११ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कोरम नपुगेर शिक्षा समिति बैठक स्थगित

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। विद्यालय शिक्षा विधेयकबारे दफावार छलफलका लागि बोलाइएको बैठक आवश्यक उपस्थित संख्या नपुग भएपछि सोमबारसम्मका लागि स्थगित भएको छ।

आइतबार २ बजे बोलाइएको बैठकमा सभापतिसहित ११ जना सदस्य थिए। समिति २४ सदस्यीय भएकाले १३ सदस्य उपस्थित नभएसम्म औपचारिक रूपमा बैठक सञ्चालन गर्न नपाइने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ मा समितिको गणपूरक संख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुनेछ। गणपूरक संख्या नपुगेकाले समिति सभापतिले सोमबारसम्मका लागि बैठक स्थगित गरेका छन्। त्यसपछि निरन्तर बस्ने बैठकमा पनि गणपूरक संख्या नपुगेमा समितिका सभापतिले एकतिहाइ सदस्यको उपस्थितिमा बैठक बसाल्न सक्ने व्यवस्था नियमावलीमा छ, जसबाट सोमबार बस्ने बैठकमा आठजनाले कोरम पुग्नेछ।

सभापति अमरबहादुर थापाले गणपूरक संख्या नपुगेकाले सोमबार दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउँदा महिला सांसदहरूले भने पुरुष सांसदहरू अनुपस्थित हुँदा बैठक स्थगित भएको गुनासो गरेका थिए।

बैठकमा समितिमा रहेका धेरैजसो महिला सांसद उपस्थित थिए। उपस्थित सांसदहरू ईश्वरी घर्ती, दापी शर्मा, रेखा शर्मा, विनिताकुमारी सिंह, सरिता भुसाल, सुमन श्रेष्ठ, संगीता मण्डल, ज्ञान बस्नेत सुवेदी, महेन्द्र राय यादव उपस्थित थिए। महेन्द्र राय यादव पनि समितिमा अनुहार देखाएर बाहिर निस्केका थिए।

अनुपस्थित सांसदहरूमा तोसिमा कार्की, बिना जैसवाल, उर्मिला थेबे (बिरामी) मनोरमा शेरचन (बिरामी), लीलादेवी वोखिम लिम्बू, कालुराम राई, चन्द्रकान्त भण्डारी, छविलाल विश्वकर्मा, डिगबहादुर लिम्बु, देवेन्द्र पौडेल, धनराज गुरुङ, प्रभु हजरा, रामप्रकाश चौधरी रहेको समितिले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८१ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App