२६ मंसिर २०८१ बुधबार
image/svg+xml
शिक्षा

ताप्लेजुङको सरस्वती मावि : कर्णालीदेखि मधेसका विद्यार्थी अध्ययन गर्छन्

ठ्याक्कै १०:०० बज्दा विद्यालयको मूल प्रवेशद्वार बन्द भयो। एकै पोशाकमा सजिएका विद्यार्थी लाइनमा बसे। हरेक विद्यालयहरुमा हुने प्रार्थनापत्रमा फरक थियो। ब्रेन्जिमको समय पनि छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, जहाँ कर्णाली र मधेस प्रदेशका विद्यार्थीहरूले अध्ययन गर्दैछन्, शैक्षिक गुणस्तर र सुविधामा महत्वपूर्ण सुधार देखिएको छ।  

‘मेरी आमाले मिठो खाना दिनुहुन्छ, मेरो बुबाले काखमा लिई माया दिनुहुन्छ’ ब्रेन्जिम गीतमा बोलिएका शब्दले बालबच्चा र परिवारको सामिप्यता मात्र दर्शाउँदैन, विद्यार्र्थीको दैनिक सिकाईमा समेत प्रेरित गर्ने रहेछ’ हिमालयन ट्रस्ट युकेका ट्रस्टी टिम्टीले भने । ब्रेन्जिमको धुनसँगै कक्षाकोठामा बस्दा विद्यार्थीमा पढाईमा उत्साह र शिक्षकमा सिकाईप्रतिको भावना प्रेरित हुने उनको अनुभव छ।  

टिम्टी बेलायतको सरकारी विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक हुन्। हिमालयन ट्रष्ट युकेका उपाध्यक्ष जोन वाल्टन सहायक प्रअबाट सेवानिवृत्त भएका हुन्। प्रार्थना समयमा राष्ट्रिय गीत पछि हरेक विद्यार्थी पालैपालो बोल्न थाल्छन् । विद्यार्थीको बोल्ने पालो दिनैपच्छिे परिवर्तन हुन्छ । बिद्यालय, पढाई, सिकाई, शिक्षक, विद्यार्थीर अभिभावकको भूमिकाबारे प्रत्येक दिन विद्यार्थीले आफ्ना अनुभव राख्छन् । रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्रप्रसाद पन्त भन्छन्, ‘यसले विद्यार्थीमा बोल्ने कलाको विकास मात्र नभई सरोकारवालाको भूमिका समेत प्रष्ट्याउने रहेछ।’  

रिड नेपाल विगत १७ वर्षदेखि ताप्लेजुङका हिमाली क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा पूर्वाधार विकासमा क्रियाशील रहेको निकाय हो । हिमालयन् ट्रष्ट युकेले रिड नेपाललाई आर्थिक सहयोग गरेको छ । सो विद्यालयको अनुगमनका लागि विद्यालयमा हरेक दिन कम्तिमा एकजना अभिभावक आउनैपर्ने नियम छ । विद्यालयका प्रधानाध्यापक चन्द्रमणि सुब्बा केदेम आफूले प्रअको जिम्मेवारी सम्हालेयता विद्यालयको सुपरीवेक्षणमा प्रत्येक दिन कम्तिमा एकजना अभिभावकलाई निम्त्याउने गरेको बताए ।

अभिभावकले विद्यालय आएर कक्षाकोठा मात्र हेर्दैनन्। विद्यालयको पढाई, शिक्षक र विद्यार्थीको पढाइप्रतिको लगाव समेत हेरेर सुझाव समेत राख्ने गरेका छन्। अभिभावकबाट प्राप्त सुझाव ग्रहणका लागि विद्यालयले सुझाव पुस्तिका राखेको छ। उक्त पुस्तिकामा लेखिएका विषय विद्यालय व्यवस्थापन समितिको मासिक रुपमा हुने नियमित बैठकमा छलफल हुन्छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक लिम्बूका अनुसार अभिभावकले दिएका सुझावका आधारमा शैक्षिक सुधारका लागि योजना बनाउने र कार्यान्वयन गर्ने गरिन्छ । प्रार्थना समय सकिएपछि विद्यार्थीको पहिलो काम कोठा सफाइ गर्नु हुने छ । आफू पढ्ने कक्षा विद्यार्थीले सफा र सुन्दर बनाएका छन् ।  

सो विद्यालयमा अध्ययनरत विद्यार्थी सुमन विक आफ्नो कक्षाकोठा आफैं सफा गर्ने र साबुनपानीले हातमुख धोएर कक्षा छिर्ने बानी नै भइसकेको बताउँछन्। यो अवधिमा शिक्षकले कक्षाकोठामा आवश्यक पर्ने शैक्षिक सामग्रीको तयार गरिसक्छन् । अनि सुरु हुन्छ दैनिकी । शिक्षक निरु केदेमले भनिन्, ‘विद्यालयको नियम बोर्डिङ स्कुल भन्दा कडा छ।’

शिक्षक मित्र दाहालका अनुसार विद्यार्थीले कसरी सिकाइमा रुची देखाउँछन्,त्यसरी सिकाउने र विद्यालय समयलाई राम्रो ख्याल गर्ने बानी विद्यालयमा नियम नै भएको छ। २६० विद्यार्थी नियमित अध्ययन गर्ने सो विद्यालयमा कक्षाकोठा सफा राख्न, अनुशासनमा रहन र समयको कदर गर्न कडा नियमहरू राखिएका छन्। विद्यालयको शैक्षिक वातावरणमा आएको सुधारले नतिजा पनि सुधार्न मद्दत गरेको छ। उदाहरणको रूपमा, लिङखिम गाउँका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको प्रअ सुब्बाले बताए।

कर्णाली प्रदेशको दैलेखका हेमराज देवकोटादेखि मधेस प्रदेशको सप्तरीका धमेन्द्रकुमार रामसम्मले आफ्ना बच्चालाई सरस्वती माविमै पढाउन थालेका छन् । शिक्षक मित्र दाहाल र रामचन्द्र लिम्बू, शिक्षिका शुशिला मेन्याङ्वो र निरु केदेमले बिद्यालयमै पढ्छन्। वाल विकास शिक्षक र कार्यालय सहयोगी समेत त्यहाँ १३ जना शिक्षक कर्मचारी छन्। प्रस्तावित माविको पींडा खेपिरहेको उक्त विद्यालयमा मावि दरबन्दी छैन। मावि अनुदानका लागि सरकारले दिने रकमबाट शिक्षकको व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ।  

रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बू सरस्वती माविको सुधारिएको शैक्षिक वातावरणप्रति गर्व लागेको बताउँछिन्। पन्त र उनी आवद्ध संस्था रिड नेपालको मेहनेतले उक्त विद्यालय शैक्षिक सुधारमा परिवर्तनको मार्गप्रसस्त गरेको बेलायती नागरिक टिम्टी बताए । विद्यालयको सुधारमा अभिभावक र समुदायको भूमिका महत्वपूर्ण रहेको रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्रप्रसाद पन्तले बताए। सरस्वती माविका सुधारिएका शैक्षिक वातावरण र शिक्षण प्रक्रियाले यसलाई एउटा आदर्श विद्यालय बनाएको छ, जसको सकारात्मक प्रभाव विद्यार्थीहरूको सिकाइमा देखा परिरहेको छ।

प्रकाशित: १२ मंसिर २०८१ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App