताले कतिपय क्याम्पसको निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको छ भने अधिकांशमा चुनावी प्रक्रिया अघि बढेको छ। विद्यार्थी संगठनबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण त्रिविका आंगिक क्याम्पसमा देखिएको विवादले कतिपय ठाउँमा अवस्था अप्रिय बन्दै गएको छ।
स्ववियु निर्वाचनमा राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन प्रतिस्पर्धामा रहेका छन्। विद्यार्थी संगठन दलका भ्रातृ संगठन भएकाले अहिलेको प्रभाव त्यसैको परिणाम रहेको शिक्षाविद् विद्यानाथ कोइरालाको विश्लेषण छ। ‘म स्ववियु भन्दिनँ। मेरो भनाइमा स्ववियुको निर्वाचन भइरहेको छैन। युनियनमा आबद्ध विद्यार्थी दलका नेताहरूको चाकडी गर्ने कार्यकर्ता हुन्’, शिक्षाविद् कोइरालाले नागरिकसँग भने, ‘विद्यार्थीको हितमा हुने निर्वाचनमा आगजनी हुँदै हुँदैन। क्याम्पसमा भइरहेको निर्वाचन त दलको इशारामा भइरहेको आफ्नो गण बलियो पार्ने आधार हो’, उनले थपे, ‘नेताले आफ्नो स्वार्थपूर्ति गर्न मात्र विद्यार्थीालाई निर्वाचनमा उतारेका हुन्, विद्यार्थीको हितमा होइन। अहिल्यै दलका नेताहरू आफू सच्चिएर विद्यार्थीलाई आपसमा मिलेर निर्वाचनमा जाने संस्कार दिनुपर्छ।’
मंगलबार उम्मेदवारी दर्ता गर्ने समयमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका कतिपय क्याम्पसमा बुधबार निर्वाचन प्रक्रिया सुरु भएको छ भने कतिपयमा हुने तयारीमा रहेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख एवं स्ववियु निर्वाचन ०८१ केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य–सचिव प्राध्यापक पशुपति अधिकारीले बताए। उनले केही क्याम्पसमा विद्यार्थीले आगजनी गरी अराजकता दर्साएकोमा दुःख व्यक्त गरे।
‘विद्यार्थीको काम पढ्ने हो। क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न सहयोग गर्ने हो’, अधिकारीले भने, ‘तर आफू अध्ययन गर्ने क्याम्पसमा आगजनी गरी क्षति पुर्याउने संस्कार विद्यार्थीको होइन। मोरङ क्याम्पसमा आगजनी गर्नु र अन्य क्याम्पसमा तोडफोड गर्नु यो गलत संस्कार हो’, उनले भने, ‘विद्यार्थी हितका लागि स्ववियु हो, क्याम्पसमा क्षति पुर्याउनका लागि होइन नि।’
अधिकारीले निर्वाचन प्रक्रिया अवरुद्ध भएका क्याम्पसहरूमा सर्वपक्षीय समझदारी कायम गरेर पुनर्तालिकीकरण गर्ने प्रयास जारी रहेको बताए। ‘काठमाडौंको पद्मकन्यामा निर्वाचन प्रक्रिया सुरु भइसकेको छ भने अन्य क्याम्पसमा पनि समझदारी बनाउने प्रयास जारी छ’, अधिकारीले नागरिकसँग भने, ‘पछिलो समय निर्वाचनमा हार्ने सम्भावना भएका र भर्ना नभएका विद्यार्थीलाई पनि मताधिकार दिनुपर्ने गलत मनसाय भएका विद्यार्थीले निर्वाचन अवरुद्ध गरिरहेका छन्।’
उनका अनुसार बुधबारसम्म ११ आंगिक क्याम्पसमा निर्वाचन अवरुद्ध भएको र पुनः प्रक्रिया सुरु गराउने समझदारी भइरहेको छ भने ५१ आंगिक र सम्बन्धन प्राप्त गरी साढे तीन सय बढी क्याम्पसमा प्रक्रिया सुरु भएको छ। दाङको महेन्द्र बहुमुखी क्याम्पस र धनकुटाको धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र ४० बढी सम्बन्धन प्राप्त क्याम्पसमा र्निविरोध स्ववियु चयन भएको छ।’
त्रिविका स्ववियु सभापति श्यामराज ओझाले त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिले निर्वाचन सम्बन्धित आफ्नो जिम्मेवारी पूरा नगरेकाले समितिमा तालाबन्दी गरेको बताए। त्रिवि केन्द्रीय क्याम्पसका लागि विष्णु बडौलको आधिकारिक नेविसंघले उम्मेदवारी दर्ता गरी ११ वटा प्रत्यक्ष र एक समानुपातिक गरी १२ वटा मनोमयन पत्र लिएको जानकारी दिँंदै ओझाले भने, ‘तर निर्वाचन समितिले नामावली प्रकाशन गर्दा आधिकारिक संगठन विष्णु बडौल टोलीको नाम प्रकाशन गरेन। नेविसंघको नाममा अर्काको नाम प्रकाशन गर्यो।’
उनका अनुसार निर्वाचन समितिले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका ०८१ अनुसार आफ्ना भूमिका निर्वाह गरेन। यसकारण हामीले केन्द्रीय क्याम्पस निर्वाचन समितिमा तालाबन्दी गर्यौं।
स्ववियु निर्वाचन निर्देशिका ०८१ ले पुनर्तालिकिरण गर्ने व्यवस्था गरेको छ। निर्वाचन प्रक्रिया अवरुद्ध भएका क्याम्पसहरूले १५ दिनभित्र पनि निर्वाचन प्रक्रिया सुरु नगरे ती क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैन। विश्वविद्यालय तथा क्याम्पसमा स्ववियु निर्वाचन हुनु भनेको निर्वाचित स्ववियुले विश्वविद्यालय तथा क्याम्पसमा उच्च शिक्षा हासिल गर्न भर्ना भएका विद्यार्थीको शैक्षिक तथा प्राज्ञिक हकहितका लागि काम गर्ने हो। यसका लागि क्याम्पस तथा विश्वविद्यालय र विद्यार्थीबिच उत्पन्न हुने समस्या समाधान गर्न सहजकर्ताको भूमिका खेल्ने हो।
काठमाडौंको शंकरदेव, पब्लिक युथ क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, विश्व भाषा क्याम्पस, थपाथली क्याम्पस, आयुर्वेद क्याम्पस, पद्मकन्या क्याम्पस, जनकपुरको रारा बहुमुखी क्याम्पस, सिराहाको रामस्वरूप रामसागर मौरवैता बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरवा क्याम्पस भैरवालगायतका ११ आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ।
दलभित्रको गुट विवादका कारण विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संगठनले स्ववियु निर्वाचन समितिको कार्यालयमै आगजनी गरेको छ। नेविसंघले देउवा पक्षधर प्रज्ज्वल विष्टलाई आधिकारिक संगठनको मान्यता दिएपछि अर्को पक्षका समुहले आगजनी गरेको छ।
‘हाल जुन विद्यार्थी संगठनले पहिले स्ववियु निर्वाचन समितिको कार्यालयमा गई दर्ता गर्छ, त्यही संगठनको प्यानल मतपत्र क्रम संख्यामा पहिलो नम्बरमा रहने व्यवस्था छ’, नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले नागरिकसँग भने, ‘तर यस अभ्यासले विद्यार्थी संगठनहरूबिच विवाद सिर्जना गर्ने गरेको देखिन्छ। तसर्थ संगठन दललाई व्यवस्थित र विवादरहित बनाउन दीर्घकालीन पद्धति त्रिविले निर्माण गर्नुपर्छ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार यसपटकको स्ववियु निर्वाचनमा त्रिवि प्रशासनको कमजोर समन्वय र गृह प्रशासनको कमजोर सुरक्षाले क्याम्पसहरूमा स्ववियु निर्वाचन अवरुद्ध हुन गएको हो। ‘कमजोर सुरक्षाका कारण क्याम्पसहरूमा आगजनी जस्ता अराजक कार्य विद्यार्थीले गरिरहेका छन्’, अध्यक्ष बडालले भने, ‘निर्वाचन निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गराउन त्रिवि प्रशासन र गृह प्रशासनले भूमिका खेल्नुपर्छ।’
प्रकाशित: २९ फाल्गुन २०८१ ०८:४६ बिहीबार