२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिविमा ‘डेटा साइन्स’ र ‘एक्चुअरियल साइन्स’ काे पढाइ हुने

विश्व बजारको मागअनुसार त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। यसै सन्दर्भमा, त्रिविले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा डेटा साइन्स र एक्चुअरियल साइन्सको पठनपाठन सुरु गर्ने घोषणा गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान गणित स्कुलले यी दुई नयाँ पाठ्यक्रमको अध्यापन सुरु गरेको हो। कार्यक्रम संयोजक उप-प्राध्यापक केशवराज फुलाराका अनुसार, विश्वमा आपूर्ति भन्दा माग धेरै भएका र आकर्षक कमाई हुने विषयहरू भएका कारणले यी विषयहरू सुरु गरिएको हो।

उनका अनुसार भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न वातावरण नीति बनाउने विशेषज्ञ उत्पादन गर्न एक्चुअरियल साइन्सको मुख्य लक्ष्य हो। त्रिविले पहिलो पटक डेटा साइन्सको पठनपाठन स्नातक तहमा सुरु गर्ने तयारी गरेको छ, जसले तथ्यांक विश्लेषक विज्ञ नेपालमै उत्पादन गर्नेछ।

यी विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले कक्षा १२ वा सो सरहको परीक्षा पास गरेको हुनु पर्छ। एक्चुअरियल साइन्स अध्ययन गर्न विद्यार्थीले गणित वा वाणिज्य गणित विषय अनिवार्य अध्ययन गरेको हुनुपर्नेछ। कम्तीमा सी ग्रेड अर्थात् १.८ जिपिए साथ उत्तीर्ण भएको हुनुपर्दछ।  

राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो साता कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। यही विद्यार्थीलाई लक्षित गरेर त्रिवि गणित स्कुलले भर्नाका लागि आवेदन माग गरेको छ।

फुलाराका अनुसार, नेपालमा बीमा कम्पनीहरूलाई समयमा प्रतिवेदन तयार गर्न र एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्न एक्चुअरीको अभाव खड्किएको छ। त्रिविले उत्पादन गरेको ८२ एक्चुअरीहरू सबै रोजगारमा छन् र भारत, अमेरिका, बेलायत लगायतका देशमा काम गरिरहेका छन्।

चार वर्षे डाटा साइन्स र एक्चुअरियल साइन्सको कोर्षका लागि त्रिविले ५ लाख ३० हजार रुपैयाँ शुल्क र ४०/४० कोटा तोकिएको छ। प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटको आधारमा भर्ना लिइनेछ।

डाटा साइन्स

डाटा साइन्स कोर्षमा कक्षा १२ पास जुनसुकै धारकाले भर्ना हुन पाउनेछन्। सरकारी तथा निजी कम्पनीहरू र सेयर बजारमा डाटा विश्लेषण गरी प्रवृत्ति पत्ता लगाउन र विदेशी मुद्रा आर्जन गर्न डाटा साइन्स कोर्षले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

भर्ना गर्दा ४० जनाको सिटमा ८० प्रतिशत अर्थात् ३२ जना खुला र २० प्रतिशत अर्थात् ८ जना समावेशी कोटाका आधारमा लिइनेछ।

छात्रवृत्ति

डाटा साइन्स कोर्ष पुरा गर्न ८ सेमेष्टरको कुल खर्च पाँच लाख तीस हजार ६ सय रुपैयाँ तोकिएको छ।

केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेष्टरको सुरुमा किस्ताबन्दीमा तिर्नुपर्ने व्यवस्था छ। उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई जेहेन्दार छात्रवृत्ति दिइने र कुल भर्ना विद्यार्थीको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिने गणित स्कुलले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८१ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App